बेइजिङ, मङ्सिर १४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभयो ।
त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । मन्त्री डा. राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका काम कारबाहीका बारेमा जानकारी गराउनुभएको थियो ।
मन्त्री डा. राणाले आगामी वर्ष नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।
यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै दुवै देशका जनताबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको पनि उहाँले बताउनुभयो ।
मन्त्री डा. राणाले नेपाली चिया, कफी, औषधीजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न पनि निर्देशन दिनुभयो ।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यस अवसरमा उक्त महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत पनि सहभागी हुनुभएको थियो ।