डिजिटल प्रविधि भन्नेबित्तिकै विभिन्न किसिमका सूचना तथा तथ्याङ्कलाई ससानो मात्रामा प्रशोधन गरी आदानप्रदान गर्ने प्रक्रिया भन्ने बुझिन्छ । विभिन्न किसिमका उपकरण जस्तै कम्प्युटर, स्मार्टफोन, विद्युतीय उपकरण र इन्टरनेटको माध्यमबाट सूचना प्रशोधन गर्ने गरिन्छ । यस्ता किसिमका प्रविधिले हाम्रो दैनिक जीवनका क्रियाकलापलाई प्रभावित गर्दै शिक्षा, स्वास्थ्य, औषधी उपचार, कृषि, उद्योग, मनोनरञ्जन प्रणाली तथा सञ्चार क्षेत्रलाई समेत गतिशील बनाएको छ । डिजिटल प्रविधि अहिलेको विश्वमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका लागि अपरिहार्य बनेको छ । खास गरी नेपाल जस्तो विकासोन्मुख देशमा पनि डिजिटल प्रविधिको विकासले समग्र विकासमा उल्लेख्य योगदान पु¥याइरहेको हुन्छ । नेपालको हकमा बैङ्किङ क्षेत्रमा यसको प्रयोग बढी भएको पाइन्छ । यसले शिक्षा, स्वास्थ्यदेखि सञ्चारका विभिन्न क्षेत्रमा परिवर्तन ल्याएको छ । डिजिटल प्रविधिको विकासले धेरै ठुला उपलब्धि हासिल गरिए पनि यसको प्रयोग र कार्यान्वयनमा धेरै चुनौती र सीमितता रहेको प्राविधिक तथा विज्ञहरू बताउँछन् । नेपालमा प्रविधि र यसको विकास विगत एक दशकमा उल्लेख्य भएको छ । यस क्षेत्रमा भएका महत्वपूर्ण प्रगतिलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।
इन्टरनेट र सञ्चारको व्यापक विस्तार : दुर्गमसम्म इन्टरनेटको पहुँचले नयाँ नयाँ प्रविधि र मोबाइल सेवा पुगेका छन् । विभिन्न किसिमका सेवा सञ्चालनमा रहेका छन् भने नयाँ नयाँ सेवा थप हुँदै छन् । नेपाल टेलिकम र एनसेल जस्ता नेपालका ठुला ठुला सेवा प्रदायकले प्रतिस्पर्धाका आधारमा इन्टरनेट सेवा थप सस्तो र गुणस्तरीय बनाउन पहल गरिरहेका छन् ।
सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग : विभिन्न सरकारी निकायले प्रदान गर्ने सेवा प्रविधियुक्त हुँदै गएका छन् । अत्यावश्यक सरकारी सेवा अनलाइन भइरहेका छन् जसका कारण आमनागरिकको समय तथा पैसा बचत हुन पुगेको छ । नागरिकता, पोसपोर्ट, राजस्व भुक्तानी तथा अन्य सामान्य रकमान्तरसमेत अनलाइनबाटै हुने गरेको छ ।
शैक्षिक क्षेत्रमा प्रविधिको प्रयोग : स्कुल तथा कलेज र विश्वविद्यालयमा ई लर्निङ र अनलाइन कक्षाको माध्यमबाट विश्वका जुनसुकै कुनाबाट पनि शिक्षा प्राप्त गर्न सकिने भएको छ । जसले गर्दा नयाँ नयाँ ज्ञानको आविष्कार र प्रयोग हुँदै जान थालेको छ ।
स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको विकास : प्रविधिको प्रयोगसँगै टेलिमेडिसिन सेवाको विकास र प्रयोगले दुर्गममा रहेका आमनागरिकले सहज रूपमा उपचार पाएका छन् । डिजिटल डाटा र सर्वरको व्यवस्थापनले बिमा र डाटा व्यवस्थापन सहज भएको छ, जसले गर्दा सहज उपचार सम्भव छ । प्रविधिले नै विभिन्न किसिमका रोगको उपचार समयमै सम्भव भई अकालमा ज्यान जोगाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बैङ्क तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग : छोटो समयमा प्रविधिको बढीभन्दा बढी प्रयोग र विकास भएको क्षेत्र हो बैङ्किङ । मोबाइल बैङ्किङ, ई बैङ्किङ, ई पेमेन्ट प्रणालीको विकाससँगै अनलाइन बैङ्किङको प्रयोग तीव्र गतिमा भइरहेको छ । अनलाइन भुक्तानी र कारोबारले पारदर्शितासमेत देखाएको छ । आमनागरिकको श्रम र समय तथा खर्चमा कटौती भएको छ ।
अन्य व्यापार तथा सेवा प्रवाहका क्षेत्र : अनलाइन व्यापार तथा सेवामा उल्लेख्य वृद्धि भएको छ । थप अन्य क्षेत्र ।
डिजिटल प्रविधिको क्षेत्रमा नेपालले सामना गरिरहेका चुनौती कोरोनाकालपछि नेपालमा प्रविधिको विकासक्रम उल्लेख्य बढिरहेको छ । प्रविधि यस्तो विषय हो, जसमा विभिन्न किसिमका चुनौती सधैँ रहिरहेका हुन्छन् । विभिन्न किसिमका प्राविधिक, आर्थिक, सामाजिक र कानुनी क्षेत्रमा भएका मुख्य मुख्य सीमिततालाई यहाँ उल्लेख गरिएको छ ।
प्राविधिक चुनौती
साइबर सुरक्षा : खास गरी नेपालमा मात्र होइन साइबर सुरक्षाको चुनौती विश्वभर छ, यद्यपि नेपालमा यसका चुनौती अलि बढी नै देखिन्छ । किनकि बेला बेलामा सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा साइबर आव्रmमण भएका घटना हाम्रासामु छन् त्यसले गर्दा व्यक्तिगत सूचनाको सुरक्षा गर्न चुनौती छ ।
गुणस्तरीय इन्टरनेट सेवा : विभिन्न देशका विभिन्न कम्पनीबाट उपलब्ध हुने इन्टरनेट सेवा गुणस्तर नहुने तथा कम स्पिडको हुनुका साथै महँगोसमेत छ । यही सेवा पनि ग्रामीण क्षेत्रमा पु¥याउन थप चुनौती छ ।
गुणस्तरीय डिजिटल उपकरण अभाव : नेपालमा प्राप्त हुने डिजिटल उपकरण मूल्यको हिसाबले सस्तोदेखि महँगोसम्मका भएकाले सबैको पहुँचमा छैनन् । खास गरी गुणस्तर र बजेटको हिसाबले न्यून आय भएका क्षेत्रको यसको प्रयोग चुनौतीपूर्ण छ भने सरकारी क्षेत्रमा खरिद प्रक्रिया र यसको उपलब्धता चुनौतीपूर्ण छ ।
विद्युत् आपूर्ति : डिजिटल उपकरणको नियमित सञ्चालनका लागि आवश्यक पर्ने विद्युत्को निरन्तर उपलब्धता नै आमनेपालीका लागि चुनौती छ । धेरै जसो क्षेत्रमा विद्युत् निर्माण र आपूर्ति भए पनि ग्रामीण क्षेत्रमा अझै पनि यसको आपूर्ति सहज हुन सकेको छैन, जसका कारण चाहेर पनि यसको प्रयोग वा निरन्तरता दिन कठिन छ ।
जटिल खरिद प्रक्रिया : खास गरी सरकारी क्षेत्रमा यस्ता उपकरण खरिद प्रक्रियामा सधैँ विवाद हुने गर्छ । अधिक मूल्यमा कम गुणस्तरका सामान खरिद गर्ने र अख्तियारको छानबिनका कारण खरिद गर्न डराउने वा त्यसबाट टाढा रहनुले पनि समयमै आवश्यक उपकरण प्राप्त गर्न नसक्नु ।
कानुनी चुनौती
उपयुक्त कानुन र सोको कार्यान्वयनमा अभाव : खास गरी प्रविधिको क्षेत्रमा विकास भएको धेरै नभएकाले उपयुक्त किसिमको डिजिटल प्रविधिसँग सम्बद्ध कानुनको अभाव छ । साइबर अपराध र डिजिटल ठगीका घटना दिनानुदिन बढ्दै जानु र त्यसको रोकथाम गर्न कठिन हुनुले पनि यसको चुनौती थपिँदै गएको छ ।
नीति कार्यान्वयन पक्ष फितलो : जति पनि प्रविधिसँग सम्बन्धित नीति नियम छन्, तिनीहरूको कार्यान्वयन पक्ष पनि फितलो छ । कडाइका साथ लागु गर्ने हो भने केही हदसम्म यस्ता साइबर अपराध तथा बैङ्किङमा हुने ठगी कमी हुँदै जाने छ ।
आर्थिक चुनौती
खर्चले धान्न नसक्ने महँगा प्रविधि र उपकरण : नेपालले झेल्नु परेको समस्या भनेको डिजिटल प्रविधिसँग सम्बन्धित उपकरण खरिद गर्न बजेट अभाव र खरिद भए पनि गुणस्तरहीन हुने सम्भावना छ ।
महँगो सेवा शुल्क : खास गरी प्रविधि महँगो भएपछि केही सेवा शुल्क लिनु प¥यो, त्यो लिँदा सम्पूर्ण क्षेत्र प्रभावित हुँदो रहेछ । अहिले पनि नेपालमा प्रति कारोबार शुल्क महँगो नै छ ।
प्रविधिको विकासका लागि लगानी : नेपालमा सोचे जस्तो प्रविधिको विकास गर्न लगानी अपरिहार्य छ । सरकारले यथेष्ट मात्रामा लगानी गर्न नसक्दा यो क्षेत्र पछाडि परेको होकी भन्ने भान पनि हुन्छ । यसका लागि उपयुक्त नीति बनाएर वैदेशिक लगानी भित्र्याउन अति आवश्यक छ ।
सामाजिक चुनौती
आमनागरिकमा डिजिटल साक्षरताको अभाव : खास गरी दुर्गम पिछडिएका क्षेत्र र सहरकै कतिपय क्षेत्रमा पनि आममानिसमा डिजिटल उपकरण र यसको उचित प्रयोगबारे प्रयाप्त मात्रामा आवश्यक जानकारी छैन । नेपालमा प्रविधिको विकास अपेक्षित छ तर सबैले प्रयोग र विश्वास नगरिदिँदा अपेक्षाकृत रूपमा विकास हुन सकेन ।
लैङ्गिक असमानता : खास गरी प्राविधिक पढाइ पनि महिलाले कम पढ्ने हुँदा त्यहाँदेखि नै यसको असमानता सुरु हुन्छ । पुरुषको तुलनामा महिलाले प्रविधि र मोबाइलको प्रयोग कम गर्छन् । यसलाई समान रूपमा लैजान पनि चुनौती छ ।
भाषासम्बन्धी समस्या : नेपालमा अधिकांश प्रविधिसँग जोडिएका विषय अङ्ग्रेजीमा हुनाले तिनीहरूको प्रयोग पनि आमसाधारण नागरिकमा कम हुन गएको छ ।
नेपालमा डिजिटल प्रविधि विकास र विस्तारका केही उपाय
अहिले भइरहेको डिजिटल प्रविधिको विकासलाई अझ प्रभावकारी र सशक्त रूपमा अगाडि बढाउन तल उल्लेख गरिएका क्षेत्रमा जोड दिन सकिए प्रविधिको विकास द्रुत गतिमा अगाडि बढ्न सक्ने छ ।
गुणस्तरीय डिजिटल प्रविधि र कम लागतको उपकरण उपलब्ध गराउने सुनिश्चितता । सस्तो रूपमा प्रवाह हुने गुणस्तरीय इन्टरनेट सेवा । ग्रामीण क्षेत्रमा डिजिटल पूर्वाधारको विकास । पूर्ण रूपमा सरकारी सेवामा प्रविधिको प्रयोग गराउनु । शिक्षा तथा स्वास्थ्यमा डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनु । साइबर सुरक्षामा विशेष जोड दिने । आमनागरिकमा डिजिटल प्रविधिको प्रयोगबारे बहस चलाउने, क्यासलेस कारोबारका लागि पहल गर्ने । डिजिटल साक्षरतालाई महìवपूर्ण पाटोको रूपमा हेर्ने । नेपालमा प्रविधिको विकास गर्न ज्ञान सिप र क्षमताले भरिपूर्ण नयाँ पुस्तालाई उनीहरूको ज्ञान र क्षमता प्रयोग गर्न प्रोत्साहित गर्दै नयाँ प्रविधिको विकासमा योगदान दिन प्रेरित गर्ने ।
साइबर सुरक्षाका चुनौती
हाम्रो देश नेपाल सानो मुलुक हो यहाँ प्रयोग हुने अधिकांश प्रविधि विदेशी नै छन् । तिनीहरूको उपलब्धता र प्रयोग नै गाह्रो छ । प्रयोग भइसकेपछि पनि त्यसको मर्मत सम्भारमा नै ठुलो धनराशि खर्च हुने गर्छ । यसै सन्दर्भमा नेपालमा प्राविधिक सुरक्षासम्बन्धी विषय दिन प्रतिदिन नै महत्वपूर्ण बन्दै गइरहेको छ । विश्वमा डिजिटल युगको प्रवेशसँगै विभिन्न किसिमका प्राविधिक समस्याका साथै साइबर सुरक्षा र फ्रड कारोबार पनि चिन्ताको विषय बन्दै गइरहेको छ ।
फ्रड कारोबार : कमजोर डिजिटल साक्षरताका कारण विभिन्न व्यक्तिलाई विभिन्न किसिमका प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगीका घटना बढिरहेका छन् । यस्ता घटना बढ्न नदिन स्वयम् व्यक्ति नै चनाखो हुनु पर्छ तर नेपालको सन्दर्भमा यसो हुन कठिन देखिन्छ ।
साइबर आक्रमण : खास गरी नेपालमा सरकारी क्षेत्र र बैङ्किङ क्षेत्रमा यस्ता घटना घटेको सुनिने गर्छ ह्याकिङ, फिसिङ मालवेयर आक्रमणका घटनाले सेवा नै प्रभावित हुने गरेका छन् । प्राविधिक सुरक्षा कम हुने सङ्घ संस्था यसको निशानामा परेको देखिन्छ ।
कानुनी उपचारको अभाव : यसका कारण कतिपय साइबर अपराध र प्राविधिक सुरक्षाका विषय चुनौतीपूर्ण बन्दै गएका छन् तसर्थ आवश्यकता अनुसारको कानुनी उपचार र त्यसको रोकथामका लागि आवश्यक पहलकदमी जरुरी छ ।
डिजिटल पूर्वाधारको अभाव : नेपालमा सबै क्षेत्रमा डिजिटल पूर्वाधार र डाटा व्यवस्थापन पक्षमा कमजोरी देखिन्छ । क्लाउडको जमानामा नेपालमा सोसम्बन्धी नीति नै बनेको छैन । स्टोरेजको अभावमा डाटा सुरक्षासमेत चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
डाटा व्याकप र त्यसको सुरक्षा : नेपालमा क्लाउडको नीतिगत समस्याले गर्दा डाटा व्याकप र डाटा सुरक्षाका चुनौती थप हुँदै गएका छन् । यसले सरकारी डाटा तथा व्यक्तिगत विवरण र आर्थिक नोक्सानीमा असर पु¥याउन सक्ने देखिएको छ ।
जनचेतनाको अभाव : नेपालमा वामे सर्दै गरेको डिजिटल प्रविधिको विकास र त्यसको प्रयोगमा आमनागरिकमा चेतनाको अभाव देखिएको र त्यसले गर्दा प्रविधिको प्रयोगमा विश्वासको कमी देखिन्छ । यसलाई आममानिसमा चेतनाको स्तरमा वृद्धि गर्दै विश्वास जगाउन जरुरी देखिन्छ ।
सामाजिक सञ्जालको अनधिकृत प्रयोग : विभिन्न किसिमका सामाजिक सञ्जाल र त्यसबाट हुने अनधिकृत फेक आई डी, इमेल स्क्याम कल, नक्कली वेबसाइट, चिट्ठा तथा पुरस्कारको लोभ र बनावटी अनुरोधले गर्दा ठगीका घटना बढेका छन् ।
साइबर सुरक्षा चुनौती र समाधानका उपाय
सरकारले नै साइबर सुरक्षाका विषयमा संरचना बलियो बनाई लागु गर्ने । साइबर अपराध र फ्रड कारोबार समस्या समाधानका लागि आवश्यक नीति बनाई लागु गर्ने । विभिन्न किसिमका जनचेतनामूलक कार्यव्रmम सञ्चालन गरी आमनागरिकलाई डिजिटल साक्षर बनाउने । उचित प्रविधिको विकासका लागि कर छुटसहित गुणस्तरीय सामानको आयातमा जोड दिने । प्रविधिको विकासका लागि वैदेशिक लगानी भित्र्याउन पहल गर्ने । अहिलेको क्षमतावान युवा पुस्तालाई प्रविधिको विकासमा योगदान पु¥याउन प्रोत्साहित गर्ने । अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरी प्राविधिक ज्ञानको आदानप्रदान र विकास गर्ने ।
आवश्यक सुझाव
नेपालमा आवश्यक प्रविधिको विकासका लागि विभिन्न किसिमका नीति तथा नियम, रणनीतिक योजना र तिनीहरूको कार्यान्वयन गर्न आवश्यक क्रियापलाप आवश्यक पर्छ । हाम्रो जस्तो विकासशील मुलुकका लागि डिजिटल प्रविधिको विकास गर्न तपसिलबमोजिमका उपाय अवलम्बन गर्न वाञ्छनीय छ ।
आवश्यक नीति तथा योजना निर्माण, डिजिटल पूर्वाधारको निर्माण र विकास, शिक्षा र अनुसन्धानको विकास, अधिकार प्राप्त युवा जनशक्तिको प्रयोग, निजी क्षेत्र र सरकारी क्षेत्रबिच समन्वय र सहकार्य, डिजिटल साक्षरता र जनचेतनामा विकास, अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य, साइबर सुरक्षा र कानुनी संरचना निर्माण, आवश्यकतामा आधारित प्रविधिको प्रयोग र प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्न आवश्यक छ ।
विगत केही वर्षदेखि नेपालमा डिजिटल प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । बैङ्किङ क्षेत्र, निजी क्षेत्र, सरकारी क्षेत्रमा अनलाइन भुक्तानी मोबाइल बैङ्किङको माध्यमबाट तीव्र गतिमा भइरहेको छ । यद्यपि ग्रामीण क्षेत्रमा इन्टरनेटको पहँचमा कमी तथा जनचेतना अभावका कारण अनलाइन भुक्तानी र प्राप्तिमा अझै पनि विश्वास बढेको देखिन्न । डिजिटल प्रविधि आधुनिक युगको आधारभूत आवश्यकता भइसकेको छ । प्रविधिले हाम्रो जीवनका हरेक क्षेत्रमा नयाँ सम्भावना र खोजीलाई अगाडि ल्याएको छ । प्रविधिको विश्वासिलो र दिगो प्रयोगले व्यक्तिगत, सामाजिक, आर्थिक तथा समग्र राष्ट्रको विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएको कुरालाई नकार्न सकिँदैन । तसर्थ सबै मिलेर डिजिटल प्रविधिको प्रयोग र विकासलाई अझ अगाडि बढाउँदै लैजानु पर्छ ।