दुनियामा सबैभन्दा अपरिभाषित कुनै विषय छ भने त्यो ‘सफलता’ हो । कसले मलाई बताइदिन र बुझाइदिन सक्छ सफलता भनेको के हो ? आज यस वर्ष (२०८१) को लक्ष्मीपूजाको दिन अथवा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती । सफलता के हो भन्नेबारे आजको दिनले मेरो बुझाइलाई झन् तरल र छिन्नभिन्न बनाएको छ । अधिकांश नेपाली धनदौलतका लागि आज लक्ष्मीको पूजा गर्दै छन् । यो महान् आस्था, विश्वास, परम्परा र अझ भन्ने हो भने धर्ममा मेरो गहिरो सम्मान छ । मेरो विषय यतातिर होइन । सफलता भनेको के हो भन्ने प्रश्नतिर छ । म सफलता भनेको को हो भनेर उत्तर दिन खोजिरहेको छैन । त्यसो गर्नु मेरो सामथ्र्यबाहिरको कुरा हुने छ ।
सफलता भनेको कति र कस्तो परिणाम वा स्वरूप हो ? मैले नजानेको एउटा प्रश्न हो यो । सफलता भन्नेबित्तिकै हाम्रा विचार, उदाहरण, बुझाइ आर्थिक उन्नतितिर जान्छन् । चिकित्सा विज्ञान पढेका (डाक्टर) खप्तड बाबाले आफ्नो शैक्षिक पेसा छाडेर सफलता पाएका हुन् कि होइनन्, मेरो प्रश्न हो । यही प्रश्नलाई अर्को उदाहरणबाट मैले आफ्ना गुरु तथा विद्यार्थीलाई सोध्ने गरेको छु, ‘लक्ष्मीप्रसाद देवकोटा को हुन् ?’ सबैले उहाँलाई नेपालका ‘महाकवि’ भनेर नै उत्तर दिने गरेको पाएको छु । किन उहाँहरूले लक्ष्मीप्रसाद देवकोटालाई नेपालका ‘भूतपूर्व मन्त्री’ भनेर उत्तर नदिनुभएको होला ? समकालीन राजनीतिको आलोकबाट हेर्दा अनि म कन्फ्युज्ड हुन्छ के हो सफलता ? समकालीन विश्वका सबभन्दा सफल व्यक्ति मानिएका बिल गेट्लाई म नमन गर्छु तर यसो भनेर म कोरोनाकालमा बिल गेट्सले लगाउनुभएको माक्स सिलाउने व्यक्तिप्रति नतमस्तक हुन बिर्सिन्न । अनि मेरो मनमा बेजोड आँधीको ज्वार आउँछ र आफूले बुझ्दै गरेको ‘सफलता’ भत्काइदिन्छ । यस सन्दर्भमा बिल गेट्सलाई म एक नमन अर्पण गर्छु, किनकि म अहिले कम्युटरमा लेख लेख्दै छु, इन्टरनेटको प्रयोग गरेर यही डिभाइसमार्फत कोसौँकोस पर क्षणभरमै यो लेख पठाउँदै छु । यस्तो काम गर्न बिल गेट्सले विश्वलाई सहजता दिए तर लाख लाख नमन चाहिँ माक्स बनाउने÷सिलाउनेलाई व्यक्तिलाई टक््रयाउँछु, जसले यस्ता लेख पढ्ने लाख लाखलाई बाँच्न र बचाउन सहयोग गरे ।
सफलता आधुनिककालको बुझाइ हो । परिणाम वा अवस्था बोधक अवधारणा हो तर यो यति अमूर्त छ कि यो र यति नै सफलता हो भनेर यसलाई ठ्याक्कै भन्न र बुझ्न सम्भव छैन । राम्रो जागिर, एउटा राम्रो घर, बजारमा चलेका चर्चित गाडी कति हो सफलता ? जागिर त अर्काले दिने हो । आफ्नै राम्रो व्यवसाय होस् । राजधानीको एउटा घरले के गर्ने हिउँदमा तराईको न्यानोमा जम्न पाइयोस्, गर्मीमा शीतलतामा रम्न पाइयोस्, यसका लागि तराई, राजधानी र हिमाली क्षेत्रमा एक एक घर हुन् । कालोपत्रे सडकमा सललल्ल बग्ने गाडीले मात्र पुग्दैन अफ् रोडमा हेभी ड्युटी गर्ने गाडी पनि चहियो । यसरी आवश्यकताका तेरिज बनाउँदै जाँदा कस्तो उपलब्धि र कति परिणाम हो सफलता भन्ने प्रश्नले मलाई भुतुक्कै पार्छ र मथिङ्गल घुमिरहन्छ । सबै सफलता पाए भनिएका बिल गेट्सलाई चन्द्रमामा बस्ती बसाल्ने सफलता कहिले प्राप्त हुने हो ?
यी सन्दर्भमा मलाई लाग्छ, सफलता आफैँमा गन्तव्य होइन, यात्रा हो । यात्रा मात्र पनि होइन सफलता भन्नु यो त बाटो हो । मैले बुझेको सफलता गन्तव्य होइन, मात्र कर्तव्य हो । सायद यसै भएर महाभारतलाई कसैको पनि ‘सफलता’ वा विफलता होइन बरु कसैको ‘कर्तव्य’ हो भनिएको होला । सफलतामा पूर्णविराम लाग्न सक्छ, कर्तव्यमा लाग्दैन । सफलतालाई परिमाणबाट देखाउन सकिएला, गणितबाट बोध गर्न सकिएला तर कर्तव्य अविच्छिन्न छ, अगणित छ । हर प्राप्तिमा हर सफलताको अन्त्य हुन्छ ।
गीता भन्नुस् वा भगवान् श्रीकृष्ण, दुवैले हामीलाई केही गरिरहनु पर्छ भनेर सङ्केत गरिरहेका छन् । केही पाउनुस् भनिरहेका छैनन् । कर्मण्यवाधिकारस्ते यही हो । यसैले सफलता भनेको प्रेरणा हो परिणाम होइन । केही पाउनुभन्दा, केही गरिरहनु झन् महान् छ ।
देवकोटा जयन्ती मनाउँदै गर्दा सफलतालाई एक रङबाट बुझ्न सकिन्छ । विशाल भारतको माटोमा उभिएर हेर्दा गान्धीलाई सफलताको अर्को आकारबाट बुझ्न सकिन्छ । खप्तड बाबाको जीवनी र विचार जो प्रकाशित छन्, उहाँले लिएको त्यो मार्ग पनि सफलताको अर्को उदाहरण हुन सक्छ । यस पटकको कलकत्ता भ्रमणमा मैले ट्रपिकल मेडिकल कलेज देख्ने अवसर पाएँ, जहाँबाट खप्तड बाबा (विसं १९३७–२०५३) ले चिकित्सा शास्त्रमा एमबिबिएस गरेका थिए । बेलायतबाट सर्जनमा एमडी गरेका नेहरू परिवारका सदस्य अस्पताल र चिकित्सा पेसा परित्याग गरी खप्तडमा आएर जे गरे त्योभन्दा ठुलो सफलताको उदाहरण अरू के हुन सक्छ । यस्तै अर्का चिकित्सक तथा फ्रान्सेली दार्शनिक अल्बर्ट स्विट्जर (सन् १८७५–१९६५) लाई पनि यहाँ उदाहरण बनाउन सकिन्छ, जसले सफलता भनेको खुसी होइन बरु खुसीबाट सफलता प्राप्त हुन्छ भन्दै थपेका छन्– ‘तपाईं जे गरिरहनुभएको छ, त्यसैमा समर्पित हुनुभयो भने सफलता मिल्ने छ ।’
अर्थर आसे (सन् १९४३–१९९३) पुरुषतर्फको एकल टेनिस प्रतिस्पर्धाका पहिलो विजेता (१९६८) लाई पनि कतिपयले सफलताको उदाहरण बनाउन सक्छन् । जसले आफूले खेल मात्र जितेनन् अमेरिकालाई पनि विजयी मुलुक बनाउने कर्म गरे । अमेरिकामा पनि उनको नाममा विश्वकै राम्रो टेनिस–कोर्ट (रङ्गशाला) बनाइएको छ । के यसलाई सफलता नभन्ने ? तर उनी भने परिणामभन्दा निरन्तरतालाई महान् मान्दछन् र भन्दछन्– ‘द डुइङ् इज अफन मोर इम्पोर्टेन देन द आउटकम ।’ उनी सफलतालाई गन्तव्य मान्दैनन्, मात्र यात्रा मान्छन्, यात्रा । उनी आफ्नो जीवन र भनाइबाट के पुष्टि गर्न खोज्छन् भने खेल जित्नु सफलता होइन बरु खेलका लागि निरन्तर पहल गर्नु चाहिँ सफलता हो । उनले खेललाई लिएको निरन्तरता नै सफलता हो भनेर बुझ्नुपर्ने हुन्छ । त्यो निरन्तरता भन्नु कर्मको अविच्छिन्नता हो । देवकोटाको सन्दर्भमा पनि यिनै उदाहरण लागु हुन सक्छन् । उनले साहित्यिक कर्मलाई निरन्तरता दिए त्यसैमा सफल भए । सफल भए पनि नभनौँ लेखनलाई देवकोटाले निरन्तरता दिए । लेखनले उनलाई महाकवि बनायो ।
साहित्यमा खासगरी प्रदर्शन गरिने साहित्य (नाटक÷चलचित्र) मा विलाशी, ऐयसी जीवनलाई सफलताको प्रतीक उदाहरण बनाइने गरिन्छ । जसले समाज र उसका पात्रलाई सफलता भनेको यही विलास र ऐस हो भन्ने अथ्र्याउँछ तर विद्वान् लेखकहरूले सफलताका विविध पाटो देखाउन सक्नु पर्छ । साहित्यले कस्तो सफलता प्राप्त गर्ने भन्नुभन्दा पनि कसरी सफलता प्राप्त गर्ने भन्नेमा सचेत गराउनु पर्छ । यस्तो भयो भने धन कमाउनुभन्दा कसरी धन कमाउने भन्ने पाटोलाई महìव दिइन्छ । यदि साहित्यले गलत गरेर, पेसागत अधर्म गरेर धन कमाउनुभन्दा सही कर्म गरेर गरिबीमा बाँच्न र हाँस्ने सक्ने प्रेरणा दिन सक्ने हो भने त्यो नै समाज उपयोगी साहित्य हुन्छ । सफलतालाई सतहीभन्दा गम्भीर भावमा बुझाउने काम साहित्यको हो । सहित तस्य भावः साहित्यम् अर्थात् शब्द र अर्थको सहभाव नै साहित्य हो भनिएको छ तर अहिले सफलता भन्ने अवधारण बुझ्नु वा बुझाउनु पर्दा शब्द पक्षलाई बढी बुझिएको देखिन्छ भाव पक्ष कमजोर छ । सफलताको भाव पक्ष खोज्नु, देख्नु, लेख्नु र दिनु (सम्प्रेषण) मा साहित्य प्रभावकारी साधन हुनु पर्छ । यसो हुन सकेको अवस्थामा ‘हितेन सहितम् तस्य भावः साहित्यम्’ अर्थात् हितले युक्त भाव नै साहित्य हो भनिएको परिभाषा थप पुष्टि हुने छ ।
समाजको चित्र, छाया वा प्रभाव साहित्यमा पर्छ भनिन्छ । हो, समाज र मानिस निरपेक्ष साहित्य हुँदैन पनि तर यसो मात्र भनियो भने त साहित्य समाजको दास वा ऐन मात्र बन्छ । साहित्यले आफ्नो चित्र, छाया, मूल्य वा प्रभाव पनि समाजमा छाड्न सक्नु पर्छ । यसो भन्नुको अर्थ जस्तो समाज छ, त्यस्तै साहित्य लेखिनु पर्छ भन्ने छैन । बरु साहित्यले समाजलाई आफू जस्तै बनाउने सामथ्र्य पनि राख्नु पर्छ । सफलतालाई बुझ्ने जोे आमअवधारणा छ त्यसलाई भिन्नार्थ र कोणबाट बुझाउने जिम्मेवारी साहित्यको हुन्छ ।
साहित्य समाजको दाम्लोमा डोरिने मात्र होइन, समाजलाई डो-याउने साधन पनि बन्नु पर्छ । यसका लागि वैकपिल्क र आलोचनात्मक विचार तथा बौद्धिक प्रतिरोध साहित्यले दिनु पर्छ । सफलताको सन्दर्भमा पनि साहित्यले आममान्यताभन्दा भिन्न विचार दिन सक्नु पर्छ, जस्तो कि सफलता भनेको उपलब्धि होइन । उपलब्धिका लागि गरिने निरन्तर साधना हो । यसो हो भने साहित्यमा ‘सफलता’ को तिर्खा नपाल्नुहोस्, मात्र निरन्तर साधना गर्नुहोस् भन्न सकिन्छ । मधुपर्क