• ७ पुस २०८१, आइतबार

सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

blog

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा बोल्नुहुँदै । तस्बिर : कार्यवाहक प्रधानमन्त्रीको सचिवालय

रौतहट, मङ्सिर १८ गते । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । 

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताउनुभएको हो  ।

नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाइ थियो । आ–आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।


‘‘नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलीजुली समाजमा राम्रो वातावरण बनाउनुभयो । आउने दिनहरूमा पनि हाम्रो पुर्खाहरूले देखाएको बाटोलाई अनुसरण गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘आआफ्नो आस्थाअनुसार धर्म संस्कृतिअनुसार पाठपूजा, जात्रा, महोत्सव गर्न सक्ने माहौललाई जोगाएर अघि बढ्न सक्नुपर्छ ।’’ उहाँले गढीमाई मेला महोत्सवको सफलताको शुभकामना पनि दिनुभयो ।

राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको भन्दै उहाँले  बिग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको बताउनुभयो ।