नेपालगन्ज समाचारदाता
नेपालगन्ज, पुस ८ गते । केही समयअघिसम्म सशस्त्र प्रहरीलाई देखेर तर्सिने तथा भाग्ने गरेका बाँकेको सीमानजिकका नेपाली नागरिक अहिले प्रहरीसँग समन्वय र सहकार्य गर्न थालेका छन् । नेपाल–भारत नाकामा तस्करी रोक्न तथा सीमाको सुरक्षा गर्नका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको ३० नम्बर गणले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालन गरेर सोही अन्तर्गत सीमावासीसँग छलफल, भेटघाट, अन्तर्क्रिया र अन्य गतिविधि गर्न थालेपछि नागरिक र प्रहरीको सम्बन्ध सुदृढ हुँदै गएको हो ।
सीमा सुरक्षासँगै राष्ट्रियताको जगेर्नाका लागि स्थानीय नागरिकको सहयोग तथा समर्थन अपरिहार्य रहेकाले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालन गरेर उनीहरूसँग सहकार्य तथा समन्वय बढाउने अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी विमल डाँगीले बताउनुभयो ।
उहाँले नाकानजिक बसोबास गर्ने नागरिकसंग सहकार्य र समन्वय कायम भएमा तस्करीलगायतका अवैध गतिविधि रोक्न सहयोग मिल्नुका साथै आफ्नो देशको नाकाको रक्षाको भावना पनि उनिहरूमा वृद्धि हुने बताउनुभयो । त्यसका लागि सशस्त्र प्रहरीले नाकानजिकका नेपाली बस्तीमा सडक नाटक, अन्तर्क्रिया, स्वास्थ्य शिविर, विद्यार्थीलाई सहयोगलगायतका कार्यक्रम तयार पारेको हो ।
सोही क्रममा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरीले नाकानजिकैको बाँकेको डुडुवा गाउँपालिकाको पिप्रहवा खडैँचामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जनाको उपचार गरेको छ । आँखामा समस्या भएर शिविरमा जँचाउन आएका डुडुवा–१, होलियाका ९३ वर्षीय बद्लु अहिरले प्रहरीले जनताको स्वास्थ्य उपचार गर्छ भन्ने कुरा सुन्दा विश्वास नलागेको जनाउँदै उपचार मात्र होइन राम्रो व्यवहार पनि गरेको सुनाउनुभयो ।
यस्तै सोही शिविरमा उपचारका लागि आएका डुडुवा पिप्रहवाका ९० वर्षीय राम प्रकटले पनि सीमाका जनता र प्रहरीबिच राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।