• ७ पुस २०८१, आइतबार

विवाहपञ्चमी महोत्सवमा प्रदेश सरकारको अपनत्व

blog

विवाहपञ्चमी लक्षित खानेपानी जडान गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर १८ गते । मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई पहिलो पटक अपनत्व ग्रहण गरेदेखि व्यवस्थापनमा सक्रियता देखाएको छ। मधेश प्रदेश सरकारले विवाहपञ्चमीमा आउनु हुने जन्ती, साधुसन्त तथा श्रद्धालुभक्तजनको व्यवस्थापन प्रभावकारी बनाइ भव्य तुल्याउन आवास, खानेपानी तथा शौचालयको व्यवस्थापन गरेको छ । 

यही मङ्सिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालुभक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी सहरका विभिन्न ठाउँमा अस्थायी आवास, खानेपानी तथा शौचालयजस्ता संरचना निर्माण गराएको मधेश प्रदेश सरकारले जनाएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको अयोध्यामा भगवान् रामको तिलकोत्स गराएर मधेश सरकारले विवाहपञ्चमीको अपनत्व ग्रहण गरिएको छ । मुख्यमन्त्री सिंह तिलकोत्सव सकिएर फर्किएदेखि धार्मिक पर्यटकका लागि आवश्यक संरचना निर्माण, वैवाहिक विधि तथा प्रक्रियामा सहज सहभागिता र सुदृढ सुरक्षा प्रबन्धनका लागि सक्रियता लिँदै आउनु भएको छ । उहाँले महोत्सव सफल गर्न अपेक्षित गृहकार्यका लागि जननकपुरधामका धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधि, समाजसेवी, साधुसन्त लगायतका व्यक्तिहरूसँग सामूहिक तथा व्यक्तिगत परामर्श गरी प्रदेश मातहतका मन्त्रालयलाई मेलाको तयारी गर्न निर्देशन दिइसकेको बताउनुभयो । 

यसै क्रममा मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयबाट सहरका विभिन्न चार ठाउँमा खानेपानी संरचना निर्माण, ठाउँठाउँमा १८ वटा अत्यधिक प्रकाश दिने सडकबत्ती जडान र दुई सयवटा शौचालय निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशका शाखा अधिकृत श्यामसुन्दर मण्डलले जानकारी दिनुभयो । 

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्रालयबाट रामजानकीको वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीका लागि सहरका विभिन्न भागमा २० वटा प्रवेशद्वार निर्माण तथा विवाहोत्सव लगायत धार्मिक सांस्कृतिक विषयसँगै विभिन्न किसिमका सामग्री प्रदर्शनका लागि डिस्पले व्यवस्थापन गरिएको जनाएको छ । 

प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनभित्र अयोध्याबाट आउने जन्तीको स्वागतका लागि यही मङ्सिर २० गते स्वागत कार्यक्रम राखिएको खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जायसवालले जानकारी दिनुभयो । छ सय जन्तीलाई मधेश भवनभित्र सत्कारभोजसँगै भजन श्रवण गराइने व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । मेलाका बेला अचानक हुने मौसम परिवर्तनलाई मध्यनजर गरी श्रद्धालुभक्तजन र साधुसन्तसँगै सर्वसाधारणलाई कठ्याङ्ग्रिन नदिन ठाउँठाउँमा आगो बाल्न वन तथा वातावरण मन्त्रालयले दाउराको व्यवस्थापन गरेको छ ।