• ८ पुस २०८१, सोमबार

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दाे

blog

रेखीराम राना

तानसेन, मङ्सिर १७ गते । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको विभिन्न स्थानमा एचआइभी सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत वर्ष ३५१ जना सङ्क्रमित रहेकामा यो वर्ष बढेर ३५६ जना पुगेका छन् । यो वर्ष आठ जना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका मानिसमा एचआइभी सङ्क्रमण देखिएको हो । विदेशमा रहँदा असुरक्षित यौन गतिविधिका कारण सङ्क्रमित हुने मानिस बढेको प्रतिबद्ध सहयोग समूहकी कार्यक्रम संयोजक अस्मिता भण्डारीले बताउनुभयो । लामो समय विदेशमा बसेर फर्किएका मानिसमा सङ्क्रमण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । 

विदेशबाट फर्किएका मानिसमा गरेका परीक्षणबाट यो वर्ष मात्रै आठ जना सङ्क्रमित थप भएको उहाँले बताउनुभयो । सङ्क्रमितमध्ये २० जना बालबालिका छन् । जिल्लाको तानसेन, रिव्दीकोट, माथागढी, रामपुरमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेको भण्डारीले बताउनुभयो । 

तीन वर्षअघि ३४२ जना सङ्क्रमित थिए । पछिल्लो समय भारतबाट फर्केका मानिसमा बढी एचआइभी सङ्क्रमण देखिएको छ । पछिल्लो समय सङ्क्रमित खुल्दा उपचार र हेरचाहमा सहज हुँदा पनि सङ्क्रमितको सङ्ख्या बढेको बताइएको छ । यस्तै नेपालमै बसेर असुरक्षित यौन सम्बन्ध राख्ने महिला तथा पुरुष, लागुपदार्थ सेवन गर्ने मानिसमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । यो वर्ष २० जना एचआइभी सङ्क्रमित देखिए पनि १२ जना अन्य जिल्लाका रहेको उहाँले बताउनुभयो । 

सङ्क्रमितमध्ये सबैजसोले एआरटी सेवा लिएका छन् । ३५६ जनामध्ये दुई जनाले बाहेक अन्य सबैले एआरटी सेवा लिएका छन् । जिल्लाको मिसन अस्पताल र रामपुर अस्पतालमा एआरटी सेवा सञ्चालन भइरहेको छ । एआरटी सेवा लिने पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्वत जिल्लाका पनि छन् ।