• १२ पुस २०८१, शुक्रबार

यातायात कार्यालयमा यातायात मन्त्रीको छड्के

blog

कार्यालयको निरीक्षणको क्रममा मन्त्री प्रकाशबहादुर केसी लगायत । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ मङ्सिर १४ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय र पूर्वाधार विकास कार्यालयमा पुगी निरीक्षण गर्नु भएको छ । कार्यालयले प्रदान गर्नुपर्ने सेवा सुविधा सहजताका साथ प्रदान गर्न मन्त्री केसीले निर्देशन दिनुभयो ।

अनियमितता र भ्रष्टाचारका कामलाई रोक्नु र सरल र सहज रूपमा काम गर्न  कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री केसीले भन्नुभयो, “कार्यालयले प्रदान गर्ने सेवा सुधारका लागि मन्त्रालयले सहयोग गर्छ । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियाँसहितको टोलीले बिहीबार छड्के निरीक्षण गर्नु भएको थियो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिनु भएको थियो । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नु भएको थियो ।

ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको भए पनि दान दिने जग्गाको पनि लाभ कर दिनु पर्ने कानुनी जटिलताले  समस्या निम्तिएको जानकारी दिनु भएको थियो । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।  ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिनु भएको थियो ।

यातायात कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४।३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिनु भएको थियो  । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपियाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो  । कार्यालयमा चालु आर्थिक वर्षमा एक  सय ७९ वटा योजना परेको छ । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताउनुभयो । मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिनु भएको थियो  ।

काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दुःख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गर्नु भएको थियो । यसै गरी मन्त्री केसीले नेकपा एमाले तनहुँको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाटमा बोल्दै गौरवका योजना निर्माण र यस अघि सुरु भएको भएको निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको थियो  ।