गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले तीनसय शैय्या बढी क्षमताका मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँचसय शैय्या क्षमता छ । मन्त्रालयसँग चारसय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन मात्र छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चारसय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् । बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीनसय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शैय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।