• ९ पुस २०८१, मङ्गलबार

विवाहपञ्चमी उत्सव

राम र सीताका रूपमा श्याम र शोभाको विवाह

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), मङ्सिर २३ गते । शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए । मन्दिरको बाहिरपट्टि राम, लक्ष्मण, दशरथ र वशिष्ठ गुरुको भेषमा रहेका चार जनाको पूजा आरती गरेर जन्ती प्रस्थानको तयारी गरिँदै थियो । विवाहपञ्चमीको दिनको यो दृश्य एउटा उत्सवका रूपमा देखिन्थ्यो । एकछिन नाचगान गरिसकेपछि राम, लक्ष्मणलगायतको भेषमा रहेका सबै ब्यान्ड बाजामा नाच्दै ट्याक्टरमा बसेर पहलमानपुरतर्फ निस्कन्छन् । मन्दिरका एक सन्तले भन्नुभयो, “सीतालाई लिन जन्तीसहित राम पहलमानपुरमा रहेको कैलाशधाम जानुभयो ।”

रामको भेषमा रहेका दुलहा श्याम चौधरी र सीताका रूपमा रहेकी शोभा चौधरीको वास्तवमा विवाह हुँदै रहेछ । घोडाघोडी नगरपालिका–१, सुखडका मख्खुराम चौधरी रामभक्त हुनुहुन्छ । उहाँले सीता विवाहपञ्चमीका दिनमा नातिको विवाह गर्ने इच्छा जाहेर गरेपछि घरका मानिस र मन्दिरका भक्तसँग पनि सल्लाह मिलेपछि राम र सीताका रूपमा नातिको विवाह रामको स्वरूपमा हुन लागेको बताउनुभयो । विवाह उत्सवमा रमाइरहेका सीताराम चौधरीले जनकपुरमै पुगेर विवाहपञ्चमी उत्सव मनाउन नपाए पनि आफ्नो ठाउँमा भएको मन्दिरमा सीता र रामका रूपमा वास्त्विक विवाहमा उपस्थित भएर उत्सव मनाइरहेको बताउनुभयो ।


श्यामले मन पराएर घोडाघोडी–७ का शोभालाई भगाएर ल्याएका रहेछन् । श्यामको घरमा सबै सीतारामका भक्त भएकाले उनीहरूले सीता र रामका रूपमा सीता विवाहपञ्चमीमा विवाह गर्ने सल्लाह अनुसार श्यामलाई घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरबाट विवाह गर्ने सल्लाहबमोजिम विवाह उत्सव भएको जनाइयो । श्यामलाई दुलहाका रूपमा रामको पौराणिक पोसाकमा सजाइएको थियो भने उहाँको भाइलाई लक्ष्मणका रूपमा । उता कैलाशधाममा रहेको जानकी मन्दिरमा शोभालाई सीताका रूपमा दुलही बनाई राखिएको थियो । 

परिवार इष्टमित्रसहित मन्दिरका साधुसन्त, रामभक्त सबै जनाले विवाह उत्सवका रूपमा रामरूपी श्याम र सीतारूपी शोभालाई जन्ती बनेर साथ दिएका थिए । मख्खुरामले सीता विवाहपञ्चमीका दिन नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा असाध्यै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पवित्र दिनमा नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा धेरै खुसी लागेको छ ।”