प्रकृति भनेको पञ्चतत्व हुन् । जल, स्थल, वायु, आकाश र तेज यी प्रकृतिका निर्जीव तत्व हुन् । यसकै आधारमा बनेका जीव प्राकृतिक प्राणधारी जीव जीवित प्राकृतिक तत्व हुन् । हाम्रो यो पञ्चतत्वले बनेको शरीर प्रकृतिसँग समन्वय भएका कारणले अङ्गुष्ठ (बुढी औँला) लाई आगो तेज, तर्जनी (चोर औँला) लाई वायु, माहिली (मध्यम औँला) लाई आकाश, अनामिका (साहिली औँला) लाई पृथ्वी, कनिष्ठा (कान्छी औँला) लाई जल मानिएका छन् ।
यो प्रकृति सौन्दर्य हुनुमा प्रकृतिकै योगदान छ । प्रकृति नित्य चक्रको दृश्य हो । यसैको काखमा बसेर हामीले ज्ञान विज्ञानको कुरा सिकेका छौँ । त्यसैले प्रकृति हाम्रो शिक्षक हो । मानवले राम्रो कुरा सिकेर राम्रो मात्र गरिराखेको छैन, नराम्रो पनि गरिराखेका छन् । पृथ्वीमा अनेकौँ क्षेप्यास्त्र बम प्रयोग गरेर शक्तिलाई दुरुपयोग गरेर प्रकृतिलाई कुरुप बनाइराखेका छन् । पृथ्वी हाम्रो जन्मभूमि आमा हुन् । माकुराको बच्चाले आफ्नै माउलाई मारेर खाए झैँ हामीले पनि विभिन्न अस्त्र प्रयोग गरेर जन्मभूमि आमालाई घाइते बनाइराखेका छौं । यो २१ औँ शताब्दीमा आएर विकसित देशले अस्त्रशस्त्र बनाउनेमा होडबाजी गरिरहेका छन् । त्यसैले जैविक हतियार आणविक हतियार अनेकौँ यन्त्र उपकरण बनाउँदै गएकाले मानवबाट मानव असुरक्षित महसुस गरिरहेका छन् । यसबाट हामीलाई फलामको खियाले फलामलाई खाए झैँ हामी मानिसले मानिसलाई नै नाश हुने काम गरिराखेका छौँ । परमाणु बमले एक देशबाट अर्को देश भयले त्रसित सशङ्कित हुनु परेको छ । शक्तिशाली राष्ट्रको कुनै सनकी नेताको झोक चल्यो भने कुनै अर्को देशमा आणविक हतियार प्रयोग गरिन्छ । एउटाले आणविक हतियार प्रयोग गरेपछि अर्को राष्ट्र चुप लागेर बस्दैन । यही कारणले प्रायः मानिसले पृथ्वी नै असुरक्षित भएको महसुस गरिराखेका छन् । मानव प्रकृतिबाट सृष्टि भएर प्रकृतिलाई नै क्षय हुने काम गरिराखेका छन् । कतिपय मुलुकमा गृह युद्धका कारण त्यहाँ भोकमरी भइराखेका छन् ।
प्रकृतिलाई हामी आवश्यक नभए पनि हामीलाई प्रकृति अपरिहार्य छ । हामी प्रकृतिबिना बाँच्न नसक्ने भएकाले प्रकृति हाम्रो प्राण हो । त्यसैले प्रकृतिलाई हामीले संरक्षण गर्नु पर्छ । प्रकृतिले पनि हाम्रो जीवनमा नकारात्मक र सकारात्मक भावनात्मक असर पारिराखेको हुन्छ । यो प्रकृतिको शक्ति हो । प्राकृतिक शक्ति स्वयम्मै हुन्छ । हामीमा शक्ति व्यक्तिले गर्ने कामको क्षमता अनुसार सामथ्र्य हुन्छ । सामथ्र्यबाट हुने असर नै शक्ति हो । यो सामथ्र्यमा हुने शक्तिको स्रोत प्रकृति हो । ‘द जोन अफ साइलेन्ट मेक्सिको’ मा घडी, मोबाइल, दिशा छुट्याउने कम्पास, टेलिफोन, कम्प्युटर, इन्टरनेट इलेक्ट्रिक म्यागनेट फ्रिक्वेन्सीले काम गर्दैन, विद्युतीय उपकरण सबै बन्द हुन्छ तर किन बन्द हुन्छ पत्ता लाग्न सकेको छैन ।
प्रकृति नियमलाई जति बुझे पनि बुझाइ कम हुन्छ । यसबारे केही नबुझे पनि सबैथोक बुझे जस्तै हुन्छ ।
प्रकृति र सम्पूर्ण प्राणी नै एक आपसमा परिपूरक भएकाले प्रकृतिलाई उपभोग गरेर मात्र जीवित भएका छन् । सबै प्राणी प्रकृतिको आधार भएकाले सबै प्राणीको प्रकृति साझा हो । हामी सबै प्राणीको वरिपरि प्रकृति विद्यमान भएकाले हामी सबै प्रकृतिको अंश हो । प्रकृतिमा सृष्टि अनुपम तरिकाले मिलेको छ । प्रकृति आफैँमा सुन्दर छ, प्रकृतिलाई ईश्वरको देन मान्नु पर्छ । वर्षायाममा उब्जनी हुने सब्जी वर्षाकालमै मिठो हुने हिउँदमा उब्जनी हुने हिउँदैमा मिठो लाग्ने हुन्छ । हाम्रो शरीरमा पनि कानको बनावट अगाडि मान्छेले कुरा गरेको उच्चारित न्यूनतम आवाजलाई कानको बाहिरी भागले पहाडलाई हावाले छेके जस्तै गरी छेकेर कानको भित्र पु¥याइ हामीले सुन्न पाएका छौँ । यसरी नै हाम्रो नाक मुख आँखा सबै मिलिमत हुन् । हामीले खण्डन गर्न नसक्ने गरी शरीरको बनावट मिल्नु, यो ईश्वरको कलाकारिता हो । यो ईश्वरको देन हो । यो प्रकृतिको अंश हाम्रो शरीरलाई उचित तरिकाले प्रयोग गर्न जान्यो भने हामी निरोगी भई सहज रूपमा बाँच्न सक्छौँ । प्राकृतिक दृश्य अवलोकन गरी मनलाई शान्त र शीतलता गरी आनन्दको अनुभूति गर्न सकिन्छ । तनावले पिरोलेको बेला मनको अन्तहीन प्रस्थानबाट प्रकृतिको परिकल्पना गरी तनावलाई कम गर्न सक्छौँ । यसबाट सिर्जनात्मक क्रियाकलाप गर्न मदत पुग्छ ।
एक दिन यशोदाले बालकलाई काखमा राखेर दुध खुवाइरहनुभएको थियो र मुसुमुसु हाँसिरहनुभएको थियो । भगवान् श्रीकृष्णले हाइ गरी मुख खोल्नुभयो । यशोदाले श्रीकृष्णको मुखमा आकाश, अन्तरिक्ष, ज्योतिमण्डल, सूर्य चन्द्रमा, अग्नि, वायु, समुद्र, पर्वत, नदी, वन र चराचर प्राणी जगत अटाएको देख्नुभयो । आफ्नो छोराको मुखमा एकाएक सारा जगत्लाई देखेर आश्चर्यचकित भई उहाँले आँखा नै बन्द गर्नुभयो । यसबाट हामी के बुझ्न सक्छौँ भने प्राणी र प्रकृतिबिच नङ र मासु झैँ परिपूरक समन्वय छ । प्रकृति र हाम्रो स्वास्थ्य अनमेल भएमा हामीलाई रोग लाग्ने भएकाले पूर्वजहरूले मन्दिर वरिपरि मन्दिरको समीपमा जाँदा जुत्ता खोलेर नाङ्गो पाउले ईश्वर पूजा गर्न सिकाउनुभएको हो । मन्दिरमा पूजापाठ गर्ने भएकाले मन्दिरको वरिपरि सत्कर्मको उर्जा छरिएको हुन्छ । यसको अर्थ प्रकृतिको पञ्चतìवसँग हाम्रो शरीर समन्वय होस् भन्ने हो । त्यो सकारात्मक ऊर्जा हाम्रो शरीरमा चलायमान होस् । जसबाट अनेकौँ रोग लाग्नबाट बच्न सकिन्छ । यसको ज्वलन्त उदाहरण मौसम परिवर्तन हुने बित्तिकै हामीलाई रुघा लाग्ने, ज्वरो आउने र खोकी लाग्ने जस्तो हुन्छ । मौसम परिवर्तन हुँदा हाम्रो शरीरलाई मौसमले प्रत्यक्ष असर पारेको हुन्छ । बिस्तारै मौसमसँग हाम्रो शरीर मेल खाँदै गएपछि शरीर सामान्य अवस्थामा आउँछ । प्रकृतिलाई हेलचेक्र्याइँ ग¥यौँ भने प्रकृतिले पनि हामीलाई दर्दनाक सङ्कट निमत्याइदिन सक्छ । प्रकृति अनियमित भयो भने वा दूषित वातावरणले अनेकौँ खतराका रोग मात्र नभई प्राकृतिक प्रकोप हुन सक्छ । जसले गर्दा जनजीवन कष्टकर हुन जान्छ ।
खेतबारीमा काम गरिरहनुभएका हाम्रा पूर्वजहरू अहिलेको तुलनामा धैरै स्वस्थ रहनुहुन्थ्यो । खेतबारीमा काम गर्दा माटोसँग खेलिरहँदा पञ्चतìवबाट बनेको शरीर पञ्चतत्वसँग हाम्रो शरीर समन्वय भइरहेको हुन्छ । यसबाट उच्च रक्तचाप र मधुमेह रोगबाट वञ्चित हुन सकेका छन् । अहिलेको तुलनामा पहिले मानिसमा रोग पनि त्यति लाग्ने थिएन । अहिले सुविधायुक्त वैज्ञानिक युगमा दुविधा पनि असीम नै छ । यो प्रकृतिको प्रवृत्ति कालखण्ड अनुरूप परिवर्तन भएकोले त्यही अनुसार मानिसको विचार परिवर्तन हँुदै आयो । विचारले मानिसलाई सुविधाको चाहना हुन थाल्यो । सुविधाले मानिसलाई अल्छी बनायो, अल्छीले रोग निम्त्यायो । रोग हुनु दुविधा हुनु हो, दुविधा सुविधाले निम्त्याएको मान्नु पर्छ ।
प्रकृतिको प्रवृत्ति कालखण्ड अनुरूप परिवर्तन हुने प्रक्रियालाई वर्णन गर्न सकिँदैन । कालखण्डलाई चार भागमा विभाजन गरिएको छ । सत्ययुग, त्रैतायुग, द्वापरयुग, कलीयुग । त्यस्तै एक दिनमा पनि बिहान, दिउसो, साँझ, बेलुका । मानिसले समयलाई यसरी नाम राखी छुट्याएको छ । हामी मानिसमा पनि जन्मिँदा बच्चा, बालक, युवा र वृद्ध भएर आफ्नो जीवन बिताएको हुन्छ । प्रत्येक समयमा बेग्लाबेग्लै घटना गुजारेको हुन्छ । जब हाम्रो प्राण त्याग भई जीवन अन्त्य हुन्छ । प्रकृतिसँग समन्वय छुट्छ । ‘आफू मरे पछि डुमै राजा’ भने झैँ सांसारिक व्यवहारसँग समन्वय टुट्छ । यो प्रकृतिको प्रवृत्ति हो ।