• १९ पुस २०८१, शुक्रबार

आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

blog

काठमाडौं, मङ्सिर १४ गते । जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

जाडोमा शरीर वा कोठालाई न्यानो बनाइ राख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेकाले केन्द्रले यस्तो आग्रह गरेको हो ।

केन्द्रले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । कोयला जन्य स्रोतबाट सकेसम्म आगो नताप्न केन्द्रको अनुरोध छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्णरुपमा निभाउन अनुरोध गरेको छ ।

हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन केन्द्रकोे सुझाव छ ।

गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न केन्द्रले आग्रह गरेको छ ।