• २७ पुस २०८१, शनिबार

निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन

blog

मकवानपुर समाचारदाता

पदमपोखरी (मकवानपुर), मङ्सिर १६ गते । हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दुई वटै मतदान स्थलमा मतदान केन्द्र निर्माण, निर्वाचन प्रक्रियाका लागि सर्वदलीय बैठक, कर्मचारी र सुरक्षाकर्मीको व्यवस्थापनलगायतका कार्य सकिएको हो । मतदानका लागि खटिएका कर्मचारी मतदान स्थलमा शनिबार नै पुगेर उम्मेदवारका प्रतिनिधिलाई परिचयपत्र वितरणलगायत मतदानका लागि तयारी पूरा गरेका छन् ।

निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार वटा मतदान केन्द्र गरी नौ वटा रहेका छन् । प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मतदान केन्द्र निर्माणलगायत निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसँगै मतपेटिका र मतपत्र पुगिसकेको बताउनुभयो । मतगणना स्थलको समेत तयारी भइरहेको छ, उहाँले भन्नुभयो, “मतदान सकिएसँगै आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने छ । सोमबार उज्यालो नहुँदै मत परिणाम सार्वजनिक गर्ने गरी कर्मचारीलगायत आवश्यक व्यवस्था गरिएको छ ।” 

विष्णुज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले मतदान केन्द्र निर्माणसँगै मतदान कार्यका लागि आवश्यक तयारी पूरा भएको र आइतबार हुने मतदानका लागि मतदाताको प्रतीक्षामा रहेको बताउनुभयो । दुई मतदान स्थलमा प्रतिमतदान केन्द्र स्थानीय स्वयंसेवक एक जना र पाँच जना कर्मचारी गरी छ जनासहित ५४ जना खटिएका छन् । 

आठ हजार ५३ मतदाता रहेको वडा नं. १२ को सिक्रेनीस्थित प्रतिभा मावि मतदान स्थलमा महिला दुई हजार ३१५, पुरुष दुई हजार ११२ र अन्य एक जना गरी चार हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा एक हजार ८५९ जना महिला, एक हजार ७६६ जना पुरुष गरी तीन हजार ६२५ जना मतदाता रहेका छन् । मतदानको दिन आइतबार यस वडामा सार्वजनिक बिदा दिइएको छ । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

सुरक्षामा कडाइ

आइतबार हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यापक रूपमा सुरक्षाकर्मी शनिबारबाटै परिचालन गरिएको छ । निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन तिनै निकायका सुरक्षाकर्मी आवश्यक सङ्ख्यामा व्यवस्थापन र परिचालन गरिएको जानकारी दिनुभयो । मतदातालाई निर्धक्कसँग मतदान गर्ने वातावरण बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ, उहाँले भन्नुभयो, “कति सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भन्दा पनि हामीले व्यापक रूपमा र पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”