गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत पाँच खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायतका उपकरणमार्फत खुद तीन खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो ।
तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैङ्कले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रवाह गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरी तरलता प्रशोचन गरिन्छ ।
बैङ्किङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैङ्किङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप सङ्कलन गरिन्छ वा सोझै बिक्री उपकरण प्रयोग गरिन्छ । त्यस्तै सोझै खरिद उपकरणमार्फत तरलता प्रवाह गरिन्छ ।
यसबाहेक राष्ट्र बैङ्कले ऋणपत्रमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक ब्याजदर कोरिडोर, सिसिडी रेसियो, अन्तरबैङ्क कारोबारलगायतका नीतिगत व्यवस्था एवं मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्ने गर्दै आएको छ ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर एक अर्ब ४७ करोड खुद खरिद गरी एक खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २६ करोड खुद खरिद गरी एक ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी एक खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।
मुद्दती निक्षेपमा चार अर्ब लगानी
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा चार अर्ब ३७ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषतर्फ वाणिज्य बैङ्कमा दुई अर्ब ४० करोड रुपियाँ, विकास बैङ्कमा ४५ करोड रुपियाँ र फाइनान्स कम्पनीमा १५ करोड रुपियाँ गरी कुल तीन अर्ब रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । यस्तै कर्मचारी सुरक्षण कोषतर्फ वाणिज्य बैङ्कमा एक अर्ब नौ करोड ६० लाख रुपियाँ, विकास बैङ्कमा २० करोड पाँच लाख रुपियाँ र फाइनान्स कम्पनीमा छ करोड ८५ लाख रुपियाँ गरी कुल एक अर्ब ३७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८१ पुस २ देखि २०८२ पुस २ गतेसम्म ३६६ दिन अवधिका लागि राख्न लागेको हो ।
मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाले मङ्सिर २३ गतेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।