• ८ पुस २०८१, सोमबार

विवाहपञ्चमी : भोजनसहित जन्तीको स्वागत गरिँदै

blog

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल अयोध्याबाट आउने जन्तीको स्वागत र आवास सम्बन्धमा भइरहेको तयारीबारे जानकारी दिनुहुँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, मङ्सिर १६ गते । 
जनकपुरमा हुने बिवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीका लागि नेपालको मुख्य प्रवेश मार्ग मटिहानीमा स्वागतको तयारी पूरा भएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आइतबार मटिहानीमा अयोध्याबाट आउने जन्ती स्वागतका लागि भइरहेको तयारीबारे जानकारी दिन आयोजना गर्नुभएको कार्यक्रममा सो कुरा बताउनुभयो ।

भारतको अयोध्याबाट मङ्सिर १७ गते जन्ती नेपाली भूमिको मटिहानीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । त्यहाँ मटिहानी नगरपालिकाले स्वागतसहित रात्रि विश्रामको व्यवस्थापन गर्ने छ ।

नगरप्रमुख मण्डलले करिब चार सयको हाराहारीमा जन्ती आउने जानकारी प्राप्त भएको र सोही अनुसार स्वागत, खानपान तथा विश्रामको व्यवस्थापन गरिएको  जानकारी दिनुभयो । उहाँले नेपालको भूमिमा हुने आतिथ्यता देखाउने गरी स्वागतलाई भव्य बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

उहाँले मटिहानीमा रहेको तीन वटा होटलमा जन्तीको रूपमा आउनुहुने मुख्य अतिथि तथा वरिष्ठ व्यक्तित्वहरूलाई राखिने तथा अन्य जन्तीहरूलाई मटिहानीमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय तथा वैष्णव सम्प्रदायको मुख्य मठको रूपमा रहेको मटिहानी स्थित लक्ष्मीनारायण मठमा रात्रि विश्रामको व्यवस्थापन गरिने बताउनुभयो ।

नगरप्रमुख मण्डलले भन्नुभयो, ‘‘मटिहानीमा रहेको मटिहानी होटल, अप्सरा होटलमा जन्तीको रूपमा आउने भिआइपीहरूलाई राख्ने व्यवस्थापन गरिएको छ । अन्य जन्तीलाई संस्कृत विद्यालय, मठलगायतकाहरुमा व्यवस्थापन गरिएको छ ।’’

सोमबार राति ९ बजे नेपालको भूमि अर्थात् मटिहानी प्रवेश गर्ने जन्तीलाई छोटी भन्सार नजिकै नगरप्रमुख मण्डलसहित मटिहानी मठका महन्थ जगन्नाथ दास शास्त्री तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुहुने छ । स्वागत पश्चात् बाजागाजा र आतिशवाजीसहित जन्तीलाई लक्ष्मीनारायण मठ ल्याइने र त्यहाँ लक्ष्मी नारायणको विधिवत् पूजापाठ तथा लक्ष्मीनारायण सर (जहाँ सीता स्वयंवरका लागि माटो खनिएको) मा आरतीमा जन्तीहरूलाई सहभागी गराइने छ ।

स्वागत र पूजापाठपश्चात् लक्ष्मीनारायण मठमै मिथिलाञ्चलमा अतिथिलाई स्वागतका लागि प्रयोग गरिने खाना खुवाइने नगरप्रमुख मण्डलले जानकारी दिनुभयो ।

उहाँले रात्रिविश्रामपश्चात मङ्सिर १८ गते मङ्गलबार बिहानै सभा आयोजना गरिने र त्यहाँ चिया र खाजासहित जन्तीहरूलाई बाजागाजासहित जनकपुरको लागि बिदाइ गरिने कार्यक्रम मटिहानीमा रहेको छ । जन्तीको स्वागतका लागि मटिहानीमा करिब दुई दर्जनभन्दा बढी स्वागतद्वार बनाइएको छ भने सोमबार जन्तीको स्वागतमा मटिहानीमा दीपावली समेत गरिनेछ ।

जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन हरेक पाँच/पाँच वर्षमा अयोध्याबाट जन्तीहरू आउने परम्परा अनुरूप यस वर्ष पनि जन्ती आउने तय भएको हो । जनकपुरमा मङ्सिर २१ गते हुने विवाहपञ्चमीका लागि भारतको अयोध्याबाट  जन्ती नेपालको मटिहानी, जलेश्वर, पिपरा हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ ।

यसैगरी, मङ्सिर १८ गते जलेश्वरमा रहेको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठपश्चात जन्तीहरूको भोजन जिल्लाको पिपरा पालिकामा हुने कार्यक्रम रहेको छ ।