गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कला, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्व मञ्चमा अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञ सभा उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका मन्त्री पाण्डेले भन्नुभयो, “वर्तमान अवस्थामा न्यूनतम स्रोतसाधनबिच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नु पर्छ भन्नेमा हामीले सोच्नु पर्छ ।” मन्त्रालयले ललितकलाको विकासका लागि सक्दो सहयोग गर्ने पनि मन्त्री पाण्डेले बताउनुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञ सभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “युगको गतिशीलता अनुसार प्रतिष्ठानले काम गर्नुपर्ने छ । त्यसकारण हामी मनोगत र वस्तुगत तयारी गरी अघि बढ्ने छौँ । सांस्कृतिक क्षेत्रको पुनर्ताजगीका लागि प्राज्ञिक क्षेत्रले बोध गर्ने समय अहिले नै हो ।” नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै केन्द्रीय प्रतिष्ठानमध्ये ललितकला प्रज्ञा–प्रतिष्ठानको काम अघि रहेको बताउनुभयो । उहाँले प्राज्ञ सभाले आगामी दिनका लागि राम्रो निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठान स्थापनाकालदेखि हालसम्मको अवस्थामा निरन्तर परिपक्व हुँदै गएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानले ललितकला क्षेत्रको पुनर्जागरणका लागि ललितकलालाई स्थानीय तहदेखि नै सक्रिय पार्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति, प्राज्ञ परिषद् सदस्यलगायतको उपस्थिति थियो ।
प्राज्ञ सभाको बन्द सत्रमा सदस्यसचिवले सभामा प्रस्तुत गरेको प्रस्तावित बजेटको प्रतिवेदन, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली, २०७६ को संशोधन, कला विधाका परिभाषा र आगामी कार्यक्रमिक योजनालगायतका विषयमा छलफल तथा निर्णय गरिएको थियो ।