• ८ पुस २०८१, सोमबार

‘बाँचौँला र घर बन्ला जस्तो लागेको थिएन’

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर १७ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, भल्माका ५१ वर्षीय हरिजङ्ग मल्ललाई गत वर्षको भूकम्प आएका बेला जीवन जोगिएला, बाँचौँला, घर बन्ला र परिवारका साथ बस्न पाऊँला भन्ने लागेकै थिएन । भूकम्पले हेर्दाहेर्दै घर ढल्यो, मल्लले भागेर ज्यान ज्यान जोगाउनुभएको थियो । घर भत्किएपछि परिवारमा गाँस र बासको चरम अभाव भयो । श्रीमतीले तीन छोरी र दुई छोराका साथ कामको खोजीमा घर छाडेको वर्ष दिनपछि हाल मल्लको नमुना घर तयार भएको छ । सरकारले मल्ललगायतका भूकम्पपीडितका लागि नमुना घर निर्माण गरिदिएको छ । हरिजङ्ग आफैँ दृष्टिविहीन, श्रीमती धनकुमारी सुस्त मनस्थिति र जेठो छोरा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । पारिवारिक स्थिति हेर्दा उहाँको जीवन निकै दर्दनाक र समस्याले झेलिएको छ । 

मल्लले भूकम्पपछि घरबासविहीन भएको आफ्नो परिवारले सुरक्षित घर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म अस्थायी टहरामा ओत लागेर बसेँ, कहिले छिमेकीको घरमा खाएँ, कहिले भोकै सुतेँ । घर बनेको खबर छोराछोरीले सुनेपछि घर आउन आतुर भएका छन्, यो मेरो परिवारका लागि ठुलो खुसी हो ।” श्रीमतीले छोरीका साथ अर्काको घरमा काम गरेर सन्तानको लालनपालन गरिरहेको मल्लले बताउनुभयो । 

आठबिसकोट नगरपालिका–१४, छेपारेकी ६० वर्षीय सरस्वती जैसीको पनि नमुना घर तयार भएको छ । भूकम्पबाट बुहारी र तीन नातिनातिनी गुमाएकी जैसीले श्रीमान्को मृत्यु भएको वर्ष दिन बित्न नपाउँदै बिरामीका कारण जेठो छोरा पनि गुमाउनुभएको थियो । उहाँका माइला छोरा विपेन्द्र पनि भूकम्पपछि नियमित औषधि उपचारमै हुनुहुन्छ । भूकम्पका बेला घाइते अवस्थामा उद्धार गरिएकी उहाँको स्वास्थ्य अवस्था कमजोर छ । घर पाउँदा भूकम्पको पीडामा मलम लगाएको अनुभूति भएको जैसीले बताउनुभयो ।

मल्ल र जैसीको जस्तै जाजरकोटको भेरी नगरपालिका–१, पिपे निवासी बबिता राना र सानोपुल रिम्ना निवासी परिमले रानाको पनि नमुना घर निर्माण भएको छ । बबिता एकल महिला हुनुहुन्छ । दुई छोराका साथ बस्दै आउनुभएकी उहाँको घर भूकम्पले पूर्ण रूपमा क्षति गरेको थियो । सानोपुलका परिमले शारीरिक रूपमा अशक्त एकल पुरुष हुनुहुन्छ । उहाँको आर्थिक अवस्था एकदमै कमजोर छ । बेलायती राजदूतावासको सहयोगमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रसङ्घीय निकायहरूको साझेदारीमा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत यी भवन तयार भएका हुन् । नमुना आवास अन्तर्गत तयार गरिएका यी भवन नयाँ प्रविधिमा आधारित छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका आवास संयोजक चेरी अबिला, गैरसरकारी संस्था महासङ्घ रुकुमपश्चिमका अध्यक्ष भीमराज ओली, स्थानीय जनप्रतिनिधिलगायतले औपचारिक रूपमा प्रभावित परिवारलाई घर हस्तान्तरण गर्नुभएको छ । बलियो र सुरक्षित आवास मानिएका यी घरमा वातावरणमैत्री इँटा प्रयोग गरेर भूकम्पप्रतिरोधी बनाइएको छ । नमुना आवासका लागि तयार गरिएका घरमा दुई कोठा छन् भने एक शौचालय छ । आइओएमले स्थानीय तहको सिफारिसका आधारमा जाजरकोट र रुकुमपश्चिममा २३ वटा नमुना घर निर्माण सुरु गरेको थियो । जाजरकोटमा १२ वटा र रुकुमपश्चिममा ११ वटा नमुना घर निर्माण गर्ने क्रममा चार वटा घर निर्माण सम्पन्न भएर हस्तान्तरण गरिएको हो भने बाँकी आवास निर्माण सम्पन्न हुने चरणमा रहेका बताइएको छ ।