• ९ पुस २०८१, मङ्गलबार

एनपिएलले जगाएको उत्साह

blog

कुनै पनि खेलाडी आफैँ उत्कृष्ट बनेर आउँदैनन्, निरन्तरको अभ्यासपछि मात्र निखारिने हुन्छन् । हरेक खेलमा खेलाडी चिनिने भनेको आफ्नो कौशलता र खेल देखाएर हो तर खेल कला र क्षमताको प्रदर्शन मात्र होइन, खेल मान्छेलाई जोडने माध्यम पनि हो । खेललाई दर्शकसँग जोड्न देशहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिता सञ्चालन गर्छन् । खेलका प्रतियोगिताहरूले सञ्चालक राष्ट्रलाई आर्थिक रूपले समेत अत्यन्तै लाभ दिने गरेको यथार्थ छ । यस परिप्रेक्ष्यमा भारतमा हुने इन्डियन प्रिमियर लिग सर्वाेकृष्ट उदाहरण हो । नेपालमा क्रिकेटसम्बन्धी गतिविधि नियमन तथा सञ्चालन गर्ने निकाय क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले नेपाल प्रिमियर लिग गराइरहेको हो । शनिबारदेखि प्रारम्भ भएको एनपिएलका आठ वटै टोलीमा रहेका खेलाडीहरूको अनुभव र विगतका प्रदर्शनका आधारमा स्ट्रेन्थ, कमजोरी, अवसर र रणनीतिहरू यहाँ विश्लेषण गरिएको छ : 

काठमाडौँ गुर्खाज

नेपालका स्टार अल राउन्डर करन केसीको अगुवाइमा रहेको काठमाडौँ गुर्खाजको सबभन्दा ठुलो बल भनेको अनुभवी र नयाँ युवा खेलाडीहरूको समिश्रण हो । शाहाब आलमको नेतृत्वको स्पिन बलिङ क्षेत्र बलियो देखिन्छ । यस टिममा नेदरल्यान्डका माइकल लेभिट, नेपालका भीम सार्की र नामिबियाका कप्तान गेरहार्ड एरासमस छन् । यीबाहेक चिनिएका बैट्सम्यान नहुँदा ब्याटिङ अलि कमजोर देखिन्छ । यस टोलीको रणनीतिमा बलिङ गर्दा एटैकिङ अप्रोच अपनाई गर्ने र ब्याटिङमा विकेट जोगाएर खेल्ने हुन सक्छ ।

विराटनगर किङ्ग्स

धेरै जसो टी २० लिगसमेत खेलिसेकका नेपालका सबभन्दा चर्चित खेलाडी सन्दीप लामिछानेको नेतृत्वको विराटनगर किङ्ग्सको ब्याटिङ एकाई विस्फोटक देखिन्छ । यसमा न्युजिल्यान्डका लिजेन्ड तथा एक दिवसीय खेलको विश्वकपमा दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानमध्ये एक मार्टिन गुपटिल, अमेरिकाका अकिब इलियस, नेपालका लोकेश बमलगायत क्यानडाका निकोलोस किरटॉन सामेल छन् । यस टिमको बलिङमा सन्दीप लामिछाने, प्रतिश जिसी र क्रिस सोल छन् । यस टिमको रणनीति आक्रामक ब्याटिङ गरेर रन बनाउने हुन सक्छ ।

चितवन राइनोज

कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजमा अल राउन्डरहरू भारिभराउ छन् । यसमा कप्तान मल्ललगायत इङ्ग्ल्यान्डका रवि बोपरा र लुक बेनकेन स्टाइन, नामीबियाका कीर्तिमानी ३३ बलमा शतक प्रहार गरेका आक्रामक जन निकोल लोफ्टी इटन सामेल छन । शरद् भेसवाकरको मेन्टरसिप र अफगानिस्तानी हसन एसखिलको प्रतिभा बलियो पक्ष हो । यस टिमको स्पिन बलिङतर्फ कुनै स्थापित नाम नहुनुका साथै पाकिस्तानका सोहेल तनवीर अलावा फास्ट बलरसमेत देखिँदैनन् । यस टिमको रणनीति ८/९ नम्बरसम्म समेत ब्याट्सम्यान खेलाउने र डिफेन्सिभ बलिङ गर्ने हुन सक्छ ।

जनकपुर बोल्ट्स

अनिल साहलाई कप्तान घोषणा गरेको जनकपुर बोल्ट्सको टिममा आशिफ शेख, ललित राजवंशी, किवी अलराउन्डर जेम्स निसम र अमेरिकी तेज बलर जोसुआ ट्रम्प जस्ता भरपर्दाे खेलाडीहरू छन् । यस अतिरिक्त हेमन्त धामी, किशोर महतो र अरनिको यादव जस्ता घरायसी प्रतियोगिताहरूमा नाम कमाएका खेलाडीहरू छन । यस टिमले परम्परागत खेल अनुसार सुरुमा विकेट जोगाएर खेल्ने र अन्त्यमा प्रहार गर्ने रणनीति हुन सक्छ ।

कर्णाली याक्स

नेपालको सबभन्दा अनुभवी फास्ट बलर सोमपाल कामीको नेतृत्वको कर्णाली याक्सले लिगको सबैभन्दा ठुलो खेलाडी ‘म्यान अफ आइसिसी’ र ‘गब्बर’ भनेर चिनिने भारतका दिग्गज खेलाडी शिखर धवनलाई भित्र्याएको छ । उनका अतिरिक्त वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका हुसैन तलात, हङकङका बाबर हयात, ओमानका जिसान मकसुद गरी प्रभावशाली विदेशी खेलाडीहरूलाई टिममा सामेल गरिएको छ । नेपालका भविष्य भनिएका गुलसन झा र देव खनाल पनि यही टिममा छन् । याक्सको रणनीति आक्रामक ब्याटिङ गरी पहिलो इनिङमै विपक्षीलाई खेलबाट बाहिर गर्ने हुन सक्छ ।

लुम्बिनी लायन्स

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको लुम्बिनी लायन्समा अत्यन्तै शक्तिशाली ब्याटिङ छ । यसमा कप्तान पौडेललगायत भारतका लागि यु १९ विश्वकपसमेत जिताएका कप्तान अमेरिकी उन्मुक्त चन्द, अस्ट्रेलियाका अल राउन्डर बेन कटिङ, इङ्ग्ल्यान्डका टाम मुरेस, अर्जुन साउद, विवेक यादव र सन्दीप जोरा जस्ता स्थापित नामहरू छन् । यस टिमको रणनीति आक्रामक ब्याटिङ गर्ने हुन सक्छ ।

पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय टोलीका स्टाइलिस ब्याट्सम्यान तथा लेग स्पिनर कुशल भुर्तेलको अगुवाइमा रहेको पोखरा एभेन्जर्समा भरपर्दो एवं आफूलाई प्रमाणित गरिसकेका अमेरिकी खेलाडी अङ्डरिस गोउस, स्कटल्यान्डका माइकल लेयस्क, नेदरल्यान्डका बस दे लिडे, वेस्ट इन्डिजका रेमोन रैफर जस्ता खेलाडीहरू छन् । 

यस टोलीमा वल्र्ड क्लास अल राउन्डरहरू हुनुका साथै घरायसी प्रतियोगितामा राम्रो गरेका आकाश चन्द र विपिन खत्री जस्ता युवा खेलाडी छन् । यस टिमको खेलाडीका पछिल्ला केही खेल हेर्दा लयमा नरहेकोले थप चुनौती छ । यस टिमले स्थिर खेलेर आक्रमण गर्ने रणनीति अपनाउन सक्छ ।

सुदूरपश्चिम रोयल्स

नेपालका स्टार अल राउन्डर टाइगर दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सको बलिङ क्षेत्र दुरुस्त देखिन्छ । यसमा नेपालका डेथ ओवर स्पेसलिस्ट अविनाश बोहरा, किवी बोलर स्कट कुगेलाइन, कप्तान ऐरी, इङ्ग्ल्यान्डका सैफ जाइब, स्कटल्यान्डका ब्रान्डन मक्मुलेन, अमेरिकाका रोहण मुस्तफा र नेपालका आरिफ शेख सामेल छन् । यस टिमको ब्याटिङतर्फ खासगरी टॉप ऑर्डरमा समस्या हुन सक्ने देखिन्छ । ब्याटिङमा सुझबुझले विकेट बचाई उत्कृष्ट बलिङमार्फत कम रनमा विपक्षीलाई रोक्ने रणनीति यस टोलीले अपनाउन सक्ने देखिन्छ ।

समग्रमा हेर्दा प्रत्येक टोलीको आफ्नै सबल र दुर्बल पक्ष छन्, जसको आधारमा टोलीहरूले रणनीतिहरू अपनाउन सक्छन् । सबै टोलीसँग एपिएलको उपाधि जित्ने सपना छ । सबै टोलीले लामो समयदेखि मेहनत र परिश्रम गरिरहेका छन् । यो लिग नेपाली क्रिकेटका लागि अविस्मरणीय छ । यसले देशमा खेललाई थप उत्साही र मनोरञ्जन गराउने छ ।

Author

रोहण यादव