दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर २३ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताउनुभएको छ । दाङको लमहीमा आइतबार नेकपा (एमाले) क्षेत्र १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले सो कुरा बताउनुभएको हो ।
संविधान संशोधनको काम उचित समयमा सुरु गरिने उहाँको भनाइ छ । ‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्र होइन, राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठुला दलको बिचमा समीकरण बनेको हो’ उहाँले भन्नुभयो, “राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन । डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।”
महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अहिले ठुला दुई दलको बिचमा भएको समीकरण मिलेर चुनाव लड्ने नभई एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनुभयो ।
हालै सम्पन्न उपनिर्वाचनमा रुकुमपूर्वमा भएको जुन प्रकारको तालमेल सही नभएको भनाइ महासचिव पोख्रेलको भनाइ छ । “अहिले हामी कांग्रेससँग मिलेका छौँ । तर, चुनावको बेलामा हामी एक्लाएक्लै भिड्ने हो । अब पूर्वी रुकुममा साथीहरूले के गरे, एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो । त्यसो गर्नु हुनुन्थ्यो । ठाउँबिशेषमा तालमेल गर्ने कुरा स्थानीय विशेषताको आधारमा हुन पनि सक्ला । तर, आफ्नो–आफ्नो चुनाव चिन्हमा लड्नु पर्दछ” “एमाले–कांग्रेसजस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडा गर्ने कुरा चाहिँ उचित कुरा होइन । त्यो गलत कुरा हो । वास्तवमा त्यहाँका साथीहरूले गल्ती गरेका हुन् । त्यो गल्तीलाई पार्टीले आलोचना गरेको छ । भविष्यमा यस प्रकारको काम हुने छैन ।”
उपनिर्वाचनको नतिजाले एमालेलाई कमजोर नभई थप सुदृढ बनाएको दाबी उहाँको छ । यस्तै, उहाँले पार्टी नेतृत्वका विरुद्धमा भइरहेका कुप्रचारका विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरेका गर्नुभयो । “भ्रमपूर्ण सूचनालाई ‘होकि’ भनेर बस्नेकि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने ?” उहाँले भन्नुभयो, “जे जति कुराहरू प्रचार गरिएका छन्, ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागको पछि दौडने कि पहिला कान छाम्ने ? पहिला त कान छाम्नुपर्ने हो नि ।”
गिरिबन्धु टी स्ट्रेट, कम्बोडियामा लगानीका विषयहरूमा भ्रम छर्नेहरू अहिले समस्यामा परेको भन्दै उहाँले भ्रमको खेती गर्नेहरूलाई कानुनले दण्डित गर्ने बताउनुभयो । एमालेलाई कमजोर बनाउँदा आफूहरू स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरूले भ्रमको खेती सुरु गरेको टिप्पणी उहाँको छ । “षड्यन्त्रबाट आत्तिने होइन, सामना गर्ने हो । यो पार्टी कमजोर हुनेवाला छैन । विकास र समृद्धिको नेतृत्व गर्ने यही पार्टी हो” उहाँले भन्नुभयो, “पार्टीबाट अलग भएका नेताहरूलाई के लाग्दो हो हामी जहाँ जान्छौँ, त्यहाँ ठुलो पार्टी बनाउन सक्छौँ । तर, के भयो अवस्था ? सबैलाई थाहै छ नि ।”