• १३ मंसिर २०८१, बिहिबार

शुद्धोधन १ उपनिर्वाचन : दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

blog

कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), मङ्सिर १३ गते । 
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । यही मङ्सिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा ३ स्थानमा ६ वटा मतदान केन्द्रमा ३० कर्मचारी परिचालन गरिने सहायक निर्वाचन अधिकृत अमरबहादुर ओलीले बताउनुभयो ।

प्रत्येक निर्वाचन केन्द्रमा पाँच जना कर्मचारी र एक जना स्वयंसेवक खटिने उहाँको भनाइ छ । उहाँका अनुसार मतदान अधिकृत ६ जना, मतदान केन्द्र अधिकृत ६ जना, सहायक मतदान अधिकृत १२ र कार्यालय सहयोगी ६ जना खटिने छन् ।

सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक तालिम समेत दिइएको छ । सहायक प्रजिअ परमानन्द घिमिरे र जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले तालिमको सहजीकरण गर्नुभएको थियो । कर्मचारीहरू आजैसम्म मतदान केन्द्र पुगी सक्ने जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । उहाँले मतदान केन्द्रको पहिलो घेरामा नेपाली सेना, दोस्रो र तेस्रो घेरामा नेपाल र सशस्त्र प्रहरीको टोली परिचालन हुने बताउनुभयो ।

नेपाल प्रहरीका एक सय ६४, सशस्त्र प्रहरी २९ जना, नेपाली सेना आवश्यकता  अनुसार र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू समेत परिचालन हुनेछ । निर्वाचनमा मोबाइल टोली समेत खटिने छ । निर्वाचनको दिन मङ्सिर १६ गते वडामा मतदान केन्द्रमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार र अनुमति लिएका सवारी साधन बाहेक अरुलाई प्रवेश निषेध गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

निर्वाचनमा १० दल र चार स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । मङ्सिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव, नेकपा (एमाले)को मोहम्मद ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ । यस पटकको निर्वाचनमा रास्वपाका अवधेश कुमार चौधरी समेत उम्मेदवार बन्नुभएको छ ।

उक्त वडामा कुल चार हजार ८६८ मतदाता छन् । कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदका लागि निर्वाचन हुन लागेको छ । गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एक हजार ३२, एमालेका अब्दुल मोजिब खाले आठ सय ८९ र जनमतका सिताराम पटेल कुर्मीले पाँच सय ४७ मत ल्याएका थिए ।