• ८ पुस २०८१, सोमबार

माथिल्लो तामाकोशीको बिजुली पुस १० देखि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन सुचारु गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सोही अनुसार मर्मतसम्भार तालिका तय गरिएको प्राधिकरणले जनाएको छ । 

बाढीले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठुलो क्षति गरेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष भवन, बालुवा थिग्य्राउने पोखरी र बाँधबाट पोखरीसम्म पानी पु¥याउने भूमिगत नहरमा ठुलो क्षति पुगेको थियो । 

दुई वटा पोखरीमध्ये बायाँतर्फको मर्मतसम्भार आगामी पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

त्यसको अध्ययनका लागि प्राधिकरणको उच्च नेतृत्व टोली आयोजना स्थलमा गएको थियो । यसका लागि आंशिक रूपमा क्षति पुगेको पोखरीको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसै गरी कलभर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ‘ग्राउटिङ’ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइने छ । 

दायाँतर्फको अर्को पोखरी मर्मत र हाल सतहमा रहेको नियन्त्रण कक्षलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्राधिकरणको तयारी छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मत सकिएको छ । आयोजनाको प्रवर्धक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लि. का सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका कार्यकारी निर्देशक घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो । 

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समयतालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणले जनाएको छ ।  

कार्यकारी निर्देशक घिसिङले आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न चुनौतीपूर्ण रहेको जानकारी दिनुभयो । “मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,” घिसिङले भन्नुभयो ।

कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपाय अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत्  उत्पादन  सुरु  गर्ने गरी काम भइरहेको बताउनुभयो ।