• ८ पुस २०८१, सोमबार

स्थानीय तह उपनिर्वाचन, २०८१

हेटौँडा उपमहानगर १२ को वडाध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित

blog

हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा निर्वाचित अर्जुनप्रसाद तिवारी । तस्विरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, मङ्सिर १७ गते । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।

आइतबार भएको निर्वाचनको सोमबार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार तिवारीले दुई हजार ६३ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानले एक हजार ५६० र नेकपा एमालेका राजेश नगरकोटीले एक हजार ३९८ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

आइतबार भएको मतदानमा उक्त वडाका नौ वटा मतदान केन्द्रमा गरी ६८.०९ प्रतिशत अर्थात ५४ सय ८३ मत खसेको थियो । वडामा कुल मतदाता आठ हजार ५३ रहेका छन् । 

वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका गरी १२ जना उम्मेदवार रहेका थिए । 

२०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्पय समितिको प्रमुखमा निर्वाचितभएसँगै रिक्त भएको उक्त पदमा उपनिर्वाचन भएको हो ।