• ८ पुस २०८१, सोमबार

हेपाटाइटिस बी र हैजाविरुद्धको खोप ल्याइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्यसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा हैजा र हेपाटाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममार्फत ल्याउन लागेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

मन्त्री पौडेलले, “हामी हैजाको खोप ल्याउनेबारे विमर्श गरिरहेका छौँ । नेपालले यसका लागि चाँडै गाभीसँग औपचारिक अनुरोध गर्ने छ ।” उहाँले नेपाल नयाँ सङ्घीय व्यवस्थामा स्वास्थ्यको जनशक्ति अभाव जस्ता समस्यासँग जुधिरहनु परेको उल्लेख गर्दै हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरणमा वैदेशिक सहयोग खोजेको बताउनुभयो । नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले फागुन महिनाभर देशैभर  महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।