काठमाडौँ, मङ्सिर २३ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णय व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ।
आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुभएको हो। उहाँले संसदको भूमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामको कारणसहति उजागर गर्न आवश्यक रहेको बताउनुभयो।
निर्णय गरिएका विषय मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्नु आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँले संसद चलाउने क्रममा भएका गल्ती सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्ती नदोहार्याउने प्रतिबद्धता गर्नु आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुनु आवश्यक रहेको बताउनुभयो।
उहाँले सांसदसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसाबले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानुन निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो। अधिकांश सांसद कानुन निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उहाँले सिद्धान्ततः कानुन निर्माणमै जोड दिनु आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो।
संसद सेवा भित्रका कर्मचारीले संसद बैठक चलाउने, समितिका बैठक सञ्चालन गर्ने र आर्थिक प्रशासनिक काम गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भूमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ।