काठमाडौँ, मङ्सिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितको लागि सुदूरपश्चिम रोयल्सलाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।
चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । सुदूरपश्चिम लगातार चौथो जित निकाल्ने तयारीमा छ । चितवन भने सुदूरलाई रोक्दै तेस्रो जित निकाल्ने दाउमा छ ।