• ९ पुस २०८१, मङ्गलबार

सत्य निरूपण र कानुन आयोगमा फेरिए सचिव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते ।  न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ । आयोगको शुक्रबारको बैठकले सचिव सरुवा गरेको हो । नेपाल कानुन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा सचिव हेरफेर भएको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । 

सत्य निरूपणमा कार्यरत आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ । कानुन आयोगमा कार्यरत पाराश्वर ढुङ्गानालाई सत्य निरूपणको सचिवमा पठाइएको छ । यस्तै आयोगले न्याय सेवाका सात सहसचिवको काज सदरसहित सरुवा गरेको छ ।

यस्तै ४३ उपसचिव (उपरजिस्टार) को पनि काज अनुसारकै सरुवा भएको छ । उच्च र जिल्ला अदालतमा काजमा रहेका उनीहरूको यथास्थानमै सरुवा भएको हो । यस्तै कानुन समूहका ३४ उपसचिवको पनि सरुवा भएको छ । 

आयोगले न्याय समूहका शाखा अधिकृतको पनि सरुवा गरेको छ । २१४ शाखा अधिकृतको आयोगले एकै पटक सरुवा गरेको हो । सर्वोच्च, उच्च र जिल्ला अदालतका विभिन्न स्थानमा उनीहरूको सरुवा भएको छ । आयोगले कानुन समूहका छ अधिकृतको पनि सरुवा गरेको छ । 

यस्तै आयोगले न्याय, कानुन र सरकारी वकिल समूहमा शाखा अधिकृतको नियुक्ति र पदस्थापन सिफारिस गरेको छ । न्याय समूहका ५०, कानुन समूहका सात र सरकारी वकिल समूहका ११ शाखा अधिकृतको ज्येष्ठता कायम, नियुक्ति र पदस्थापना भएको हो । आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवको ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवासमेत सिफारिस गरेको छ ।