सङ्गठित संस्थाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न पुँजीको आवश्यकता पर्छ । उक्त पुँजीको आवश्यकता पूर्ति गर्न सर्वसाधारणमा छरिएको रकम सङ्कलन गर्नका लागि सार्वजनिक रूपमा धितोपत्र निष्कासन गरी आफूलाई आवश्यक परेको दीर्घकालीन पुँजी प्राप्त गर्ने बजारलाई धितोपत्रको प्राथमिक बजार भनिन्छ । सङ्गठित संस्थाले सर्वसाधारणलाई प्राथमिक बजारमार्फत सार्वजनिक निष्कासन गरिने धितोपत्रहरू नेपाल धितोपत्र बोर्डमा दर्ता गराई निष्कासन अनुमति प्राप्त गर्नु पर्छ ।
कम्पनीको सेयर लिनु भनेको बैङ्कमा पैसा राख्नुभन्दा भिन्न प्रकृतिको लगानी हो । बैङ्क तथा वित्तीय संस्थामा राखेको पैसामा ब्याज प्राप्त गर्न सकिन्छ । मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको रकम चाहेको बखत झिक्न सकिन्छ । कम्पनीको सेयरमा गरिएको लगानीबापत कम्पनीले गर्ने नाफाबाट लाभांशको रूपमा प्राप्त गर्न सकिन्छ । सेयरको कुनै समयावधि हुँदैन कम्पनी रहेसम्म स्वामित्व रहिरहन्छ । कुनै पनि व्यक्ति तथा संस्थालाई सेयरमा गरिएको लगानीको रकम आवश्यक पर्न सक्छ । आवश्यक परेका बखत सेयर बिक्री गर्नका लागि राज्यले स्टक एक्सचेन्जको व्यवस्था गरी दिएको हुन्छ, जहाँ गएर सेयरधनीहरूले आफूसँग भएको सेयर किन्ने मानिस भएको खण्डमा बिक्री गर्न सक्छन् । यस्तो बजारलाई सेयरको दोस्रो बजार भनिन्छ । प्राथमिक बजारमा सेयर प्राप्त गर्न नसकेका र सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले दोस्रो बजारबाट सेयर खरिद गर्न सक्छन् । दोस्रो बजारको व्यवस्थाले सेयर जस्तो लामो अवधिको वित्तीय उपकरणलाई नगदमा परिणत गराउन सक्ने अवसर प्रदान गर्छ । दोस्रो बजारको व्यवस्था हुँदैनथ्यो भने मानिस प्राथमिक बजारमा रहेको सेयर नकिन्न सक्थे किनकि उक्त उपकरणलाई चाहेको बखत नगदमा परिणत गर्न कठिन हुन सक्थ्यो । सेयर जस्तो सम्पत्तिलाई आवश्यक परेको बखत बिक्री गर्न सकिने दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज नहुने हो भन्ने पुँजी बजारको विकास हुन सक्दैन । नेपाल स्टक एक्सचेन्ज नै सेयरको खरिद बिक्री गर्ने एक मात्र दोस्रो बजार हो ।
धितोपत्रको प्राथमिक बजारमा आस्वा तथा सिआस्वा प्रणाली एवं दोस्रो बजारमा नट्स प्रणाली लागु भएपश्चात् सहजताका साथ धितोपत्र कारोबार गर्न सक्ने अवस्था बन्दा धितोपत्रको दुवै बजारमा लगानीकर्ताहरूको सङ्ख्या उल्लेख मात्रामा बढेको देखिन्छ । प्रारम्भिक सार्वजनिक निष्कासन, थप सार्वजनिक निष्कासन, हकप्रद सेयर निष्कासन, ऋणपत्र निष्कासन सामूहिक तथा विशिष्टीकृत लगानी कोषको योजनालगायत बोनस सेयर निष्कासन आदि पर्छन् । लगानीकर्ताले लगानी गरेको सेयर तथा वित्तीय उपकरणको कारोबार हुने दोस्रो बजारको परिदृश्य पछिल्लो समय घट्दो दरमा सञ्चालनमा रहेको छ । विभिन्न कालखण्डमा सेयर बजारको उत्तार चढाव भइरहेको मानिन्छ । कुन अवस्थामा सेयर मूल्य बढ्न सक्छ र कुन अवस्थामा बढ्न सक्दैन भन्ने विषय कुनै मापदण्ड भएको मानिँदैन नेपालको दोस्रो बजारमा । उदाहरणका लागि कुनै पनि कम्पनीको लाभांश, बोनस सेयर, नाफा तथा वित्तीय सुचाङ्कको अवस्था कमजोर छ तर तिनको मूल्य बजारमा आकासिएको छ ।
यसरी दोस्रो बजारमा हुने कारोबारको के र कुन अवस्थाले काम गर्न सकिएन, किन भएन भन्ने चासो सर्वसाधारण लगानीकर्ता, संस्थागत लगानीकर्ता र सम्बन्धित पक्ष तथा नेपाल सरकार अर्थमन्त्रालय सबैलाई एकसाथ बढेको देखिन्छ । यही चासो लिने क्रममा नेपाल स्टक एक्सचेन्जले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब २३ करोड र भदौ महिनामा मात्र दुई अर्ब २७ करोड राजस्व सङ्कलन बुझाएको र साउनको अन्तिम साता नेप्से ३०४० मा पुगेकोमा आश्विनको पहिलो हप्ताको अन्त्यतिर २५८० मा झर्न पुग्यो । पुँजी बजार करिब ३० अर्बको हाराहारीमा कारोबार भएको थियो । पछिल्लो समय ५–६ अर्बको हाराहारीमा पुगेकोमा यस्तो हलचल कसरी हुन पुग्यो ? जहाँ सरकारको अवस्था सामान्य तथा सहयोगी सरकार छ, निक्षेपको ब्याजदर तथा कर्जाको ब्याजदर समेत एकल अङ्कमा छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता प्रशस्तै छ ।
लगानीका अन्य क्षेत्रमा पनि लगानी भएको देखिँदैन तर पनि धितोपत्रको दोस्रो बजारमा कारोबार कम हुँदै गयो भन्ने जिज्ञासा अर्थ मन्त्रालयलाई लागेको देखिन्छ । अर्थ मन्त्रालयको जिज्ञासा यी विषयमा रहेको देखिन्छ । भदौ महिनाको अन्तिम दिन १२ बजेसम्म टिएमएस चलेन र यो नचल्नु वा काम नगर्नुले यो प्रणाली कतिखेर काम गर्ने र कतिखेर नगर्ने यो किन भइरहेको छ ? टिएमएसले कति समयसम्म धान्न सक्छ ? हाम्रो आवश्यकतालाई पूरा गर्न सक्छ ? गुणस्तरीय प्रणालीको विकास पो गर्नु पर्छ कि ? विगतमा कर्जामा ब्याजदर बढी भयो भन्ने लगानीकर्ताको गुनासो रहन्थ्यो तर त्यो चाहना पनि पूरा भएको छ जहाँ कर्जाको ब्याजदर वाञ्छित सिमामा रहेको छ, निक्षेपको ब्याजदर न्यून छ । यस्तो अवस्थामा ब्याजदर र सेयर लगानीको सम्बन्ध नकारात्मक तथा उल्टो सम्बन्ध रहनुपर्ने यो किन भइरहेको छैन ? सेयरमा लगानी गर्ने लगानीकर्ताहरूको गोपनीयता कति सुरक्षित हुन सकेको छ, छैन ? वा कति सुरक्षित छ ? यस्तै आमचर्चा हुने गरेको विषय इनसाइडर टेड्रिङको विषय, कर रेटिङको विषय कस्तो छ ? सामाजिक सञ्जाल प्रयोग गरेर लगानीकर्ताहरू उत्साहित रहेका छन् ? यस्ता प्रवृत्तिको भूमिका के र कस्तो छ ? एकातिर सरकारसँग यस्ता जिज्ञासा रहेका छन् भने अर्कोतर्पm नेप्से, धितोपत्र बोर्ड, अर्थ मन्त्रालयसम्मको प्रयास पर्याप्त छन् छैनन् ? छैनन् भने के गर्नु पर्छ ? यस्ता जिज्ञासाहरूको अलावा नेतृत्वलाई निर्देशितसमेत दिइएको छ ।
अर्थ मन्त्रालयबाट नेप्सेको नेतृत्वले सरोकारवालाहरूसँग परामर्श गर्ने, पारदर्शी ढङ्गले छलफल गर्ने, सुझाव लिने, जायज सुझावलाई ग्रहण गर्ने अन्य सुझाव सम्मानपूर्वक सुरक्षित राख्ने, प्रविधिको क्षेत्रमा के गर्नु जरुरी छ ? प्रावधिक अपडेट गर्नु छ भने समय सिमाको क्यालेन्डरसहित योजना बनाएर एउटा टुङ्गोमा पुग्नु पर्छ । कार्यरत जनशक्ति व्यवस्थापनको अवस्था कस्तो छ ? व्यवस्थापनका अपूरा पक्ष छन् भने त्यसको पनि योजना बनाउनु पर्छ । गुणस्तरीय सेवाका लागि आवश्यक पर्ने औजारहरू प्रयोग भएका छन् त ? लामो समयदेखि चर्चामा आएका औजारहरू प्रयोग गर्न सकिरहेका छैनौँ भने कहिलेसम्म गर्न सक्छौँ ? सक्दैनौँ ? लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानीलाई सुरक्षित गर्ने र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्ने यो कुराको प्रत्याभूति हामी कसरी गर्ने ? पुँजी बजारलाई दिगो, भरपर्दो र विश्वसनीय कसरी बनाउने ? यी प्रश्नहरू धितोपत्र बोर्ड नेप्से, अर्थ मन्त्रालय सबैप्रति लक्षित छन् । हामी कोही पनि यी प्रश्नको दायराभन्दा पर छैनौँ । यी प्रश्नहरूको शिघ्र र प्रभावकारी समाधानसहित पुँजी बजारमा प्रस्तुत हुनु पर्छ । नेतृत्वले विलम्ब गर्ने, नकारात्मक प्रवृत्तिहरू हेरेर बस्ने, कमजोरी रहन दिने छुट कसैलाई छैन । नेतृत्वले बिना विलम्ब अहिले देखिएका समस्या, नकारात्मक प्रवृत्ति, आवश्यकताहरू ती चिजहरूलाई समाधान गरी प्रविधिमा, जनशक्ति व्यवस्थापन र पुँजी बजारको दिगो र भरपर्दो स्वस्थ विकासका लागि के गर्छौं भन्ने विषयमा योजनाबद्ध ढङ्गले अगाडि बढ्नु पर्छ ।
पुँजी बजारलाई कही कसैले अवाञ्छित तरिकाले प्रभावित गर्न खोजिरहेको छ भने त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नु पर्छ । पुँजी बजारलाई कसैले पनि दुरुपयोग नगरोस्, यसको विकासमा कसैले पनि प्रतिकूल प्रभाव पार्ने कुनै पनि प्रयास प्रति अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से कसैले पनि त्यसप्रति नजर अन्दाज गर्न हुँदैन । यसप्रति सबैको ध्यान जानु पर्छ । पुँजी बजारको क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने सम्भावना रहेको छ । लगानीकर्ताहरूले सरकारलाई विश्वास गरेको विषय विगतले पनि देखिएको छ । सरकार सधैँ अर्थतन्त्रको ऐनाको रूपमा रहेको पुँजी बजारको दिगो र भरपर्दो विकासका पक्षमा रहेको छ । पुँजी बजारमा भएका विकृतिहरूलाई सूक्ष्म रूपले विश्लेषण गर्दै चाल्नु पर्ने कदम तथा प्रयासहरूलाई बिना विलम्ब धितोपत्र बोर्ड, नेप्से सिडिएससीलगायतलाई निर्देशन दिइएको र अर्थ मन्त्रालय पनि यस विषयमा संवेदनशील रहेको पाइएको छ ।
अन्त्यमा अबदेखि कुनै पनि अवाञ्छित क्रियाकलापले स्थान पाउनु हुँदैन । पर्दाभित्र तथा बाहिर कसैले कोसिस गरेको खण्डमा त्यस्ता प्रवृत्तिहरू निरुत्साहित गरिनु पर्छ । पुँजी बजारका लगानीकर्ताहरूलाई सस्तो प्रचारबाट प्रभावित भएर होइन कि सम्बन्धित संस्थाको वित्तीय विवरण, अवस्था, विगतको रेकर्ड अन्य सूचकहरू हेरेर लगानी गर्न आग्रह गर्नु पर्छ । लगानीकर्ताहरूले परिपक्व ढङ्गबाट लगानी गर्न सक्नु पर्छ । अहिलेको जस्तो नकारात्मक प्रवत्तिहरू सधैँ रहिरहने होइन छिट्टै नै निरुत्साहित हुने छन् तथा नियन्त्रणमा ल्याइने विश्वास गर्न सकिन्छ । स्वस्थ, प्रतिस्पर्धी, विश्वसनीय बनाउँदै पुँजी बजारको विकासमा लाग्ने ध्येय सरकारको रहेको हुनाले निर्धक्क भएर लगानीलाई प्रवर्धन गर्ने वातावरण बनाउनु पर्छ ।