गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २० गते । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर अन्जिला तुम्बापो सुब्बा युरोपमा खेल्न जान लागेकोमा बधाई दिनुभएको छ । सुब्बाको जीवनीमा बनेको चलचित्र अन्जिलाबारे आयोजना गरिएको अन्तरसंवादमा बोल्दै चेम्जोङले फुटबल खेलाडीका विषयमा चलचित्र बन्नु हर्षको विषय भएको प्रतिक्रिया दिनुभयो ।
अन्जिला ग्रिसको महिला फुटबल लिगमा खेल्ने क्लब निस अत्रोमितोउका लागि अनुबन्धित हुनुभएको छ । उहाँले स्विडिस एजेन्टमार्फत निस अत्रोमितोउसँग सेप्टेम्बर महिनामा सम्झौता गर्नुभएको थियो । भिसा प्रक्रिया र साफ महिला च्याम्पियनसिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले अञ्जिलाले ग्रिक सुपर लिगका सुरुवाती खेल गुमाउनुभएको थियो । उहाँले क्लबसँग २०२५ मेसम्मका लागि हस्ताक्षर गर्नुभएको हो । उहाँ चलचित्रको प्रिमियरका लागि शुक्रबार हङकङ प्रस्थान गर्ने र उतैबाट डिसेम्बर १२ मा ग्रिसको राजधानी एजेन्स जाने कार्यक्रम रहेको छ । १२ टिम सहभागी ग्रिसको लिगमा अन्जिला अनुबन्धित क्लब पाँच खेलपछि अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ । अन्तरसंवाद कार्यक्रममा उपस्थित अन्जिलाले भन्नुभयो, “सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्य नेपाली खेलाडीका लागि युरोपेली फुटबलको ढोका खोल्न चाहन्छु ।”
कार्यक्रममा सङ्घीय सांसद सुहाङ नेम्वाङले अन्जिलाले खेलेरै जीवन बनाउन सकिन्छ भन्ने प्रमाणित गरेको बताउनुभयो । निर्देशक मिलन चाम्सले चलचित्र निकै रोचक रहेको बताउँदै अञ्जिलाको सङ्घर्ष र सफलताका कुरा कथामा समेटिएको बताउनुभयो ।