• ८ पुस २०८१, सोमबार

बाँकेमा एचआइभी सङ्क्रमितले 'एआरटी' सेवा लिँदै

blog

बाँकेमा एचआईभि संक्रमितको अवस्था बारे जानकारी गराउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १६ गते । बाँके जिल्लामा एचआइभी सङ्क्रमित हुनेका सङ्ख्या घट्दो छ । जिल्लामा आर्थिक वर्ष २०८०-०८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । १० हजार ७५९ जनामा परीक्षण गर्दा १०१ जनामा एचआइभी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रवीन्द्र साहले बताउनुभयो । 

विश्व एड्स दिवसको अवसरमा सो जानकारी गराउँदै फोकल पर्सन साहले आर्थिक वर्ष २०७९-०८० मा १७ हजार ३२८ जनामा परीक्षण गर्दा १०९ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८ जना सङ्क्रमित कम फेला परेका थिए । 

भेरी अस्पतालको एआरटी सेन्टरबाट अहिले ५८८ जनाले नियमित सेवा लिइरहेको सो अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा ७९ जना एआरटी सेवा लिने थपिएको फोकल पर्सन साहले बताउनुभयो । 

भेरी अस्पतालमा सन् २००४ बाट एआरटी कार्यक्रम सुरु भएको एआरटी काउन्सिलर इन्द्र सैनीले बताउनुभयो । उहाँका अनुसार हालसम्म यो सेन्टरबाट एक हजार ७१२ जनाले सो सेवा लिएका छन् । भेरी अस्पतालबाट सङ्क्रमित ७ जना आमाले नेगेटिभ स्वस्थ बच्चा पनि जन्माएका छन् ।

एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक सञ्जयकुमार पौडेलले फाउन्डेसनले एचआइभी सङ्क्रमितहरूको प्रभावकारी उपचार र रोकथामका सवालमा काम गर्दै आएको बताउनुभयो । फाउन्डेसनले भेरी अस्पतालको एआरटी सेन्टरमा सन् २०१७ जुलाइदेखी काम गर्दै आएको छ । भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा सङ्केत कुमार रिसालले सो अवसरमा एचआइभीको अवस्था, यसका लक्षण चिन्ह, जोगिने उपाय र सचेतनाका सवालबारे जानकारी गराउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले एड्स अन्त्यका लागि सचेतना अझै पनि जरुरी रहेको कुरामा जोड दिनुभयो । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पछिल्लो समय एचआइभीको मुद्दा कमजोर भइरहेको बताउँदै यो विषय सरकारको प्राथमिकतामानै नपरेको गुनासो गर्नुभयो । 

उहाँले तीन तहको सरकार भएपनि सङ्घीय र प्रदेश सरकारले एचआइभीको क्षेत्रमा बजेट नै नछुट्याएको बताउनुभयो । ‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आइतबार ३७ औँ विश्व एड्स दिवस नेपालमा पनि मनाईंदैछ ।