• ११ पुस २०८१, बिहिबार

बहुआयामिक उपलब्धिपूर्ण भ्रमण

blog

यतिबेला चीनको राजधानी बेइजिङको मौसम शीतल र सफा छ । नेपालको राजधानी काठमाडौँ जस्तै जस्तै । यही मौसममा चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा अ‍ोली चीनको चार दिवसीय औपचारिक भ्रमणमा व्यस्त हुनुहुन्छ । उहाँ नेतृत्वको प्रतिनिधिमण्डल चीनका अनेक बहुआयामिक कार्यक्रमहरूमा उच्च प्राथमिकताका साथ सहभागी छ । यो भ्रमणका क्रममा अनेक ऐतिहासिक सहयोग, सहकार्य, सम्बन्ध विस्तार र दीर्घकालीन महत्वका विकास आयोजनाहरूमा छलफल, अन्तर्क्रिया, समझदारी र सम्झौता भइरहेका छन् । जुन नेपाल र चीनबिच मात्र होइन विश्व मञ्चका लागि समेत अर्थपूर्ण भइरहेका छन्, हुँदै छन् ।

भ्रमणका क्रममा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लीबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सबैभन्दा चासोको विषय त विगतमा चीन र नेपालबिच भएका सहमति र सम्झौता कार्यान्वयनमा दृढ सङ्कल्प तथा अरू बहुआयामिक सहमति र सम्झौताबारे यो भ्रमण खास ऐतिहासिक हुने छ । 

प्रधानमन्त्री ओली सोमबार बेइजिङ प्रस्थान गरेपछि अरू धेरै अर्थपूर्ण अध्याय सुरु भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो । यसअघि विदेश भ्रमण टोलीलाई बिदाइ गर्नेहरूको लामालस्कर हुन्थ्यो तर यस पटक तडकभडक थिएन । कारण थियो, मन्त्रीपरिषद्को पछिल्लो निर्णय । प्रम नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सोमबारै बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चिनियाँ स्वागतपछि नेपाली टोली अहिले बहुआयामिक सरोकारका कार्यक्रममा सक्रिय छ । 

प्रधानमन्त्रीको चीन भ्रमणमा अनेक ऐतिहासिक आयामहरू दर्ज हुने छन् । जस्तो कि बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङ, चिनियाँ समकक्षी ली, चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीलगायतसँग भेटवार्ता । अरू कार्यक्रमहरू पनि अर्थपूर्ण हुने छन् । जस्तै पेकिङ विश्वविद्यालय, बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधनलगायत छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामनासँगै चीनले बनाउने दुई करोड डलर –करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजनामा ऐतिहासिक उपलब्धि हुने छन् । 

यस पटकको चीन भ्रमणले केही मुद्दामा फड्को मार्दै छ । जस्तो कि चीनसँग जोडिएको मुद्दामा स्वेदश एकमत । अर्थात् चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा पु¥याउने र बाह्य सम्बन्धमा सिङ्गै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महत्वपूर्ण प्रस्थानविन्दु बनेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा धेरैले चासो दिएका अनेक विषयमध्ये एक प्रमुख हो, बेल्ट एन्ड रोड इनिसिएटिभ –बिआरआई) । जुन परियोजना अन्तर्गत चीनले धेरै देशमा पूर्वाधार परियोजनामा व्यापक लगानी विस्तार गरेको छ । यसबारे नेपालमा पनि अनेक अनेक टिप्पणी थिए । तर यसको मूलमर्मबारे नेपालको शिर्ष तहमा एक मत हुनु अर्को ऐतिहासिक कदम भयो । यसमा वर्तमान सत्ता साझेदार दलका शीर्ष नेता वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबिचको उच्च समझदारी अर्को ऐतिहासिक कदम भयो । 

बिआरआई सम्बन्धमा आन्तरिक सहमतिबारे एमाले महासचिव शङ्कर पोखरेल, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका अघिल्लो कार्यकालका परराष्ट्र सल्लाहकार राजन भट्टरार्ईलगायतका सार्वजनिक सन्देशहरू अर्थपूर्ण छन् । भ्रमणअघि प्रधानमन्त्री ओलीले सरोकारवाला सबैसँग गर्नुभएको परामर्श पनि अर्थपूर्ण छ । यसबारे नेपालले कार्यदल नै गठन गरेर परिपक्व काम गरेको थियो । प्रधानमन्त्रीको चीन भ्रमणबारे कतिपयले आशङ्का गरे जस्तो अवस्था छैन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा चीनको पूर्वभ्रमण र उहाँ नेपाल फर्किएर फेरि चीन भ्रमणमा जानुभएको सन्देश काफी छ । 

प्रधानमन्त्री ओलीको चीन भ्रमण सुरु हुनुअघि नेकपा –एमाले)को उच्चस्तरीय प्रतिनिधि मण्डलले १० दिनसम्म चीन भ्रमण गरेको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सर्वाधिक चर्चा र चासो व्यक्त भएको थियो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय उच्चस्तरीय टोलीमा यो पङ्क्तिकार पनि सहभागी थियो । प्रम ओलीको भ्रमणबारे त्यहाँको पूर्ववातावरण उत्साहपूर्ण थियो । 

टोली विश्वको उदयमान र अति प्रभावशाली मञ्च दोस्रो ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरमदेखि राजनीतिक र रणनीतिक महत्वमा अनेकौँ औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएको थियो । भ्रमणका क्रममा नेपाल चीन सम्बन्ध थप सुदृढदेखि विश्व मञ्चमा नेपालको प्रभावशाली भूमिकासम्मका अति महत्वपूर्ण भेटवार्तासमेत भएका थिए । गज्जब पक्ष, ती सबै कार्यक्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे अति चर्चा, अति आशा, स्वागतको तयारी र सम्भावित सकारात्मक परिणामबारे सर्वाधिक चर्चा र चासो प्रस्ट देखिएको थियो । 

भ्रमण टोलीले चीनका ऐतिहासिक र विकसित प्रान्त, नगर, गाउँदेखि वैभवशाली बेइजिङसम्मको भ्रमण गरेको थियो । जस्तो कि चिनियाँ औद्योगिक क्रान्तिको सुरुवात गर्ने पहिलो ठुलो स्टिल उद्योग, नयाँ प्रविधिको इलोक्ट्रोनिक कार कम्पनी, परम्परागत र आदिवासीहरूको परम्परागत गाउँहरूसम्मका अवलोकनहरूमा प्रधानमन्त्री ओलीको भ्रमण, चीनको विकास अनुभवबाट नेपालले लिन सक्ने अभ्यास, नेपालको हितमा चीनको सहयोग र दुई देशबिच सहकार्य र सहयोगबारे प्रशस्त छलफल, चर्चा र अन्तर्क्रिया भएका थिए । 

नेपाली प्रतिनिधि मण्डलले विश्वका विकासोन्मुख र अति विकसित मुलुकहरूको साझा चौतारी ग्लोबल साउथ थिङ्क ट्याङ्कहरूको दोस्रो डायलग पनि सहभागी भएको थियो । चीनको ज्याङ्सु प्रान्तको नानजिङमा विश्वका दुई सयभन्दा धेरै देशका बौद्धिक संस्थाका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी उक्त अन्तर्राष्ट्रिय मञ्चको समापन सत्रलाई सम्बोधन गर्दै नेता पोखरेलले दुई देशबिचको ऐतिहासिक, भौगोलिक तथा वैचारिक निकटता रहेको र प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट दुई देशको सम्बन्ध थप सुदृढ गर्न कोसेढुङ्गा साबित हुने बताउनु भएको थियो । अर्को गतिलो संयोग, उक्त मञ्चमा विश्वका अति कम महिला नेतामध्ये नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले पनि सम्बोधन गर्नुभएको थियो । त्यहाँ पनि प्रधानमन्त्री ओली भ्रमणको प्रसङ्ग थियो । 

हरेक औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा चिनियाँ नेता, अधिकारी र जनताले ओलीको भ्रमणलाई उच्च महत्वका साथ चर्चा गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख मन्त्री लिउ चियनचाओले नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट चिनियाँ जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्बन्धलाई अझ अगाडि बढाउनेबारे छलफल हुने अपेक्षा गर्नुभएको थियो । त्यस्तै उपप्रमुख सन चाईले दुई देश एकअर्काका अनुभवबाट सिक्दै, सहयोग गर्दै अघि बढ्ने बताउनुभयो । विभागका महानिर्देशक फङ स्युपिनले प्रधानमन्त्री ओलीको भ्रमणअघि आएको नेपाली टोलीका कारण भ्रमणलाई सफल पार्न र तयारीबारे छलफल गर्न सहज भएको बताउनुभएको थियो । पूर्वभ्रमणका क्रममा नेपाली टोली चीनको नानचिङ नगर नेतृत्व, हुवई प्रदेशका गभर्नर, हुवई विश्वविद्यालय, पार्टी स्कुल विभागलगायतका औपचारिक कार्यक्रममा सहभागी भएको थियो । 

प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी मङ्सिर २० गते स्वदेश फर्किनु हुने छ । उहाँ नेतृत्वको टोली स्वदेश फर्कंदा अनेक अनेक दीर्घकालीन सन्देशहरू पनि फैलिने बहुआयामिक अपेक्षा छ । खासमा यो भ्रमणबाट नेपाल र चीनको सम्बन्ध थप सुदृढ बन्ने छ । नेपालको विकासमा असाधारण सहयोग, सहकार्य र सद्भाव कायम हुने छ । जसबाट नेपालले पनि चीन वा विश्व मञ्चका अरू देशका लागि समेत समृद्धि, सहकार्य र सद्भावका लागि थप प्रभावकारी भूमिका खेल्न सक्ने छ । यस भ्रमणबाट अनेक ऐतिहासिक र बहुआयामिक अपेक्षा छ । 

Author

दीपक ज्ञवाली