• २१ पुस २०८१, आइतबार

प्रजातान्त्रिक योद्धालाई उच्च सम्मान : कांग्रेस सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा मञ्चमा आशिन कांग्रेसमा नेता । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर १० गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्रको स्थापनाका लागि योगदान दिने सबैलाई सदैव उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ स्थित लोहनामा सोमबार आयोजित प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति देउवाले ठाकुरले लोकतन्त्रका लागि गरेको योगदानको प्रतिफल देशमा लोकतन्त्र आएकोले उच्च सम्मान दिनुपर्ने बताउनुभयो ।

उहाँले ठाकुरको प्रजातन्त्रप्रतिको योगदानलाई सम्झँदै भन्नुभयो, “प्रजातन्त्रको स्थापनाका लागि उहाँले देखाएको साहस र त्यागले देशलाई नयाँ दिशा दिएको छ ।”

कार्यक्रममा उहाँले चीनको पोलिसी बीआरआई परियोजना सम्बन्धमा कांग्रेसको सुरुदेखिको एउटै धारण रहेको बताउनुभयो । जसमा बीआरआई परियोजनामा अनुदान स्वीकार्य हुन्छ तर, ऋण स्वीकार्य नहुने बताउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका केन्द्रीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिमलेन्द्र निधिले अरविन्द ठाकुर जस्ता योद्धाका कारण देशमा लोकतन्त्र आएको बताउनुभयो ।

यसैगरी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशमा कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । कांग्रेसले नेतृत्व गरे मात्र मधेशको विकास सम्भव हुने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य रामसरोज यादवले आफ्नो कार्यकालमा अरविन्द ठाकुरको सालिक निर्माण गर्न पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको योगदानलाई सदैव सम्झाउने यो सालिक पनि हो,’’ भन्नुभयो ।

कार्यक्रममा वक्ताहरूले ठाकुरको सङ्घर्षमय जीवन र उहाँले प्रजातन्त्रका लागि खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । प्रजातन्त्रका अथक योद्धा ठाकुरले देश र जनताका अधिकारका लागि १६ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँको २०७० साल मङ्सिर १० गते सोमबारका दिन निधन भएको थियो ।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य कृष्ण यादव, मुक्ता यादव, कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, कांग्रेसका प्रदेश सभा सदस्यहरू तथा कांग्रेसका स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।