अविनाश चौधरी
धनगढी, मङ्सिर १५ गते । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले निकुञ्जलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनतालाई समृद्धितर्फ लैजान सरकारले वनलाई पर्यटनसँग जोड्न खोजिरहेको बताउनुभएको हो ।
उहाँले कतिपय धार्मिक क्षेत्रहरु वन क्षेत्रमै रहेकाले सरकारको ध्यान धार्मिक पर्यटनतर्फ पनि गएको उल्लेख गर्नुभयो । सुदूरपश्चिममा रहेको बडिमालिका लगायत त्यस्तै, सम्भावित अन्य क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन प्रारम्भिक प्रक्रिया सरकारले अगाडि बढाइसकेको मन्त्रीको भनाइ छ ।
उहाँले बडिमालिकालाई संरक्षित क्षेत्र बनाएर धेरै धार्मिक पर्यटक भित्र्याउन सकिने उल्लेख गर्नुभयो । पछिल्लो समय मुलुकमा मानव–वन्यजन्तुबिच द्वन्द्व बढ्दै उल्लेख गर्दै उहाँले मानव–वन्यजन्तुबिच द्वन्द्वको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
वन्यजन्तुबाट ज्यान गुमाएका र पीडितले मापदण्डअनुसार क्षतिपूर्ति पाउने व्यवस्था रहेको भन्दै उहाँले भन्नुभयो, “कञ्चनपुरका वन्यजन्तु पीडितले पनि नियमानुसार क्षतिपूर्ति पाउने छन् ।” कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी बनाउने विषय राजनीतिक सहमतिको आधारमा टुङ्गिनेमन्त्री ठकुरीको भनाइ थियो ।
“त्यहाँ वन रहेको गुनासो आएकाले अझै प्रक्रियामै छ” उहाँले भन्नुभयो, “यस विषयमा मैले अहिले नै केही भन्न सक्दैन ।” तत्कालीन प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाई बहुमतबाट कैलालीको गोदावरी नगरपालिका –२ र ४ मा प्रदेशको स्थायी राजधानी तोकेको थियो । राजधानी तोकेको छ वर्ष बिते पनि प्रदेश सरकारले संघीय सरकारबाट अझै जग्गा प्राप्त गर्न सकेको छैन ।
यसैगरी, पत्रकारको एक जिज्ञासाको जवाफमा उहाँले नेपालको काठ उपयोग र व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि कार्ययोजना बनाइसकेको जानकारी दिनुभयो । बाह्य मुलुकबाट नेपालमा काठ भित्र्याउने कार्यलाई पूर्ण रुपमा रोक्न नसके पनि न्यूनीकरणका लागि सरकार अगाडि बढिररहेको उहाँले उल्लेख गर्नुभयो ।