अमरराज नहर्की
तनहुँ, मङ्सिर १५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश आर्थिक सुधारको मार्गमा हिँड्न सफल भएको बताउनुभएको छ । हालको सरकार स्थायी भएकाले लगानी मैत्री वातावरण बनिरहेकोले समृद्धिको पथमा हिँडेको उहाँको भनाइ थियो ।
तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर आयोजनाको भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सरकाले लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको भूमिकालाई सबल बनाउन लागि परेको बताउनुभयो ।
सिंहले भन्नुभयो, ‘‘सरकार छिनछिनमा परिवर्तन नहुने अवस्था भएकाले लगानी मैत्री वातावरण बनेकोले देश समृद्धिको पथमा लागेको छ ।’’ देशको विकासका लागि स्थिर सरकार आवश्यक रहेको उहाँको भनाइ थियो ।
संविधानको भावना अनुसार काम गर्न, प्राप्त गरेका अधिकारलाई सुनिश्चित गरेर आर्थिक सुधारको कार्यक्रम निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रूपमा विकास गरी मनोबल बढाउन सरकार सफल भएको दाबी उहाँको थियो ।
रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकासस्थिर सरकार विना असम्भव भएको बताउनुभयो । आर्थिक सुधार, राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनका लागि ठुलो दल नेपाली कांग्रेस र एमाले मिल्नु परेको उहाँको भनाइ छ । देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको त्यसकालाई नयाँ गठबन्धन गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री सिंहले भानुभक्तको जन्म भूमिको छुट्टै महत्त्व र विशेषता रहेको चर्चा गर्दै यस भूमिलाई नमुना नगरको रूपमा विकास गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘‘बोलेर भएन काम गरेर देखाउनु पर्ने बेला आएको छ भानुको योगदान विश्व माझ फैलाउनु जरुरी छ ।’’
मन्त्री सिंहले भानुमा रहेको नयाँ सहर आयोजनका लागि मन्त्रालयको तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले ठुलो पार्टीले सरकार चलाउनु भनेको जनताको मतको सम्मान हुनु भएकाले यस गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
मन्त्री सिंहले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४, चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थलमा रहेको आदिकवि भानुको प्रतिमामा माल्यार्पण गर्नुका साथै भानु जन्मस्थल मोटर मार्ग, भानु नगरपालिका–१ भन्सारमा रहेको भानु क्षेत्रीय रङ्गशालाको निरीक्षण गर्नुभएको थियो ।