काठमाडौँ, मङ्सिर २० गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट यसअघिको बक्यौता रकम पाएका छन् ।
एन्फाले लिगका १४ वटै क्लबलाई यसअघि बाँकी रहेको रकम उपलब्ध गराएको उल्लेख गरेको छ । एन्फाले प्रत्येक क्लबलाई ६ लाख ५० हजार बाँकी रुपियाँ निकासा गरेको हो ।
एन्फाले आगामी माघ १३ बाट सुरु हुने ‘बी’ डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपियाँ दिने निर्णय गरेको छ । जसमा ६ क्लबले आठ लाख ७० हजार रुपियाँ लिइसकेको एन्फाले जनाएको छ । यसअघि १० क्लबहरूले एन्फाले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका थिए ।
एन्फाले ‘बी’ डिभिजन लिग खेल्न मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नु पर्ने र पुस १३ गते लिगको खेल तालिका सार्वजनिक गरिने जनाएको छ । यसअघि २०७८ सालमा भएको ‘बी’ डिभिजन लिग विभिन्न बहानामा रद्द हुँदै आएको थियो ।