• ७ पुस २०८१, आइतबार

स्थानीय तहको बेथिति: श्रीमतीलाई जागिर दिने हाकिमको जिम्मेवारी खोसियो

blog

जिम्मेवारी खोसिएका अबिराज शाही र उहाँलाई मन्त्रालयले दिएको पत्र । तस्बिर : प्रेमराज

कालीकोट मङ्सिर १४ गते । कालीकोटको खाँडचक्र नगरपालिकाले प्रमुखले नियम मिचेर वढुवा गरिएका एक जना कर्मचारीको जिम्मेवारी ११ दिनमा खोसिएको छ । नगर प्रमुख कमलबहादुर शाहीले नियम मिचेर जुनियर कर्मचारी सिनियर रहेको पत्र बनाएर गत कात्तिक ३० गते निमित्त  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका प्रशासन तर्फका छैटौँ तहका कर्मचारी अबिराज शाहीको जिम्मेवारी मन्त्रालयले फिर्ता लिएको छ । 

मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र लेख्दै गत महिनाको ३० गते दिएको जिम्मेवारी कार्यान्वयन नगर्न र अबिराज शाहीको नाममा खाता सञ्चालन भएको छ भने पनि खाता रोक्का गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत बोधार्थ पठाइएको छ । 

नगरप्रमुख कमलबहादुर शाहीले प्रशासन तर्फका अधिकृत छैटौँ तहका अबिराज शाहीलाई कार्यपालिकाको एकल निर्णय गरी सातौँ तहमा बढुवा भएको सिफारिस गदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएर कार्यकारी नियुक्त गर्नु भएको थियो । कार्यपालिकाको निर्णय एकल भएको र नगरप्रमुख शाहीको व्यक्तिगत मनसाय देखिएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबिराज शाहीलाई दिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । 

मन्त्रालयले मिति २०८१-०८-११ गते पत्राचार गदै गत महिनाको ३० को निर्णयअनुसार त्यहाँ नगरपालिकामा कार्यरत अधिकृत सातौँ अविराज शाही (क.सं.नं. २३५३७९) लाई प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभए सम्मको लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएकोमा उक्त जिम्मेवारी आजैका मिति देखि लागू हुने गरी रद्द गरिएको ब्यहोरा पत्रमा उल्लेख गरेको छ । 

कर्णाली प्रदेशले स्थानीय ऐन कार्यान्वयन नगरेको अवस्थामा अधिकृत स्तर सातौँ तहमा बढुवा हुनका लागि स्थानीय सेवा ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यताले निर्धारण गर्नु पर्नेमा अहिले नियमावली तयार नहुँदै अबिराज  शाहीलाई सातौँ तहमा बढुवा तथा स्तरबृद्धि गरिएको थियो । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले स्थानीय तहले बढुवा,स्तर बृद्धि नगर्नको लागि  कात्तिक ६ गते सबै स्थानीय तहमा पत्र समेत पठाएको छ । 

तर नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले प्रदेश सरकारको परिपत्रलाई कुल्चेर कार्यपालिकाको निणर्य भन्दै २०७६ साल पुस १ गते छैटौँ तहमा पोस्टिङ भएका अबिराज शाहीलाई आफूखुसी बढुवाको सिफारिस पत्र लेख्न लगाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका थिए । मन्त्रालयले पनि सोही पत्र बमोजिम अधिकृत छैटौँ अबिराज शाहीलाई अधिकृत स्तर सातौँ तह कायम गरी नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कार्तिक ३० गते दिएको थियो । 

बहालवाला निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रबलजंङ शाहीले कात्तिक ३० गते सम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत आफू भएको तर नगरपालिकामा आफू नआएको मौका छोपेर अबिराज शाहीले आफूखुसी कार्यकारीको लागि आफै सिफारिसमा हस्ताक्षर गरेर अधिकृत स्तर सातौँमा आफै बढुवाको सिफारिस गरी मनोमानी गरेकाले यस्तो हस्तक्षेप बन्द हुनु पर्ने भन्दै आउनु भएको थियो । यस्ता मनोमानी निर्णय सरकारले मान्दैन त्यसैले मन्त्रालयलाई झुक्काएर गरिएको निर्णय त्यो पनि नगरप्रमुख र जिम्मेवारीमा नभएको कर्मचारीले गरेको किर्ते कामको पर्दाफास भएको बताउनुभयो । 

छ महिना जिम्मेवारी खोसिएका शाहीलाई जिम्मेवारी दिँदा चौतर्फी विरोध 

अधिकृत छैटौँ तहका अबिराज शाही यस अघि छ महिना जिम्मेवारी विहीन भएका थिए । अख्तियार दुरुपयोग गरेको व्यक्तिलाई नगरप्रमुखले किर्ते गरेर मन्त्रालयले जिम्मेवारी दिएपछि चौतर्फी विरोध भएको छ । आफू निमित्त भएका बेला आफ्नै श्रीमतीलाई खाँडाचक्र नगरपालिकामा सामाजिक सहजकर्ता पदमा नियुक्त गरेर आफैले हाजिर गराएर छ महिना सम्म तलब भत्ता खुवाएको अभियोगमा अबिराज शाही छ महिना सम्म जिम्मेवारीबाट हटाएका थिए । 

गोरखापत्र दैनिकमा २०७९ साल पुस ५ गते श्रीमान् प्रशासक, श्रीमती करारमा नियुक्त शीर्षकमा समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै अबिराज शाहीका सबै कागजपत्र हेर्न र जिम्मेवारीबाट अलग गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार अबिराज शाही छ महिना सम्म कार्यालयमा जाने हाजिर गर्ने फर्किने मात्र काम गरेका थिए । 

स्थानीय समाजसेवी हिक्मतजंङ मल्लले श्रीमतीलाई सुब्बा बरावरको आफै नियुक्ती गरेको र छ महिना सम्म श्रीमतीको हाजिर पनि आफै लगाएर तलब भत्ता खुवाएका शाही राजनीतिक पावरका कारणले उन्मुक्त पाएका व्यक्ति भएको बताउनुभयो । सधैँ पावरमा रहेर काम गदै आएका शाहीले यसपालि पनि २०७२ सालमा छैटौँ अधिकृत बढुवा भएका प्रवलजंग शाहीलाई हटाएर आफू नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको पत्र ल्याएकाले हामी नागरिकलाई आपत्तिको विषय भएको मल्लको भनाई छ । 

अझै पनि हिजो राती नगर प्रमुख र उहाँ मन्त्रालय तर्फ जानु भएको छ । फेरी पनि मन्त्रालयले गल्ती गरेर यिनै अख्तियारको दुरुपयोग गर्ने व्यक्तिलाई जिम्मेवारी दिएमा नगरपालिकामा तालाबन्दी गर्ने समाजसेवी मल्लले चेतावनी दिनुभयो । अनुसार खाँडाचक्र नगरपालिकामा प्रशासकीय अधिकृत नियुक्ति अवैधानिक ठहर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक काम नगर्नका साथै प्रशासकीय अधिकृतबाट बर्खास्त गरेको मल्लको भनाई छ ।  

नगर प्रमुख कमलबहादुर शाहीले भने युवालाई जिम्मेवारी दिँदा राम्रो हुने भएर दिएको प्रतिक्रिया दिनुभयो । 

Author

प्रेमराज सिम्खडा