• ८ पुस २०८१, सोमबार

सिकैँचाको उपनिर्वाचन मर्यादित

blog

दुर्गा मावि ओसे मतदानस्थलमा मतदान गर्नुहुँदै एक वृद्धा मतदाता । तस्बिरः चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश विकास श्रेष्ठका अनुसार आइतबार भएको उपनिर्वाचन निर्धारित समयमै सुरु भएको थियो। उपनिर्वाचनमा ५८.३१ प्रतिशत मतदाताले मतदान गरेका उहाँले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार दुईवटा मतदान स्थलमध्ये सरस्वती माध्यमिक विद्यालय कुञ्जारीमा ६१५ मत खसेको छ। 

यस्तै दुर्गा माध्यमिक विद्यालय ओसेमा २७६ मतदाताले मतदान गरेका छन्। सिकैँचाको उपनिर्वाचनमा कुल मतदाता भने एक हजार ५२८ रहेका थिए। दुईवटै मतदानस्थलमा गरी ८९१ मतदाताले मतदान गर्दा ६३७ मतदाता अनुपस्थित हुन पुगेका छन्। यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिएपछि सिकैँचामा उपनिर्वाचन भएको हो।

सिकैँचाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसमेत पाँच दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनमा सहभागी राजनीतिबिच बस्ने सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने पनि सहायक निर्वाचन अधिकृत तामाङले जानकारी दिनुभयो।