गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, पर्यावरण, इतिहासलगायतका क्षेत्रमा योगदान पु¥याएका विभिन्न सर्जकलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९० औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्राडा जगदीशचन्द्र रेग्मी, सुश्री भद्रकुमारी घले र कुन्ता शर्मालाई पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्राडा जगदीशचन्द्र रेग्मीलाई षडानन्द राष्ट्रिय पुरस्कारसहित एक लाख रुपियाँ, साहित्यकार सुश्री भद्रकुमारी घले र कुन्ता शर्मालाई क्रमशः षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कारसहित ५१ हजार रुपियाँ र षडानन्द क्षेत्रीय पुरस्कारसहित ५१ हजार रुपियाँ साथै सम्मानपत्र प्रदान गरियो । प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले पुरस्कार प्रदान गर्दै शिक्षाको प्रवर्धनका लागि जीवन अर्पण गर्नुभएका षडानन्दको योगदानको कदर र स्मरण हुनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा निर्मला पोखरेलले प्राडा रेग्मीका योगदानबारे चर्चा गर्दै नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र इतिहासको क्षेत्रमा खोज अनुसन्धानसहित पुस्तक प्रकाशन गरेर समाजलाई योगदान पु¥याएको बताउनुभयो ।
कार्यक्रममा सुश्री भद्रकुमारी घले र कुन्ता शर्माको व्यक्तित्व र जीवनीमाथि चर्चा गरिएको थियो । प्रतिष्ठानका सचिव प्राडा बद्रीविशाल भट्टराईले नेपाली साहित्य, शिक्षा र संस्कृतिको उत्थानका लागि योगदान दिनुभएका षडानन्दको कृतिको प्रचार प्रवर्धनका लागि प्रतिष्ठानले पुरस्कार, सम्मान, पुस्तक प्रकाशनलगायत विविध काम गरिरहेको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । षडानन्दले भोजपुर दिङ्लामा विसं १९३२ मा संस्कृत विद्यालय स्थापना गरेर तत्कालीन समाजका लागि शिक्षाको ज्योति छर्नुभएको थियो ।