• ८ पुस २०८१, सोमबार

ओखलढुङ्गा मोलुङ ५ मा एमालेका तामाङ विजयी

blog

नवनिर्वाचित एमाले उम्मेदवार गंगाबहादुर तामाङ ।

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर १६ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ को वडा अध्यक्षमा नेकपा (एमाले) का गंगाबहादुर तामाङ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २२२ मतले पछि पार्दै तामाङ विजयी हुनुभएको हो । 

एमालेका तामाङले ३९९ मत प्राप्त गर्दा कांग्रेसका दाहाले १७७ मत प्राप्त गर्नुभएको छ । आइतवार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गर्नुभयो । 

यस्तै, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३, जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । जम्मा ७६८ मत खसेकोमा १२ मत भने बदर भएको अधिकृत गौतमले जानकारी दिनुभयो । कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले ओखलढुङ्गामा उपनिर्वाचन भएको हो ।