• ८ पुस २०८१, सोमबार

नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण अभियान सुरु गरिने

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल

काठमाडौं, मङ्सिर १७ गते । सरकारले नसर्ने रोग नियन्त्रण गर्न परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ  ।   यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गर्नुभएको हो ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यले एक महिने अभियान सञ्चालन गर्न लागेको जानकारी मन्त्री पौडेलले दिनुभयो ।  

पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको सङ्ख्या बढ्दा डायलसिस गराउने संस्थामा बिरामीको चाप बढिरहेको छ । पछिल्लो समय खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढ्दै गएकाले उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नुपरिरहेको छ ।

‘‘बिरामी भएपछि हुने उपचारका लागि हामीले ठुलो स्रोत साधन खर्चनुपरिरहेको छ,’’ मन्त्री पौडेलले भन्नुभयो,  ‘‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौं ।’’

उहाँले सुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठुलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित स्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यो अभियानले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।