तिलाचन पाण्डे
तम्घास, मङ्सिर २३ गते । गुल्मीमा बाँझो जग्गालाई भरपुर सदुपयोग गर्दै व्यावसायिक रुपमै चिया खेतीको सुरुवात गरिएको छ । वषौँदेखिको बाँझो जग्गालाई यसै खेर जान दिनुभन्दा सदुपयोग गर्दै चिया खेतीको सुरुवात गरिएको स्थानीयहरुले जनाएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङका ३४ घरपरिवारले तमु उद्यमशील महिला समूहमार्फत ४० रोपनी बाँझो जग्गामा १२ हजार चियाका बिरुवा लगाइएको छ । गत साउनमा इलामबाट १२ हजार बिरुवा ल्याएर परीक्षणको रुपमा रोपीएका बिरुवा राम्रो हुँदै गएको कृषक दलबहादुर गुरुङले बताउनुभयो । चियाका लागि यहाँको हावापानी उपयुुक्त हुने र बाँझो जग्गा सदुपयोग गरी स्थानीयलाई आय आर्जनमा जोड्ने उद्देश्यले चिया खेतीको सुरुवात गरिएको उहाँको भनाइ छ ।
युवाहरुलाई विदेश जानभन्दा नेपालमै स्वरोजगार बनाउन सकिने भएकाले यसरी सामूहिक रुपमा चिया खेतीको सुरुवात गर्नमा आफूहरुले सहयोग गर्दै आएको स्थानीय युवा राजु गुरुङले बताउनुभयो । यसका साथै किवी खेती पनि यस क्षेत्रमा भएकाले राम्रो आय आर्जन गर्न सकिने सम्भावना भएको उहाँले दाबी गर्नुभयो ।
चियाका बिरुवा राम्रो हुँदै जान थालेपछि विगतको मेहनत र दुःखले सार्थकता पाएको कृषक इन्द्रा गुरुङले बताउनुभयो । गत साउनमा लगाएको चियाका बिरुवा सबै राम्रोसँग जागेर नयाँ पालुवासमेत निकालेकाले चिया खेती सफल हुनेमा आफूहरु ढुक्क भएको उहाँहरुको भनाइ छ । अझै बाँझो जग्गालाई सदुपयोग गर्दै आगामी साउनमा थप बिरुवाहरु लगाउने गरी चियाका बिरुवा रोपणका लागि झाँडी फाड्ने कामहरु भएको स्थानीयहरुले बताएका छन् । १२ हजार चियाका बिरुवा अनुदानमा कृषि ज्ञानकेन्द्रले उपलब्ध गराएको हो ।
कालीगण्डकी क्षेत्रमा चियाको राम्रो सम्भावना रहेको र बाँदरलगायत वन्यजन्तुले नोक्सानी नगर्ने हुँदा आगामी दिनमा विस्तार गर्ने सोच रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
समुन्द्री सतहबाट ५०० देखि एक हजार ६०० मिटर उचाइसम्म चिया खेती हुने र सामान्यता तीन वर्षपछि चियाको बोटले उत्पादन दिने कृषि ज्ञान केन्द्र गुल्मीका बालीविकास अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।