• ८ पुस २०८१, सोमबार

साख सृजित लगानी विश्वास

blog

साखलाई बोलीचालीको भाषामा कसैको विश्वसनीयताका रूपमा बुझिन्छ । फलानाको साख राम्रै छ भन्नु उसले उत्तरदायित्व निर्वाह गर्न सक्छ भन्ने हुन्छ । व्यक्तिको जस्तै संस्था र देशकै निम्ति साखको प्रयोग हुन्छ । संस्था तथा देशको सम्बन्धमा वित्तीय उत्तरदायित्वको निम्ति साखको बढी प्रयोग हुन्छ । नेपालले हालै पहिलो पटक सार्वभौम साख मूल्याङ्कन अर्थात् सोभरेन क्रेडिट रेटिङ गरेको छ । नेपालको वित्तीय अवस्था तथा उत्तरदायित्वको अवस्था जानकारीमा आएको छ । पहिलो पटक देशको साख मापन अर्थात् मूल्याङ्कन गरिएको हुनाले नेपालीका निम्ति यो नौलो पनि छ । त्यसैले छलफल र बहस आवश्यक पनि छ । लगानीको वातावरणलाई साख मापन नगरी थाहा हुन्थेन । विदेशी लगानीकर्ताले कुनै अर्को मुलुकमा लगानी गर्नुअघि त्यहाँको साखको अवस्था हेर्ने गर्छन् । उच्च साख भएका मुलुकमा लगानीकर्ता लगानीका निम्ति आकर्षित हुन्छन् । साखको न्यून सूचकले लगानीकर्तालाई लगानी गर्न प्रोत्साहन गर्न सक्दैन ।

साखको प्रयोग नेपालमा नयाँ भए पनि शताब्दी पुराना अभ्यास हो । विश्वमै साख मूल्याङ्कन गर्ने सीमित कम्पनी मात्र कहलिएका छन् । प्रायःजसो ती सीमित कम्पनीहरूले नै साख मापन गर्ने गरेका छन् । विश्वका ठुला साख मूल्याङ्कन गर्ने कम्पनीहरूमा फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्स (एस एन्ड पी) चर्चित छन् । यी तिनै कम्पनी प्रतिष्ठित हुन् । ऐतिहासिक पृष्ठभूमि सय वर्ष हाराहारी र त्योभन्दा पनि बढी छ । झन्डै एक शताब्दीदेखि यी कम्पनीले संसारभरका देश तथा संस्थाहरूको साख मापन गरिरहेका छन् । साख मापनको शताब्दीभन्दा बढी अभ्यास भए पनि सन् १९३० को दशकमा विश्वभर फैलिएको आर्थिक महामन्दीले साख मापन नगरी अर्थतन्त्रको वास्तविक अवस्था जानकारी नहुने बढी अभ्यास चल्यो । लगानीको वास्तविक वातावरण जानकारी पाउन साख निर्धारण अनिवार्य जस्तै हुन थाल्यो । कुनै पनि मुलुकले पूर्वाधार विकासका निम्ति निष्कासन गर्ने बन्ड साख निर्धारणकै आधारमा हुने भयो । व्यक्तिको स्वास्थ्य अवस्था जान्न समग्र शरीरको स्वास्थ्य परीक्षण (होलबडी चेक) आवश्यक भए जस्तै देशको वित्तीय अवस्था जान्न साख मूल्याङ्कन आवश्यक पर्ने भयो । 

साख निर्धारण कुनै एउटा पक्षलाई हेरेर मात्र गरिन्न । कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय, कानुनी, पुँजीको अवस्था, उत्पादकत्व आदि पक्षले साख निर्धारण गरिन्छ । तीन वटा ए अर्थात् एएएलाई उच्च साख मानिन्छ भने सी वा डीलाई खराब तथा कमजोरका रूपमा बुझिन्छ । नेपाली अर्थतन्त्र केही वर्ष निराशाजनक विषयवस्तुले मात्र बढी चर्चा पाउने गरेको थियो । नेपालमा लगानीको वातावरण छैन भन्ने गरिएको थियो । यसको अर्थ नेपालको साख राम्रो छैन भन्ने नै हो । कोरोना महामारीपछि युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रमा पारेको दुष्प्रभावमा नेपाली अर्थतन्त्र पनि पर्न थाल्यो । त्यसयता नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य सिर्जना गर्न खोजियो । बैङ्क तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर तल्लो विन्दुमा ल्याउँदा पनि लगानी हुन कठिन भएको विषयलाई समेत लगानीको वातावरणसित जोडियो । विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको नेपालको साख ठिकै रहेछ । दक्षिण एसियामा भारतभन्दा पछि र अरू मुलुकभन्दा अगाडि हुनु सन्तोषको विषय हो ।

नेपालले केही वर्षअघि नै साख मूल्याङ्कन गर्न चाहेको थियो तर परिस्थितिले ढिला भयो । वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सरकारले साख मूल्याङ्कन गर्ने घोषणा गरेको थियो । साख निर्धारण गर्ने सोही बजेटको लक्ष्य अनुसार सरकारले सूचना जारी गरी विश्वकै प्रतिष्ठित कम्पनीहरूलाई साख मापनका निम्ति आमन्त्रण पनि गरेको थियो । रेटिङसम्बन्धी विश्वका प्रमुख प्रतिष्ठित तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन पनि दिएका थिए  । आवेदन दिएका मध्ये सरकारले ‘फिच रेटिङ एजेन्सी’ सँग सम्बन्धी सम्झौता गरिसकेको थियो । 

साख मापनका निम्ति सरकारले बाह्य सहयोग पनि लिएको थियो । तत्कालीन बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) अर्थात् हालको युके एडसँग प्राविधिक सहयोगसम्बन्धी छुट्टै सम्झौतासमेत भयो  । सो प्रक्रिया क्रममा सरकारले स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाललाई रेटिङ सल्लाहकार तोकेको थियो तर काम तत्काल त्यतिबेला अगाडि बढ्न सकेन । साख मापन प्रक्रिया आरम्भ हुनै लाग्दा विश्वभर फैलिएको कोरोना महामारीबाट नेपाली अर्थतन्त्र पनि तीव्र रूपमा प्रभावित भयो । कोरोनाका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक भए । त्यस्तो बेला साख मूल्याङ्कन बढी जोखिमयुक्त हुन सक्थ्यो । त्यसैले स्थगित गरियो । फेरि पुरानो सम्झौता नवीकरण गरेर फेरि प्रक्रिया सुरु गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरियो  । त्यसपछि फिचले पुरानै प्रक्रियालाई निरतरता दिई नेपाल आएर साख मूल्याङ्कन गरेको हो ।

‘फिच’ ले नेपाललाई विस्तृत अध्ययन गरी ‘बिबी माइनस’ दिएको छ । दक्षिण एसियाली मुलुकमा यो राम्रो हो । दक्षिण एसियाली मुलुकमध्ये भारतको स्थान अगाडि छ । भारतको ‘रेटिङ’ ‘बिबिबी माइनस’ छ । यो नेपाल अगाडि हो । भारतपछि नेपालले अन्य सबै दक्षिण एसियाली देशलाई पछाडि पारेको छ । सार्वभौम साख मूल्याङ्कनलाई सोभरेन क्रेडिट रेटिङका रूपमा विश्वभर चिनिन्छ । नेपालले प्राप्त गरेको ‘बिबी माइनस’ को साख ‘फिच’ सँग स्वाभाविक रूपमा जोडिएको छ । फिचको यो मापनलाई विश्वसनीय मानिन्छ । अब बाह्य लगानीकर्ताका निम्ति नेपाल तुलनात्मक रूपमा लगानीको अनुकूल वातावरण भएको मुलुक देखिएको छ तर लगानी ल्याउन सरकार तथा निजी क्षेत्रले धेरै मेहनत भने गर्नै पर्छ ।

वास्तवमा नेपालमा साख मूल्याङ्कनको अभ्यास नै थिएन । त्यसैले त्रासकै बिच साख मूल्याङ्कन गरिएको हो । पहिलो पटक नै अपेक्षाभन्दा राम्रो हुँदा उत्साह पनि बढेको छ । यसले लगानीका लागि धेरै जोखिम छ भन्ने त्रास हटाइदिएको विश्लेषण पनि गरिएको छ । यो साख नतिजा कसरी प्राप्त भयो भन्ने प्रश्न पनि उठ्न सक्छ । कतिपयलाई शङ्का पनि लाग्न सक्छ तर यो नतिजासँगै मापनको प्रक्रियागत आधारले थप विश्वसनीय बनाइएको छ । साख मूल्याङ्कनमा मूलतः अर्थतन्त्रका चार क्षेत्रलाई लिइएको देखिन्छ । पहिलो, अर्थतन्त्रको संरचनागत स्थिति, दोस्रो समष्टिगत आर्थिक उपलब्धि, तेस्रो सार्वजनिक क्षेत्र र चौथो बाह्य क्षेत्र । नेपालको अर्थतन्त्रका यी चारै क्षेत्रमा विस्तृत अध्ययन गरी फिचले नेपालको साख बिबी माइनस दिएको हो । त्यसैले यसमा शङ्का गर्ने ठाउँ देखिँदैन ।

साख मूल्याङ्कनमा अध्ययनका विधि पनि महत्वपूर्ण छन् । चारै क्षेत्रको विस्तृत लेखाजोखा गरी साख निर्धारण गर्दा परिमाणामत्मक र गुणात्मक विधि दुवैको सहयोग दिइएको छ । अङ्क गणितीय मोडलमा मात्र निर्भर नभई गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरिएको छ । त्यसरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म रेटिङ प्रदान गर्ने प्रक्रिया हुन्छ । नेपालको अति राम्रो पनि होइन र खराब पनि होइन, बिचमा देखिएको छ । महìवपूर्ण पक्ष के छ भने नेपालको १६ औँ पञ्चवर्षीय योजनाले परिलक्षित गरेको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषणसमेत गरी साख नजिता तय गरिएको छ । यसले लगानीकर्तालाई नेपालको आगामी मार्गचित्र बुझ्न पनि सजिलो भएको छ । लगानीको विश्वास बढाउन सहज भएको छ ।

अर्थतन्त्रले गति लिन नसके पनि नेपाली अर्थतन्त्रले कतिपय सूचक सबल राख्न सकेको छ । खास गरी अर्थतन्त्रमा बाह्य सूचक तुलनात्मक रूपमा राम्रा छन् । विदेशी मुद्रा सञ्चिति बलियो छ । १२/१५ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति छ । विदेशी मुद्रा यो अवस्थामा रहनु साख मूल्याङ्कनमा अगाडि आउनुको कारण हो । दक्षिण एसियामा श्रीलङ्का, पाकिस्तान जस्ता मुलुक विदेशी मुद्रा सञ्चितिको सकसमा छन् । श्रीलङ्का त केही वर्षअघि टाट नै पल्टिएको थियो । पाकिस्तान पनि ऋण पासोमा छ, आयात कठिन हुँदै छ । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण प्रवाह नेपालको हुँदा विदेशी मुद्रा सञ्चिति बलियो छ । यसले लगानी प्रवर्धन गर्न सहज पनि हुन्छ । 

 साख निर्धारण प्रक्रियामा धेरै मेहनत गरिएको देखिन्छ । साख निर्धारणका क्रममा प्राप्त तथ्याङ्कलाई मात्र आधार मानिएको छैन । केवल अङ्कलाई मात्र आधार नमानी गुणात्मक पक्षको समेत अध्ययन गरिएको छ र त्यस क्रममा स्थलगत अध्ययन र अनुगमन भएको छ । गुणात्मक मूल्याङ्कनका विभिन्न चरण पार गरी निष्कर्षमा निकाल्दा बढी विश्वसनीय हुनु स्वाभाविक हो । नेपालको स्थलगत भ्रमणमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायतका सरकारी निकायको कामकारबाही स्थलगत रूपमै अध्ययन गरिएको थियो । यसले अध्ययन नतिजालाई थप विश्वसनीय बनाएको छ ।

सरकारी तथा निजी क्षेत्र दुवैतर्फ फिचको टोलीले राम्रो अन्तर्क्रिया गरेको थियो । आवश्यक परामर्श र छलफल भएको थियो । सरकारी निकाय मात्र होइन, गुणात्मक अध्ययनको सिलसिलामा निजी क्षेत्रलाई समेत समेटियो । निजी क्षेत्रका सङ्घ संस्थाका साथै नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत गरिएको परामर्शले साख निर्धारण प्रक्रियाको गहनतालाई देखाउँछ । तुलनात्मक रूपमा राम्रो यो साखलाई अब लगानीमा रूपान्तरण गर्नु पर्छ । राजनीतिक स्थिरता दिई सुशासनमा जोड दिनु पर्छ । अझै नेपालमा लगानी गर्न प्रक्रियागत झन्झट छन् । तिनमा सरलीकरण गरिनु पर्छ । त्यस क्रममा आवश्यक कानुन निर्माण तथा भएको कानुनको संशोधन गरिनु पर्छ । 

सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै पारदर्शितामा जोड दिनु पर्छ । पारदर्शी प्रक्रियाले लगानी प्रवर्धनसँगै भ्रष्टाचार न्यूनीकरण गर्न सहयोग गर्छ । राजस्वले साधारण खर्च मात्र धान्न पनि कठिन भएको अवस्थामा विकास आकाङ्क्षा पूरा गर्न बाह्य लगानी बढाउनै पर्छ । नेपालमा लगानी गरी प्राप्त प्रतिफल सहज तौरतरिकाले लग्ने विधि प्रक्रियाले लगानी प्रोत्साहन गर्ने छ । बाह्य लगानीले नेपालको आय, उत्पादन र रोजगारी बढाउनु पर्छ । नेपाली युवा बाहिर जाने परिस्थितिमा विराम लगाउन यो साखलाई अधिकतम उपयोग गरिनु आवश्यक छ ।

 

Author

जुनारबाबु बस्नेत