• ८ पुस २०८१, सोमबार

लुम्बिनी कप महिला फुटबल फागुनमा

blog

लुम्बिनी कपको लोगो सार्वजनिक गरिँदै ।

कमल खत्री

धम्बोझी, मङ्सिर १६ गते । नेपालगन्जमा आगामी फागुन अन्तिम साता लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप हुने भएको हो । 

नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आइतबार संयुक्त रूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभयो ।

लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला खेलाडीको आकृति र नेपाली राष्ट्रिय झन्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रङ्गशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहनेछ । 

पश्चिम नेपालमा महिला फुटबलको विकासमा प्रतियोगिता महत्त्वपूर्ण साबित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भएको छ । 

उहाँले भन्नुभयो, ‘‘लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ । आगामी वर्षहरूमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौँ ।’’ पश्चिम नेपालको गौरवको रूपमा सुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागि शाहले अपिल पनि गर्नुभएको छ । 

अखिल नेपाल फुटबल सङ्घका सदस्य एवम् बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सृजना गर्ने बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन एन्फाले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । 

नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुसीको कुरा भएको राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताउनुभयो । उहाँले भन्नु भयो, ‘‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’’

नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको छ । उहाँले भन्नुभयो, ‘‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरु हुनु निकै प्रशंसनीय छ । यसले निरन्तरता पाओस् । सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’