• ७ पुस २०८१, आइतबार

नियात्रा

बाह्र घुम्ती घुम्दै मानसरोवर

blog

‘मेरो दृष्टिमा अरू सबै तीर्थयात्रा, कैलाश–मानसरोवर महातीर्थयात्रा ।’  भाइ केशवले कैलाश मानसरोवर यात्राको प्रस्ताव राख्दा मैले एक श्वासमै भनेको थिएँ, 

‘जान्छु ।’ मैले त्यस बेला कुनै सोच विचारै गरिनँ, कामको फेहरिस्त अगाडि सारिनँ । कसैसँग सल्लाह पनि गरिनँ ।

कैलाश–मानसरोवर त मेरो हररातको सपना । दिनमा मोबाइल खोल्छु, रातमा सपना देख्छु । कैलाश मानसरोवरको भोक मलाई मात्र लाग्दैन होला ! अरूलाई पनि लाग्छ होला ! अलि बढी यात्राप्रेमी भएको हुँदा मलाई केही बढी भोक लागेको पो हो कि ! जुन अस्वाभाविक होइन ।

यात्रा गर्ने कुराको उद्घाटन भएपछि मेरो तृष्णा अरू बढ्यो । विचारमा अनेक तरङ्ग आउन थाले । मनमा एक प्रकारको आवेग र शरीरमा रोमाञ्च हुन थाल्यो । मानसरोवरको तटमा एक्लै पुगे जस्तै लाग्यो, मानसरोवरको जलमा डुबुल्की मारे जस्तै लाग्यो । कैलाश पर्वतलाई स्पर्श गरे जस्तै लाग्यो, कैलाशलाई सर्लक्कै फन्को मारे जस्तै लाग्यो । साँच्चै नै मलाई एक महिना पर्खन पनि गाह्रो भयो ।

यात्रा गराउने जिम्मा लिएको संस्था नमस्ते होलिडेजले एक हप्ताअगाडि ओरिन्टेसन क्लास सञ्चालन ग¥यो । केही डर, केही उत्साह, केही आत्मबल र केही प्रतिज्ञाबद्ध भएर यात्रामा निस्कने तयारी गरेका तीर्थयात्रीले केही जिज्ञासा पनि राखे । थरीथरीका उत्कण्ठा र आकाङ्क्षा लिएर आएका शिवभक्तलाई यात्राका सम्भाव्य अवसर र चुनौतीले उत्साह पनि थपिदियो । केहीमा त्यसको विपरीत निराशाले बास पनि जमायो तर यात्राका लागि प्रतिबद्ध भएर रकम भुक्तानी गरिसकेकाले यात्राबाट बहिर्मुख हुने निर्णय चाहिँ गरेनन् । प्रस्थान गर्ने दिन अर्थात् २०८१ साउन ३० गतेको प्रातःकालीन शुभमुहूर्तमै पशुपतिनाथ मन्दिर दक्षिणतर्फको बसपार्कमा जम्मा भए । स्वस्तिवाचन र पितृसंस्मरणमा सम्मिलित भए । पशुपतिको चन्दन र रुद्राक्षको माला लगाएर बसमा आरूढ भए । 

बस सामाखुसी, टोखा हुँदै झोरको फाँटमा कुद्न थाल्यो । म बसेको सिटमा मेरो भाइ छ । दुई जना अट्ने अन्य सिटमा केही दिदीबहिनी पनि छन् । केही बाबुछोरा पनि छन् तर धेरै दम्पती छन् ।

काठमाडौँ ओर्लेको झन्डै आधाशताब्दी पुग्नलाग्दा पनि मेरो भाइले झोर स्पर्श गरेको रहेन छ तर म भने स्वैच्छिक यात्रामा रम्न र साहित्यिक कार्यक्रममा सहभागी हुन कुन्नि कति पटक झोर पुगे हुँला, गणना छैन । एउटा सम्झना के छ भने झोरमाथिको शिवपुरी डाँडो, अर्थात् गुर्जेभन्ज्याङ काटेर नुवाकोटको पाखोतिर ओर्लने काम चाहिँ म चौथो पटक गर्दै छु ।

झोरमा भएका समय समयका घटना परिघटनाको पुनस्र्मृति गर्छु म भाइसँग । कुनै बेला म यहाँको सपनतीर्थमा भएको एउटा कार्यक्रममा सम्मानित भएको छु । धेरै पटक झोरका रिसोर्टमा भएका साहित्यिक कार्यक्रममा अतिथि वा श्रोताका रूपमा सहभागिता जनाएको छु । शिवपुरी जङ्गलको फेदी हुँदै जङ्गलमा मङ्गल गान गर्दै, झोरको सुन्दर उपत्यकामा दृष्टि खन्याउँदै उन्मुक्त यात्रा गर्ने काम चाहिँ म एक पटक मात्र गरेको छु ।

हामी चढेका तीन वटा बस लामलस्कर कुदिरहेका छन् र हामीले झोरको दृश्य पान गर्दै शिवपुरी उक्लिँदै छौँ । यात्रीमा उत्साह छ, उमङ्ग छ । कैलाश मानसरोवरको चुम्बकले तानिरहेको छ तर यसबेला यात्रुको मन चिया पिउने तृष्णाले तुलबुलिएको छ ।

हामीलाई थाहा छ, यात्राका आयोजक भनौँ या सेवा प्रदायकले अहिलेको चियानास्ता गराउने छैनन् । हामीले दिएको बजेट त्रिशूलीको दिवाभोजपछि मात्र लागु हुने छ । यद्यपि नास्ताका लागि यात्रुमा पोकापुन्तुराको अभाव छैन, तथापि चियाको ताजा स्वाद त चिया पसलले मात्र दिन सक्छ नि ! त्यो अभाव पूरा गरिदियो थाना भन्ज्याङले ।

हाम्रो यात्रा घुम्ती घुम्ती हुँदै ओरालिएको छ । शिवपुरीको वर्चस्व काठमाडौँ उपत्यकातर्फ मात्र छैन, नुवाकोटतर्फ पनि छ । जङ्गलको घनत्व पनि कम छैन नुवाकोटको पाखोमा । छङछङाउँदै ओर्लेका ठाडा खोला छन् । उच्च पहाडबाट हामफाल्दै गरेका झरना छन् । सुन्दर छ वातावरण, सुन्दर छ वारिपारिको दृश्य पनि ।

लिखुखोला ओर्लेर लिखुफाँटमाथि कुद्दै गर्दा नुवाकोटको वैभव याद हुँदै छ मलाई । पहिले पहिले काठमाडौँ उपत्यकालाई उपत्यकाले नै पाल्थ्यो, पछि उपत्यकाको उर्वर भूमि मासिँदै गएपछि यही लिखुफाँट र त्रिशूली फाँटले सहयोग गर्न थाल्यो । कालान्तरपछि वर्तमानमा आइपुग्दा त तराईले पनि पाल्न नसक्ने भयो । राजधानीले अहिले विदेशको चामल खाँदै छ । हेरौँ त धानचामल निर्यात कम्पनी भएको देशको हालत !

मैले अन्नको भण्डार त्रिशूली फाँटलाई मात्र सम्झिनँ, बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई पनि सम्झेँ । जसको प्रतापले नुवाकोट अधीनस्थ भयो र नुवाकोटलाई राजधानी बनाएर गरिएका पटक पटकका आक्रमणको परिणाम नै आजको नेपाल हुन पुग्यो ।

राष्ट्रनिर्मातालाई सम्झँदा सम्झँदै हामी पट्टाबारी, ढिकुरेबजार हुँदै तादी तरेर शेरा पुगे छौँ । शेरा फाँट, पृथ्वीनारायण शाहको हिउँदे राजधानी, अर्थात् शेरा दरबार । शेरा दरबार म यसअघि पुगिसकेको छु र त्यसै दरबारको छेउ तादीखोलाको बगरमा पाल टाँगेर एक रात बिताएको छु । मैले राम्रैसँग देखेको छु त्यो दरबार तर दुर्भाग्य ! देश बनाउने नाममा ध्वंस मच्चाउनेले शेरा दरबारलाई पनि बाँकी राखेनन्, बम हानेर ध्वस्त पारे । अहिले माथिपट्टि बाटोबाट कुद्दै गर्दा त्यही भग्नावशेष दरबारतिर आँखा विस्फारित गर्दै छु तर देख्तिनँ । कुन्नि ! संरक्षणविहीन पर्खाल पनि ढलेर धराशायी भइसक्यो कि ! 

गँगटे, बट्टार र विदुर हुँदै त्रिशूलीको किनारमा पुगेर खाना खान्छौँ । त्रिशूली बजार मेरा लागि नौलो थिएन । राजधानी वरपरका डाँडा र गौँडा गल्छेडा छिचोल्ने क्रममा र साहित्यिक कार्यक्रममा सम्मिलित हुने क्रममा म चार÷पाँच पटक आएँ हुँला त्रिशूली तर तेत्तिस वर्षअघि गोसाइँकुण्ड जाँदा गुडेको त्रिशूली–वेत्रावतीको बाटो नौलो नौलो लाग्दै छ मलाई । फराकिलो, स्निग्ध र सुन्दर देखिँदै छ बाटोको आकृति । रमाउँदै छ मन, बढ्दै छ उमङ्ग, विस्तारित हुँदै छ छायाछवि ।

वेत्रावती खोला नाघेर रसुवा प्रवेश गर्छौं तर उत्तरगयाको नामले चिचिने वेत्रावती र त्रिशूलीको सङ्गममा ओर्लन सक्तैनौँ । त्यो पितृमोक्ष तीर्थस्थल ! त्यस दोभानमा बसेर पितृको नाममा जलार्चन गर्न पाएको भए हुन्थ्यो । त्यो ऐतिहासिक स्थल । नेपाल–चीनबिच सन्धि भएको ठाउँ । त्यहाँ बसेर सन्धिको बेहोरा लेखिएको विशाल आकारको शिलालेख अवलोकन गर्न पाएको भए हुन्थ्यो । सबै ठाउँमा सबै अवसरमा सबै सम्भावनाको सम्बोधन कसरी सम्भव हुन सक्छ र ! हामीहरूलाई पनि सम्भव भएन । हो, वेत्रावती सन्धिको इतिहास पल्टाउने हो भने बडो वीरतासाथ लडेर नेपालले आफ्नो कब्जामा पारेको कुती, केरुङ र दिगर्चाहरू अगस्त २२, १७९२ को ७ बुँदे वेत्रावती सन्धिले गुमायो र रसुवागढीमा सीमित भयो । बहादुरी चाहिँ नेपालले देखायो तर त्यसको सम्मान सन्धिमा उल्लेख गरिएन । यसो हुनुमा सायद भाषाको सङ्कट, बुझाइको सङ्कट र चिनियाँ सैनिक कमान्डरको चतु¥याइँले पनि काम ग¥यो होला !

वेत्रावती पुगेपछि मेरो मनमा यी ऐतिहासिक घटना तरङ्गित हुन पुगे । फलस्वरूप क्षणभर भए पनि नेपालको गौरवगाथा वर्णन गर्ने अवसर पाएँ तर अहिले भने मैले लिएको लक्ष्य फरक प्रकृतिको छ । म अहिले कुनै बेला नेपाल सरहदभित्र रहेको कैलाश मानसरोवरको यात्रामा छु । म यही सपना बोकेर अगाडि बढिरहेको छु ः म मानसरोवर पुगेर पवित्र सरोवरमा डुबुल्की मार्ने छु र शरीर शुद्धि, मन शुद्धि गराएर कैलाश परिक्रमा गर्ने छु । अब हामी कालिकाथानको डाँडो आरोहअवरोह गर्ने उपव्रmममा छौँ । यद्यपि रसुवा जिल्ला नुवाकोटको तुलनामा कम विकसित छ र दुर्गम पनि छ । तथापि त्यही जिल्लामा गोसाइँकुण्ड छ, त्यही जिल्लामा नेपाली सेनाले बहादुरी देखाएको रसुवागढी छ । चीन प्रवेश गर्ने केरुङद्वार छ, जुन द्वारबाट हामी कैलाश–मानसरोवर जस्तो पवित्र पुण्यभूमि स्पर्श गर्ने अभिलाषामा यात्रारत छौँ । 

म देखिरहेछु, रसुवाको चरण पनि कम रसिलो छैन । रुखपातले ढाकिएको छ बस्ती, उर्वर छ जमिन । खेत र बारीका पाटामा लहलहाएको छ बाली । हामी कालिकाथानलाई ताकेर उकालो लागेका छौँ । नागबेली छ बाटो । बोगटीटार, लोहोरेपौवा, माझगाउँ मेरो दृष्टिमा कैद हुँदै छन् । मैले तेत्तिस वर्षअघि देखेको कालिकाथान त्यही हो जस्तो लाग्दैन । बजार फैलिएको मात्र होइन, ‘घुम्तीबजार’ को नामबाट अर्को बजार निर्माण भएको छ ।

कालिकाथान, लामटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि । नेपाली सेनाको चलिमचली छ । उनीहरूको परीक्षण र निर्देशनलाई हामीले अवज्ञा गर्नु हुँदैन । निकुञ्ज हाम्रो राष्ट्रिय सम्पत्ति, जनावर निकुञ्जका गहना । तिनीहरूलाई हामीले संरक्षण गर्नु पर्दछ ।

रमाइरहेका छौँ हामी, चलिरहेको छ यात्रा । यात्रालाई सहज र सुरक्षित तुल्याउन बसचालक पनि त्यत्तिकै सचेत देखिन्छन् । अगाडि देखिएको स्याउबजारले मेरो ध्यान तान्छ । हेर्छु स्याउको एउटा बोट पनि देखिँदैन, किन स्याउबजार भनिएको होला ? तर्कनाको तन्तुले तीर भेदन गर्न नपाउँदै राम्चे मेरो नजरमा पर्छ, हामी धुन्चे अभिमुख हुन्छौँ ।

राम्चे–धुन्चेबिचको पखेरो तेर्सिंदै गर्दा म आश्चर्यमा पर्छु र विगत सम्झन थाल्छु, म पहिले धुन्चे आउँदा डाँडाको यति लामो पाखो काटेको थिएँ र ? अर्को बाटो पनि त छैन । फेरि सोच्छु, यात्रा अनुभूति पनि हो, लामो बाटो छोटो पनि लाग्न सक्छ । छोटो बाटो लामो पनि लाग्न सक्छ । मलाई अहिले त्यस्तै अनुभूति भइरहेछ, छोटो सम्झिएको बाटो लामो लागिरहेछ । मलाई सम्झना थिएन, त्यस पाखोमा ग्य्राङबजार पनि छ भन्ने । घर पनि कस्ता कस्ता ! दुईतले त घरै नदेखिने । पाखैभरि ठडिएका, विशाल आकारका ढुङ्गा जस्ता लाग्ने रिसोर्ट आकारका साना घर । ठाउँका नाम पनि कस्ता कस्ता ठाडे, सोले, फुस्रे, बोकेझुन्डे, के के हो, के के ? बाटोको हालत देखेर दिक्क लाग्यो, तीन दशकअघिको अवस्थामा सुधार आएन तर उत्तिसका विशाल वृक्षको झुन्ड छ, बाटोमुनि बाटोमाथि । कञ्चन पानी छङछङाउँदै झरेका खोल्सा र झरनाको घनत्व त यति व्याप्त छ, यस्तो प्रकृतिप्रदत्त संरचना सायदै देख्न पाइन्छ ।

रसुवाको सदरमुकाम धुन्चे पुगेर ओरालो लाग्छौँ, स्याफ्रुबेँसी ताकेर । अहो ! बाटो त कति डरलाग्दो । नागबेली हुँदै ओर्लेको छ त्रिशूलीतिर । कतै भत्केको, बिग्रेको भए पनि बाटो पिच गरिएको छ । बसचालक सचेत छन्, सावधान छन् । अप्ठ्यारा मोडमा ब्याक गरेर भए पनि यात्रुको मन मुटु झस्काउने काम गरेका छैनन् ।

नेपालका डाँडापाखा घुम्ने क्रममा मैले सात घुम्ती, नौ घुम्ती र एघार घुम्ती त देखेको थिएँ तर यहाँ त बाह्र घुम्ती रहेछन्, नागबेली लहरा झैँ माथिदेखि तलसम्म स्पष्टै देखिने घुम्ती । घुम्ती सकेर हामी तेर्सियौँ पल्लो डाँडो ताकेर । बिचैमा गोसाइँकुण्डबाट ओर्लंदै गरेको त्रिशूली भेटियो । ओर्लेर जल सेचन गर्न नपाए पनि गोसाइँकुण्डको जललाई नमन गरेँ विनतभावले ।

भोटेकोशी ओर्लनेबित्तिकै देखियो चिलिमे जलविद्युत् आयोजना । नेपालको जलविद्युत् उत्पादनमा सर्वाधिक चर्चा पाएको र बढी जनता लाभान्वित भएको सायद यही आयोजना होला ! सुनिएको मात्र थियो, अहिले प्रत्यक्ष देख्ने मौका मिल्यो । भोटेकोशी तरेर अलिकति अगि बढ्नेबित्तिकै स्याफ्रुबेँसी बजारले स्वागत ग¥यो हामीलाई । भोटेकोशीलाई झन्डै आधा शक्ति प्रदान गर्ने अर्काे खोला स्याफ्रुबेँसीमा मिसिएको रहेछ । यसै गरी माथिपट्टि रुँगा भन्ने स्थानमा एउटा खोला, टिमुरेमा अर्काे घट्टेखोला र रसुवागढीस्थित चिनियाँ जाँचचौकी अगाडिका तीव्र वेगशाली अरू खोला मिसिएपछि मैमत्त भएर गडगडाउँदै भोटेकोशी अघि बढ्दो रहेछ । परिणाम के हुँदो रहेछ भने चिलिमे जलविद्युत् उत्पादनमा थप शक्ति सञ्चय हुँदो रहेछ ।

अहिले हामी विशाल आकारका ढुङ्गामा टक्कराउँदै र पछारिँदै तीव्र वेगका साथ उर्लिंदै गतिमान भइरहेको त्यसै खोलाको किनार हुँदै मुहान पछ्याउँदै छौँ । बाटो पूरै कच्ची छ । बाटोको तलमाथि झाँगिएको गाँजा र तितेपातीको जङ्गल देखेर म आश्चर्यान्वित भएको छु र सम्झिँदै छु, केही दिनअघि एउटा कार्यक्रममा गाँजा र लोकल मदिरा उत्पादनलाई वैध बनाउनुपर्ने विषयमा केन्द्रित भएर विद्यावारिधि गर्न लागेकी शशिकला राईले भनेका कुरा ।

हो, वास्तवमा शशिकलाले भने जस्तै गाँजाको व्यवस्थित उत्पादन र विदेशी मदिरामा प्रतिबन्ध लगाएर नेपाली मदिराको उत्पादन बढाउने हो भने देशको अर्थतन्त्रमा पक्कै सकारात्मक प्रभाव पथ्र्याे होला ! स्वयं उत्पादित गाँजाको जङ्गल र भोटेकोशीको उर्लंदो भेलमा आँखा डुलाउँदा डुलाउँदै टिमुरे पुगिएछ ।  

Author

रामप्रसाद पन्त