• ८ पुस २०८१, सोमबार

एनपीएल : सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

blog

रन बनाएपछि सुदूरपश्चिमका खेलाडी ।

काठमाडौँ,  मङ्सिर २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो । 

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाउनुभयो । 

बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो । 

दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रोे जित निकाल्ने दाउमा छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँ पनि दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।