• २४ पुस २०८१, बुधबार

वन अतिक्रमण हटाइयो

blog

वन अतिक्रमण खाली गर्दै वनकर्मी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर १२ गते । 
डिभिजन वन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–६, मा वनको अतिक्रमित जग्गा खाली गराएको छ ।

सवडिभिजन वन कार्यालय लालबन्दीदेखि उत्तरपट्टीमा लामो समय भइरहेको वन अतिक्रमण हटाइएको हो । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले झन्डै तीन बिघाको वन अतिक्रमण खाली गराइएको जानकारी दिनुभयो ।

केही स्थानीयले राष्ट्रिय वनको जग्गा अतिक्रमण गरेर अदुवा, बेसार, आँप, लिची, केरा, कटहर, साग, आलुलगायतका बोटबिरुवा एवम् बालीनाली लगाएका थिए । वनको जग्गामा बनाइएको एक दर्जनभन्दा बढी सुँगुरको खोर समेत भत्काइएको डिभिजन वन प्रमुख झाले बताउनुभयो ।

वन कार्यालयले इलाका प्रहरी कार्यालय लालबन्दीको समेत साथ लिएर वनको अतिक्रमित जग्गा खाली गराएको हो । वर्षौँदेखि आफूहरूले उपभोग गरिरहेको जग्गामा लगाइएको बोटबिरुवा, बालीनाली र सुँगुरको खोर वनकर्मीको टोली आएर हटाएपछि स्थानीयले सामान्य अवरोध गरेका छन् ।

अतिक्रमण हटाइएको वनको जग्गामा तत्काल पुरानो तरबार मर्मत गर्ने, तरबार नभएको ठाउँमा तरबार लगाउने र आगामी वर्षायाममा बिरुवा रोपिने डिभिजन वन प्रमुख झाले बताउनुभएको छ । सर्लाहीका अन्य स्थानमा पनि यसैगरी अतिक्रमित जग्गा खाली गराउने काम जारी रहने डिभिजन वन कार्यालयले जनाएको छ ।