• ७ पुस २०८१, आइतबार

आमा (कथा)

blog

असरल्ल छरिएको छ, हिउँदको एक उदास मध्याह्न । घाम आकाशमा देखिएकै छ । पहिले पहिले जस्तै । घाम धेरै वर्ष हराएर फर्किएको कुनै अपरिचित वा अनौठो वस्तु झैँ देखिन्थ्यो । न रस छ, न त कुनै रङ । न त कुनै स्पष्ट पहिचान । रस, रङविहीन देखिए पनि घाम भने मधुरो ताप छर्दै आकाशको मध्यविन्दुमा डुलिरहेथ्यो, कुनै यायावर डुले झैँ । मस्त तरिकाले । 

“मलाई कुकुर त्यति मन नै पर्दैन ।” अनुहारको भावभङ्गी सम्पूर्णतः बदल्दै कल्पनाले भनिन्, “कुकुर देख्दा एलर्जी पो हुन्छ त हो मलाई !” उनको मुखबाट अचानकै प्रस्फुटन भएथ्यो, यिनै शब्द । उनको शब्द–माध्यमद्वारा कुकुरप्रति तीव्र घृणाभाव उद्घाटन भएथ्यो । जानेर हो वा अञ्जानवश ! थाहा भएन । 

“मलाई पनि कुकुर त्यति धेरै मन पर्दैन ।” तत्क्षण सुनियो अर्को आवाज । अलि सामान्य तरिकाले । 

यति बेला कल्पना र सिर्जनाबिच चलिरहेछ, कुकुर–संवाद । दुई शक्तिशाली राष्ट्रका प्रमुखहरूबिच चलेका संवाद झैँ । अर्थात्, त्योभन्दा केही सामान्य । जे होस्, उनीहरूबिच कुकुर–संवादले गतिलै स्थान पाइरहेको छ । 

“हेर्नुस् न, अस्ति राति अचानक एउटा बच्चा कुकुर मेरो घरभित्र छि¥यो ।” ताजा सुन्तलाको बोक्रा छोडाउँदै अलि भावुक मुद्रामा देखिएकी सिर्जनाले भनिन्, “घरमै आश्रय लिन आएपछि माया पो लाग्यो मलाई त ! के गर्ने ! घरमै आएपछि...।” 

“घरमा कुकुर आएको राम्रो भन्छन् भन्नलाई त...।” कल्पनाले भनिन्, “जतिसुकै राम्रो भए पनि किन हो, किन मलाई कुकुर पाल्ने सोख कहिल्यै पलाएन । 

अहँ, कहिल्यै....।” 

आजको मध्याह्न कौसीमा जमेर बसेका छन्, दुवै । दुवै व्यस्त छन्, सुन्तला र बदामको स्वाद लिन । दुवै अर्थात् छिमेकी । केही क्षणअघि उनीहरूबिच चम्किएको कुकुर–संवाद अझै मलिन भइसकेको छैन । उनीहरूका संवादको केन्द्रविन्दुमा शतप्रतिशत कुकुर नै उभिएको थियो । उनीहरूबिच कुकुर–संवादले प्रश्रय पाएको यो नै पहिलो पटक हुनु पर्छ सायद ! नभए अरू नै...। विषयवस्तुको कुनै कमी थिएन । रत्तिभर । यो ठाउँमा मानिसको कमी होला तर विषयवस्तुको के कमी हुन्थ्यो र ! 

“मैले यस्ता यस्ता मान्छेहरू पनि देखेकी छु, जो कुकुर पाल्न औधि रुचाउँछन् । साँच्चै, कसै कसैलाई त कुकुर पाल्न औधि नै सोख हुँदो रहेछ ।” सिर्जनाले भनिन् । 

“हो नि ! त्यहीँ पल्लो घरका जोशी दाइलाई नै हेर्नुस् न, उहाँले दुई दुई वटा कुकुर कति गजबले पाल्नुभएको छ । दुवै कुकुर अति नै जब्बर छन् । लोभलाग्दा पनि ।” कल्पनाले भनिन् । जोशी दाइको घरमा एउटा कुकुर चाहिँ दगुरिरहेको थियो, यताउता । बगैँचावरपर । 

सिर्जनाले थपिन्, “ती त विदेशी जातका कुकुरहरू हुन् । महँगा पनि पर्छन् रे नि त ! त्यस्ता कुकुर पाल्ने हैसियत हामीसँग कहाँबाट हुनु !” आफ्नो स्वभाव अनुसार उनले घाँटी तन्काइन् ।  

“विदेशी कुकुरहरू अरू सामान्य कुकुरभन्दा इमानदार पनि हुन्छन् रे नि त !” आफूलाई कुकुर–शास्त्रको महान् अध्येता जस्तै ठान्दै कल्पनाले भनिन्, “न त्यति भुक्छन्, न त मान्छेहरूलाई टोक्छन् नै । रैथाने जातका कुकुरहरू मात्रै छुच्चा र टोक्ने खालका । झन् भुस्याहा त खत्तमै ।” 

“कुकुरले पनि मान्छे हेरी टोक्छ भन्छन् ।” सिर्जनाले हाँस्दै भनिन् । उनी कहिलेकाहीँ हास्यचेतलाई 

पनि पछ्याउँछिन् । 

कुकुर–संवाद स्थगित भयो एकाएक । दुवै जना घामको न्यानोपनमा हराउँदै सुन्तला र बदामको स्वादमा भुलिन थाले । प्रगाढ रूपमा ब्युँझिसकेको थियो साँझ । साँझको आगमनसँगै सिर्जनाको घरभित्र एउटा बच्चो कुकुरको प्रवेश भयो । बिनाअनुमति । थिएन गेट पनि खुला । थाहा भएन, कुन मार्ग पत्ता लगाएर त्यो कुकुर घरभित्र प्रवेश गर्न सफल भयो । निख्खुर श्यामवर्णीय त्यो कुकुर निकै जब्बर पनि देखिन्थ्यो । 

“जा, बाहिर । कहाँ घरभित्रै छिरेको ?” सिर्जनाले त्यो कुकुरलाई घरबाहिर निकाल्न खोजिन् । के मान्थ्यो र कुकुरले ? बरु करुणादायी बाल–आवाज निकाल्दै सिर्जनाको खुट्टावरिपरि लुटपुटिन थाल्यो । सम्भवतः भोकाएको पनि हुनु पर्छ ! नभए त्यसरी खुट्टामा कसरी लुटपुटिन पुग्थ्यो र ? सिर्जनाले त्यस कुकुरको अनुहारमा आफ्ना दयालु आँखा बिछ्याइन् । उनीभित्र कता कता माया र दयाभावका अजस्र मुहान रसाए । 

“अलिकति दुधभात देऊ न त्यल्लाई । भोकाए जस्तो छ, बिचरा !” सिर्जनाकी पतिले मायालु–भाव देखाउँदै भने । 

जाडो अनियन्त्रित रूपमा चम्किरहेको थियो । केही दिनअघि परेको थियो पानी । त्यही कारण जाडोले आफ्नो नियन्त्रण गुमाएको थियो । जाडोको कठोर प्रहार खेप्न नसकेर त्यो कुकुरको सर्वाङ्ग काँपिरहेको थियो । सिर्जनाले दयाभाव व्यक्त गर्दै भनिन्, “ओहो, यस्तो जाडो छ ! यो बच्चा कुकुर कसरी पो बाँच्ला र !”

“प्रकृतिले हरेक प्राणीलाई बाँच्नका लागि एउटा न एउटा कवच दिएको हुन्छ ।” सिर्जनाकी पतिले भने, “चाहे तातो भूभाग होस् वा निकै चिसो, जहाँ पनि जीवजन्तुहरू बाँचेकै हुन्छन् । कसरी बाँच्ने भन्ने कला संसारका हरेक प्राणीले जानेका हुन्छन् ।”

“तर यो कुकुरको बच्चा भने...?” सिर्जनाले नपाकेको ज्यामिर जस्तै आफ्नो मुहार अमिलो पार्दै भनिन् । 

“बाँच्छ, कुनै शङ्कै छैन ।” उनका पतिले दृढभाव पस्किँदै भने ।

केही हप्तासम्म त्यो कुकुर सिर्जनाको घरभित्रै सीमित रह्यो । बिस्तारै घरबाहिरको माहोलमा रमाउन थाल्यो । प्रायः सिर्जना र उनका पति घरबाहिरै हुन्छन् । छोराछोरी पनि घरबाहिरै । सायद दिउँसोपख घरमा एक्लै बस्न चाहेन त्यो कुकुर । गेट खुला हुँदा गेटबाटै र कहिले पर्खाल नाघेरै भए पनि घरबाहिर निस्किन्थ्यो । अति नै भोकाएको बेला मात्र घरमा आउँथ्यो । होइन भने बाहिरतिरै डुलफिर गरेर हिँड्थ्यो । 

त्यो कुकुरले टोलमा केही साथीसमेत बनाइसकेको थियो । समवयीदेखि वरिष्ठ उमेरका कुकुरहरूसँग । त्यो कुकुर प्रायः टोलका अरू कुकुरसँग रमाउन थाल्यो । 

सिर्जना र कल्पनाको घर थियो, वल्लो–पल्लो । सिर्जना आफैँले त्यो कुकुरलाई हुर्काएकी हुँदा कहिलेकाहीँ घरभित्र वा घरको गेटबाहिर निस्किँदा पनि खानेकुरा दिने गर्थिन् । कल्पना भने केही कठोर नै । एकदिन कल्पनाको घरको गेटबाहिर त्यो कुकुर टहलिइरहेको थियो । कल्पनाले सुईको नोकबराबर पनि दयाभाव प्रकट नगरी त्यो कुकुरलाई लखेटिन् र भनिन्, “साला ! भुस्याहा कुकुर ! यसलाई म त देख्नै सक्दिनँ ।” 

कल्पनाले त्यो कुकुरलाई निकै परसम्म लखेटिन् । कुकुरले पनि आफूलाई थोरै मात्रामा भए पनि दयाभाव देखाउने अपेक्षा बटुल्दै केही परसम्म पुग्दा पनि कल्पनालाई हेरिरहेको थियो ।  “कल्पना दिदी ! त्यो छाउरी कुकुरले त बच्चा पाउने भएछ नि !” 

“ए, हो र ?” 

“हो नि ! आज मकहाँ आ’थे । मैले अलिकति खोले पकाएर दिएँ ।” सिर्जनाले घरको कौसीबाटै भनिन् । आफ्नै घरको कौसीमा उभिइरहेकी कल्पनाले आश्चर्यभावमा यति मात्रै भनिन्, “ए, हो र !” उनका मुखबाट अरू 

शब्द चुहिएनन् । 

कहिलेकाहीँ फुर्सद भएको बेला सिर्जना र कल्पनाबिच कौसी–संवाद यति धेरै चल्छ, समय बितेको पत्तै हुँदैन । कौसी–संवादमै निमग्न । दाल डढ्यो कि भात ! अहँ, त्यसको कुनै पर्बाह हुँदैन दुवैलाई । पछिल्लो समय भने दुवै कौसी खेतीप्रति आकर्षितसमेत देखिएका छन् । कसको कौसीमा के फल्यो र कति फल्यो ? उनीहरू यस्तै संवादमा रमाउन थालेका छन् । 

“ओहो ! कति चाँडै ब्याउन लागेछ । हेर्दाखेरि त सानै पो देखिन्थी त !” कल्पनाले अचम्म मान्दै भनिन् ।

“हो नि त ! पोहोर साल यस्तै जाडो महिनामा हामीकहाँ आएकी हो । यसपालि पनि जाडो महिनामै ब्याउने भएछ ।” सिर्जनाले भनिन् । “कति वटा बच्चा जन्माउली यल्ले ?” कल्पनामा अनायासै दयाभाव अङ्कुराउन पुग्यो, “यस्तो जाडो बढेको छ । यो जाडोमा बिचरीले बच्चाहरूलाई कसरी हुर्काउलिन् ?” “आ, हुर्काइहाल्छन् नि दिदी !” सिर्जनाले आश्वस्त हुँदै भनिन्, “अरू कुकुरहरूले जसरी हुर्काउँछन्, त्यसै गरी हुर्काइहाल्छन् नि !” 

एक हप्तापछि त्यो कुकुरले बच्चा पाई । पूरै सात थान बच्चा । सबै निख्खुर काला रङका । हेर्दै खेलाऊँ खेलाऊँ जस्ता लाग्ने । अति नै मायालु पनि । 

“दिदी ! कुकुरले त सात वटा बच्चा पो जन्माई त !” सिर्जनाले उल्लसित भावमा भनिन् । 

“ए, त्यति धेरै बच्चा पो ब्याई ?” आश्चर्यचकित हुँदै कल्पनाले सोधिन्, “कहाँ छन् त आमा र बच्चा अहिले ?”

“हिजो तल्लो घरको दुर्गा दाइको घरपछाडिको छाप्रोमा गएर जन्माइछे । त्यहीँ छन् अहिले, आमा र बच्चा सबै ।” सिर्जनाले भनिन् । 

“सात सात वटा बच्चा हुर्काउन धेरै पो गाह्रो हुन्छ त, सिर्जना !” सोचमग्न हुँदै कल्पनाले भनिन्, “कसरी दुध पु¥याउन सक्छे ! निकै डाइट पो पेल्नु पर्छ त । नभए सबै बच्चा बाँच्न मुस्किल पो पर्छ होला ।” अनायासै पूर्वस्मृतिमा फर्किइन् कल्पना । आफ्नो पूर्वस्मृतिको पेटोरो खोल्दै भनिन्, “मेरी जेठी छोरी सन्ध्या जन्मिँदा मलाई कम गाह्रो 

भा’थ्यो ! एउटी बच्ची । मेरो दुध त गानिइहाल्यो । गाईभैँसीको दुध खान्देर हुर्काएँ मैले । कम्ती गाह्रो भा’थ्यो भन्या त्यति बेला ! सबैले यो बच्चीलाई यसले कसरी पो हुर्काउली भन्थे तर हुर्काएँ मैले । आफ्नो सन्तान भनेको सन्तानै रहेछ ।”

“हाम्लाई एउटै हुर्काउन त कति गाह्रो हुन्छ । झन् सात सात वटा !” सिर्जनाले ओठ टोक्दै भनिन् । 

“हो नि !” कल्पनाको सहमति रह्यो । 

“तिम्ले खोले पकाएर दियौ त ?” फेरि बोलिन् कल्पना ।  “मैले त हिजो बेलुकी र आज बिहान पनि खोले पकाएर दिएँ,” सिर्जनाले भनिन् । 

“खान त खाइरहेकी छे नि ? कुनै कुनै कुकुर त सुत्केरी हुँदा पनि खाँदैनन् भन्या,” कल्पनाले अनुहार बिगार्दै भनिन् । “अँ, गजबले खाएकी छे,” सिर्जनाले भनिन्, “हिजो त मैले पकाएर दिएको सबै खाई । कति मज्जाले खाई ।”

कल्पनामा मातृत्वभाव कति तीव्र र बेजोड गतिले पलायो भने उनले त्यो कुकुरलाई पूर्ववर्ती दिनहरूमा गरेका सबै व्यवहार बिर्सिइन् र भावुक हुँदै भनिन्, “सिर्जना, म अब खोले पकाउन जान्छु । आज म त्यसलाई खोले खुवाउँछु ।”

यति बेला कल्पना खोले पकाउन व्यस्त छिन् । कति बेला खोले पाक्ला र त्यो कुकुरलाई ख्वाऊँला भन्नेमा आतुर छिन् उनी ।   

Author

विवश वस्ती