• ११ पुस २०८१, बिहिबार

सडक दुर्घटना रोक्न संयन्त्र

blog

नेपालमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो छ । यात्रा सुरु गरेपछि गन्तव्य स्थानसम्म सुरक्षितसाथ पुगिन्छ भनेर ढुक्क भएर यात्रा गर्ने अवस्था छैन । तथ्याङ्क हेर्दा सडक दुर्घटनाको कारण प्रत्येक वर्ष सरदर साढे दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् भने करिब छ हजारभन्दा बढी गम्भीर घाइते हुने गरेका छन् । यस्ता दुर्घटनाबाट पीडित व्यक्ति तथा परिवारले भोग्नु परिरहेको दुःख, पीडा, मानसिक तनाव, साथै दुर्घटनापश्चात् यसको व्यवस्थापनमा लाग्ने राज्यको स्रोतसाधन, समय र आर्थिक क्षतिको मूल्याङ्कन गरिसाध्य छैन । बारम्बार समाचारमा आइरहने ठुला सडक दुर्घटनाको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नै नेपालको मान प्रतिष्ठामा आघात पुगिरहेको छ र पर्यटन प्रवर्धनमा समेत यसले असर पारिरहेको छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

दुर्घटना आफैँ हुने कुरा होइन । यो कुनै कारणले हुने हो । दुर्घटनाको कारण पत्ता लगाएर रोकथामको उपायलाई प्रभावकारी रूपले अवलम्बन गर्न सकिएमा दुर्घटना रोक्न सकिन्छ वा पूरै रोक्न नसके पनि न्यूनीकरण भने अवश्य गर्न सम्भव छ । कामहरू हुँदै नभएका होइनन् तर गरिएका यी कामहरू पर्याप्त छैनन् र सन्तोषजनक छैनन् भन्ने कुरा बारम्बार आइरहने दुर्घटनाका समाचारबाटै पुष्टि हुन्छ । यो क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । 

हाल नेपालमा समग्र सडक सुरक्षा हेर्ने कुनै जिम्मेवार निकाय छैन । जिम्मेवार निकाय भनिएको विद्यमान राष्ट्रिय सडक सुरक्षा परिषद्ले अपर्याप्त ऐन कानुनलगायतका विविध कारण देखाई प्रभावकारी तरिकाले काम गर्न सकिरहेको अवस्था छैन । सरकारले एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद् निर्माण गरी केन्द्रदेखि स्थानीय तहसम्म हेर्ने भरपर्दो र शक्तिशाली संयन्त्र निर्माण गर्नु पर्छ । यस्तै सङ्घ वा प्रदेशको संसद्मा वा कुनै पनि स्थानीय तहमा सडक सुरक्षाको एजेन्डामा कुनै छलफल हुने गरेको देखिँदैन । यसले गर्दा राज्यले दुर्घटनालाई सामान्य लिएको र यसको रोकथामका लागि खासै महìव नदिएको महसुस नागरिकमा भइरहेको छ । सडक दुर्घटना रोकथामको विषयलाई जनप्रतिनिधिले सर्वोच्च चासोको विषय बनाई यसलाई सङ्घीय संरचनाको हरेक तहमा छलफलको अनिवार्य एजेन्डा बनाउनु पर्छ ।

कतिपय यातायात कार्यालयमा कर्मचारी र बिचौलियासँगको मिलेमतोमा असक्षम व्यक्तिले पनि सवारी चालक अनुमति पत्र लिइरहेको कुरा विभिन्न सञ्चार माध्यमबाट आइरहेको हुन्छ । गत केही वर्षमा झन्डै एक लाखको सङ्ख्यामा नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको र केही व्यक्ति अनुसन्धानको दायरामा आएको कुरा पनि सञ्चार माध्यमा आएको थियो । जिम्मेवार निकायबाट हुने गरेका यस्ता गैरजिम्मेवार क्रियाकलाप रोक्नु पर्छ । नक्कली सवारीचालक अनुमतिपत्र पनि सडक दुर्घटनाको एउटा कारण हो । कतिपय ठुला दुर्घटनापश्चात् कार्यदल बनाएर अनुसन्धान गरिन्छ । दुर्घटना र रोकथाम बारेमा धेरै लेख पनि लेखिएको छ । केही व्यक्तिले सडक दुर्घटनाको विषयमा विद्यावारिधि पनि गरेका छन् । यस्ता अध्ययन अनुसन्धानबाट प्राप्त अमूल्य सुझावहरूलाई सरकारले उपलब्धिको रूपमा लिएर कार्यान्वयन गर्नुपर्ने हो तर त्यो भएको छैन । 

 अवस्था ठिक नभएका गाडीहरू जस्तै ब्रेक राम्रो नलाग्ने, साइड लाइटहरू नबल्ने, हर्न नलाग्ने तथा टायर खिइएर नाजुक अवस्था भइसकेका गाडीहरू पनि चलिरहेका हुन्छन । जहाँ पुगेर बिग्रिन्छ त्यही मर्मत गर्ने चलन छ । यसले गर्दा कुनै पनि बेला गाडीको यान्त्रिक गडबडी भएर दुर्घटना भइरहेको अवस्था छ । गाडीलाई सवारीमा लैजानुपूर्व अनिवार्य चेक जाँच गर्ने पद्धति बनाउनु पर्छ । त्यस्तै कुनै निश्चित समयको अन्तरालमा आधिकारिक निकायबाट पनि उक्त कार्य भए नभएको अनुगमन गर्ने पद्धति बनाएर नियन्त्रण गर्नु पर्छ । प्रायः पहाडी बस्तीहरूमा बनेका सडकको सुरक्षा मापदण्ड पुगेको हुँदैन । जस्तै कतिपय ठाउँमा घुम्ती पुग्दैन, कतै धेरै भिराला छन भने कतिपय धेरै साँघुरा छन् । सडकहरूमा पहिरो तथा ढुङ्गा खसेर दुर्घटना हुने अवस्था हुन्छ । सडक बन्न नपाउँदै गाडी कुद्न थालिसक्छन, कसैले वास्ता गर्दैन । यस्ता सडकमा सवारीसाधन चलाउनुपूर्व सम्बन्धित निकायले स्थानीय सरकारको समेत उपस्थितिमा सडकको अवस्था चेक जाँच गरी, गाडी चलाउन उपयुक्त भएको प्रमाणित गरेर मात्र गाडी चलाउन अनुमति दिने पद्धति बनाउनु पर्छ ।

प्रायः कच्ची सडकमा पानी कटाउने नाला (साइड ड्रेन) नै हुँदैन भने कति ठाउँमा नाला भएर पनि त्यसको मर्मतसम्भार हुन नसकेर सञ्चालनमा हुँदैन र पानी सडकबाट बगिरहेको हुन्छ, अनि सडक हिलो भएर गाडी चिप्लिएर दुर्घटना हुने गर्छ । साथै चिप्लो माटो÷रातो माटो आदि भएका भिराला सडकमा बर्सातमा आकाशको पानीले पनि सडक चिप्लो भएर दुर्घटना भइरहेको हुन्छ । कम खर्चमा सामान्य मर्मतसम्भारबाट हुने कामहरू नभएर ठुला दुर्घटनाहरू भइरहेका छन् । यस्ता दुर्घटना सडकको नियमित अनुगमन र मर्मत सम्भार गरी कम गर्न सकिन्छ । त्यसका लागि स्थानीय तहसमेत समेट्ने गरी स्थायी संयन्त्रको निर्माण गरिनु पर्छ । ८० प्रतिशतभन्दा बढी सवारी दुर्घटना मापसे, तीव्र गति तथा मोबाइलको प्रयोग आदि चालकको लापरबाहीका कारण हुने गरेको अध्ययनबाट पुष्टि भएकाले ट्राफिक नियममा कडाइ गरी यसको नियन्त्रण गर्नु पर्छ । सहरी क्षेत्र तथा उपत्यकाभन्दा बाहिर यो विषयमा धेरै नै फितलो अवस्था भएको र ठुला दुर्घटना पनि सहर तथा उपत्यका बाहिर नै हुने गरेकाले आवश्यक ठाउँहरूमा थप जनशक्ति व्यवस्थापन गरी यस कामलाई उच्च प्राथमिकता दिएर कडाइ गरिनु पर्छ ।

उपत्यका बाहिर बलेरो गाडी, पिकअप, ट्रक, ट्याक्टर आदिमा पछाडि मान्छे चढाउने अझ सामान माथि मान्छे राखेर चलाउने गरेको कारणले कतिपय दुर्घटना भइरहेको हुन्छ । कतिपय ठाउँमा सार्वजनिक बस आदि सवारीसाधनमा तोकिएको सिटभन्दा बढी मान्छे खाँदेर हालेका हुन्छन् । यी कारणबाट गाडी ओभर लोड भएर दुर्घटनाको जोखिम बढेको हुन्छ । यस्तो कार्य कडाइका साथ नियन्त्रण गरिनु पर्छ । चालकको स्वास्थ्यसम्बन्धी जटिल समस्या रहेका हुन सक्छन् । सवारी चालकले मानसिक तथा शारीरिक अवस्था ठिक नभएमा कुनै पनि बेला सवारी दुर्घटना पर्न सक्छ । यस्तो अवस्था आउन नदिन सवारीचालकले नियमित स्वास्थ्य जाँच, आँखा जाँच आदि अनिवार्य गर्ने र सवारी चलाउनयोग्य भएमा मात्र काममा लाउने गरी नियम बनाई लागु गर्नु पर्छ । यस्तै एउटै चालकले लामो समयसम्म लगातार गाडी चलाउँदा चालक थाकेर, निदाएर पनि दुर्घटना भइरहेको अवस्था छ । नेपाल श्रम ऐन अनुसार गाडी चलाउने अवधि, आराम गर्ने समय आदि व्यवस्थामा कडाइ गर्ने र चालकको ड्युटी अदल बदल गर्ने व्यवस्था कडाइका साथ लागु गर्नु पर्छ ।

चालकलाई निश्चित समयको अन्तरालमा ट्राफिक ऐन नियम कानुनसम्बन्धी पुनर्ताजगी तालिम तथा सुरक्षित ड्राइभिङसम्बन्धी नियमित प्रशिक्षण गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गरेमा अथवा आफ्नो गल्ती भएर कसैको ज्यान गएमा वा अङ्गभङ्ग भएमा के कस्तो सजाय भोग्नु पर्छ ? के कस्तो क्षतिपूर्ति बेहोर्नु पर्छ भन्ने विषयमा सुसूचित गर्नु पर्छ । यस्ता सचेतनासम्बन्धी कार्यक्रम तथा सवारीसम्बन्धी नियम कानुनहरूलाई स्थानीय रेडियोहरू तथा हरेक सञ्चार माध्यम प्रयोग गरी व्यापक प्रसारण गर्नु पर्छ । यसले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्छ । कतिपय सडकमा सुरक्षा सङ्केतहरू पर्याप्त छैनन् । कतिपय भएको ठाउँमा पनि राम्रोसँग मर्मत नभएको अवस्था छ । त्यस्तै सुरक्षाबारे पनि कतिपय आवश्यक ठाउँमा समेत नभएको र भएका पनि कतिपय उल्लेखित प्रयोजनका लागि भरपर्दा छैनन् । पर्याप्त सडक सुरक्षा सङ्केत भएमा तथा सेफ्टी व्यारियर निर्माण गरिएमा सडक दुर्घटना कम हुन सक्छ ।

  

Author

ज्ञानबहादुर कार्की