गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।
“प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु,” विज्ञप्तिमा उल्लेख छ ।
आदर्श प्रोत्साहित गर्ने अवसर : उपराष्ट्रपति
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीको परापूर्वकालदेखि नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहँदै आएको बताउनुभएको छ । विवाहपञ्चमी २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विवाहपञ्चमीले प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावना उजागर र अनुसरण गर्न सहयोग पुर्याउने बताउनुभयो ।
“समाजमा सत्यको आदर्शलाई प्रोत्साहित गर्ने अवसरका रूपमा यसलाई लिन सक्नु पर्छ,” यादवले बिहीबार जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्य अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस् ।”