• २३ पुस २०८१, मङ्गलबार

घुमुवा प्रहरी दरबन्दीमै फिर्ता, सशस्त्र प्रहरीमा समस्या यथावत्

blog

इटहरी, मङ्सिर १२ गते । विगत एक दशकभन्दा बढी समयदेखि दरबन्दी भएको अड्डामा नगई पूर्वी नेपालको नाकामा सादा पोसाकमा घुमुवाका रूपमा परिचालित प्रहरी हवलदारलाई प्रहरी प्रधान कार्यालयले दरबन्दी भएको अड्डामा फिर्ता गरेको छ । 

इप्रका काँकडभिट्टा अन्तर्गत विगत एक दशकभन्दा बढी अवधिदेखि परिचालित प्रहरी हवलदार विनोदकुमार मण्डललाई उहाँको दरबन्दी रहेको नेपाल प्रहरी पहरा गण, गुल्म नम्बर २ सामाखुसीमा फिर्ता गरेको हो ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने क्रम पूर्वी नेपालमा बढिरहेको विषयको समाचार गत कात्तिक ३० गते गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भएको थियो । सोही समाचारमा अन्यत्र दरबन्दी भएका प्रहरी हवलदार मण्डललगायत केही व्यक्ति जिल्ला प्रहरी कार्यालय झापा र मातहतका निकायमार्फत विगत लामो समयदेखि काजमा पूर्वी नाकामा परिचालित हुँदै आएको विवरण सार्वजनिक भएको थियो ।

समाचार प्रकाशित भएपछि नेपाल प्रहरी पहरा गण, गुल्म नम्बर २ सामाखुसीमा दरबन्दी भएर काज आदेशबिना नै काँकडभिट्टामा लामो समयदेखि घुमुवाका रूपमा काम गर्दै आएका प्रहरी हवलदार मण्डललाई हेड क्वाटरको परिपत्रका आधारमा फिर्ता गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।   

विशेष गरी पूर्वी नेपालमा भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भइरहेको तस्करीका घटनामा संलग्न सङ्गठित तस्कर तथा व्यवसायीको समन्वय र संरक्षण गर्दै उनीहरूबाट अवैध रकम असुल गर्ने उद्देश्यले घुमुवा प्रहरी परिचालन भइरहेका छन् । 

गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको हेड क्वाटरले सादा पोसाकमा घुमुवाका रूपमा सुरक्षाकर्मी परिचालनलाई बन्देज गरे पनि कोशी प्रदेशका विभिन्न जिल्लामा अझै पनि घुमुवा प्रहरी परिचालन भने पूर्ण रूपमा रोकिएको छैन । विशेष गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका साथै भारतीय सीमावर्ती नाका जोडिएका इलाम, झापा, मोरङ र सुनसरीस्थित जिप्रका र अन्य मातहतका निकायले प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको कमान्डमा घुमुवाको टोली परिचालन गरिरहेको छ । कतिपय व्यावसायिक काम, फरार अपराधी पक्राउ गर्ने र आपराधिक विषयबारे सूचना सङ्कलन गर्नका लागि केही व्यक्ति सादा पोसाकमा परिचालन भएको दाबी उच्च प्रहरी अधिकृतको रहेको छ । 

सशस्त्र प्रहरी बल घुमुवामार्फत सेटिङमा केन्द्रित रहेको आरोप

भारतसँग सिमाना जोडिएका इलाम, झापा, मोरङ र सुनसरीमा सशस्त्र प्रहरी बलले घुमुवासमेत परिचालन गरी अवैध तस्करीका गतिविधिमा सेटिङमार्फत असुलीलाई प्राथमिकता दिँदै आएको आरोप छ । 

कोशी प्रदेशमा रहेको नम्बर १ वराह वाहिनी मुख्यालय र नम्बर १ गण इलाम, नम्बर २ गण झापा, नम्बर ३ गण मोरङ र नम्बर ४ गण सुनसरी र मातहतमा रहेको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट [बिओपी] मार्फत घुमुवा परिचालन भइरहेको बताइएको छ । 

सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मले गुल्मका कोर्ट मास्टरसमेत रहेका हवलदार शम्भु खत्रीलगायतका सुरक्षाकर्मीलाई घुमुवाका रूपमा परिचालन गरेको छ । यसअघि सशस्त्र प्रहरी बलको गुल्म मातहत सादा पोसाकमा परिचालित सशस्त्र प्रहरी हवलदार हरि राईलगायतका छ जना घुमुवालाई कारबाही गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौँ झिकाएको थियो तर अहिले घुमुवाका रूपमा लामो समयदेखि परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई कुनै तहले केही कारबाही गरेको छैन । 

सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक तथा चोरी, तस्करीका घटना नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने जिम्मेवारीका लागि भारतीय सीमावर्ती तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट [बिओपी] र गुल्मको गतिविधि पछिल्लो समयमा अपेक्षाकृत रूपमा प्रभावकारी नभएको नागरिक अगुवाको भनाइ छ ।

विशेष गरी सशस्त्र प्रहरी बलको स्थानीय स्तरको युनिट नै सेटिङ र समन्वयमा लागेका कारण सीमा क्षेत्रबाट अवैध चोरी तस्करी दिनप्रतिदिन बढिरहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

यस सम्बन्धमा सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँका सहायक प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बलमा इन्टेलिजेन्स ब्युरोबाहेक सादा पोसाकमा घुमुवा परिचालन गर्ने सङ्गठनको नीति नरहेको बताउँदै कहीँ कतै त्यस्तो भएको सप्रमाण फेला परेमा कारबाही गरिने बताउनुभयो । 

उहाँले कोशी प्रदेशमा सशस्त्र प्रहरी बलको वाहिनी, गण, गुल्म र बिओपीलगायतका युनिट र सीमा क्षेत्रमा भइरहेको कमीकमजोरीलगायतका विषयमा मुख्यालयको चासो रहेको र यस सम्बन्धमा केन्द्रीय तहबाट समेत गोप्य रूपमा अनुगमन, निरीक्षण र आवश्यक छानबिन गर्ने कार्य भइरहेको पनि जानकारी दिनुभयो । 

Author

सचिन पोख्रेल