• २६ पुस २०८१, शुक्रबार

मधेसमा लैङ्गिक हिंसाविरुद्धको अभियान

blog

प्रभातफेरीमा सहभागिहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर १० गते । मधेश प्रदेशमा सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको छ ।मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले आज विहान लैङ्गिक हिंसाविरुद्धको विभिन्न खालका चेतनामुलक सन्देश लेखिएको प्लेकार्डसहित जनकचौकवाट प्रभातफेरी निकालेको थियो ।

कार्यक्रममा सहभागि भइ मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले १६ दिने अभियानको शुभारम्भ गर्नुभयो । मन्त्री जयसवालले नेपालमा विगतको इतिहासमा महिलासँग अमानवीय व्यवहार गरिए पनि अहिलेको वदलिदो परिवेशमा महिलामाथि हिंसा र भेदभाव नगर्ने मान्यता स्थापित भएको बताउनुभयो । 

उहाँले वर्तमान संविधान र कानूनहरुमा महिलाको सहभागिताको कुरा सुनिश्चित गरेको भन्दै महिलाको सहयोगविना कुनै पनि काम गर्न सहज नहुने बताउनुभयो । महिलाहरुमाथि हुने भेदभाव हुन नदिनका लागि मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री जयसवालले प्रतिवद्धता जनाउनुभयो ।

मधेश प्रदेशमा महिला हिंसाको अवस्था भयावह रहेको भन्दै यस १६ दिनको अवधीमा मधेश प्रदेशको आठवटै जिल्लाको सदरमुकामदेखि ग्रामीण भेगमा विभिन्न संघ संस्थाको अगुवाइमा सयौंको संख्यामा विभिन्नखालका कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो । 

कार्यक्रममा महिला अधिकारकर्मी एवम अधिवक्ता रेखा झाले अझै पनि महिलाहरु श्रम शोषणको सिकार हुने गरेको भन्दै कुनै पनि हिंसाविरुद्धमा आवाज बुलन्द गर्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकुमारी खत्रीले लैङ्गिक हिंसा हुन नदिन अभियान तहमा विभिन्न खालका जनचेतनामुलक संदेश प्रभावह गरिने बताउनुभयो । उहाँले सन् १९९१ वाट शुरु भएको यो दिवसलाई १९९९ मा संयुक्त राष्ट्रसंघले मान्यता दिएपछि विश्वभरी यो दिवस आजकै दिनदेखि मनाउने गरिएको बताउनुभयो । 

खेलकुद तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेशका सचिव चुडामणि फुयालको अध्यक्षतामा भएको सो प्रभातफेरीमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।